अमेरिकामा परिजिता बास्तोलाले मच्चाइन् तहल्का
अमेरिकामा रियालिटी सो ‘द भोइस’ का निर्णायकहरू नेपाली मूलकी किशोरी परिजिता बास्तोलाको प्रस्तुतिले छक्क परे।
अमेरिकामा मंगलबार सम्पन्न द भोइसको अडिशनमा जब नेपाली मूलकी परिजिता बास्तोलाले आफ्नो प्रस्तुति दिइन्, कार्यक्रममा चारैजना निर्णायक उनको प्रशंसा नगरी रहन सकेनन्। तीन जना निर्णायकले त बास्तोलाको प्रस्तुतिले आफूहरूलाई ‘ईर्ष्या’ लागेको बताए। तीन जना निर्णायकको लोभलाग्दो प्रशंसापछि उनी अन्तिम राउन्डमा जाने पक्कापक्की भएको छ।
१७ वर्षीया नेपाली मूलकी अमेरिकी गायिका बास्तोलाले द भोइसको अडिशनमा सन् २०१६ मा रिलिज भएको ‘जियलज’ गीत गाएकी थिइन्।
उनले गीतको मुखडा मात्र के गाएकी थिइन्, निर्णायकको कुर्सीमा बसेका जोन लेजेन्डले तत्काल रातो स्वीच दबाएर कुर्सी घुमाइहाले। त्यसपछि त असजिली निर्णायकका रुपमा दरिएकी कामिला काबेलोले कुर्सी के घुमाएकी थिइन्, गोयन स्टेफिनीले पनि आफूलाई रोक्न सकिनन्। सबैभन्दा पछि कुर्सी घुमाएका चौथा निर्णायक ब्लेक सेलटोनले पनि गीत गाएर सक्दानसक्दै बास्तोलाको गायकीलाई समर्थन गरे ।
“यो मलाई सबैभन्दा मन पर्ने गीत हो, तिमीले जसरी गायौ, त्यो गजब थियो,” काबेलोले बास्तोलालाई भनिन्, “श्वास रोक्दै गायकीको लय मिलाउने कामले त मेरो शरीरभरि काँडा उम्रियो।”
काबेलोले अर्का निर्णायक स्टेफिनीलाई हेर्दै भनिन्, “जब उनले त्यो गाह्रो लय गाइन्, हामी दुवैले एकै पटक कुर्सी घुमायौं क्यारे।”
शुरूमै कुर्सी घुमाएका जोन लेजेन्डले समर्थनको कुरा दोहोर्याए। “मैले त तिमीहरू दुवै जनाले भन्दा पहिला नै कुुर्सी घुमाएको हुँ। त्यो त तिमीहरूलाई थाहै छ,” उनले भने।
स्टेफिनीले बास्तोलाको गायकीलाई ‘अत्यन्तै स्वाभाविक र अद्वितीय’ बताइन्। “तपाईं आफ्नो हृदयसँग एकात्मक हुनुहुँदो रहेछ। गजब छ, गजब,” उनले भनिन्।
यही वेला सेल्टनले काबेलोतिर हेर्दै ठट्टा गरे, “मेरो टोलीमा तिमी जस्तो अरू कोही छैन। म पनि गायन प्रतियोगितामा गएको छु नि।”
काबेलो पनि के कम, उनले तत्काल प्रतिक्रिया दिइहालिन्। “ब्लेक! तिमी धेरै नै नचाहिने कुरा गर्छौ, यो चाहिं त्यसको परकाष्ठा हो,” उनले भनिन्।
गायिका बास्तोलाले आफ्नो प्रशिक्षक छनोट गर्नुअघि सबै निर्णायकलाई नेपालबाट लगिएको रुद्राक्षको माला पहिर्याइदिइन्। रुद्राक्षको माला लगाएर चारै जना निर्णायक दङ्ग परे।
उनले प्रशिक्षक छनोटमा भने अलमल गरिन्, आफूले निर्णय लिन सकिनन्। चारै जना निर्णायकले आफ्नो समूहमा आउन आग्रह गरिरहँदा उनलाई निर्क्योल गर्न मुश्किल भयो। त्यहीं भिडिओ लाइभमा रहेका आमाबुबालाई हेरिन्।
बास्तोलाका बुबा ‘जोन, जोन’ भनेर बोले। आफ्नी छोरीलाई आरएन्डबी विधाको गीत मन पर्ने भएकाले जोन लेजेन्डलाई छनोट गर्न सल्लाह दिएको बताए।
परिजिता बास्तोलाको प्रस्तुति: