नेपाली लोकभाकाको यूरोप यात्रा
पहिलो विश्वयुद्धको समयमा नेपाली लोकगीत गोर्खा सैनिक मार्फत यूरोप पुगेर गुन्जिएको थियो।
हाम्रो इतिहासमा अघिल्लो पुस्ताले ज्ञान वा विज्ञान जेजति आफूले जानेका कुरा छन्, श्रुति परम्पराबाट पछिल्लो पुस्तामा हस्तान्तरण गर्थे। वेदका ऋचा होऊन् वा दुःख–सुखमा गाइएका लोकभाका, दुवैलाई श्रुति परम्पराले नै संरक्षित गर्यो र हुर्कायो पनि।
श्रुति परम्पराले साहित्यलाई जीवित राखेर एक कालबाट अर्को कालमा लैजाने मात्र होइन, त्यसलाई एक ठाउँबाट अर्को ठाउँमा, अझ एक महादेशबाट अर्को महादेशसम्म पुर्याउने काम पनि गर्यो। श्रुति परम्पराले साहित्यलाई मात्र नभई त्यसका अभिन्न अङ्गहरू भाषा, संस्कृति, रीति, धर्म आदि सामाजिक र सांस्कृतिक अवयवहरूलाई सुरक्षित गर्नुका साथै काल र जनशक्तिमा अन्तरण गरेर मानव सभ्यतालाई ठूलो गुन लगाएको छ।
नेपाली साहित्य क्षेत्रमा नेपाली लोकसाहित्य नेपालीहरूको मौलिक साहित्य, श्रुति परम्परामा बाँचेको साहित्य, मन जित्न सफल साहित्य र सहज साहित्यको पगरी गुथेर अद्यावधि शिखरमा बसेकै छ। श्रव्य परम्पराको बुई चढेर नेपाली लोकसाहित्यले देश–महादेशको यात्रा पनि गरेको छ। नेपाली साहित्यका ती यात्राहरूमा सम्भवतः दूरीको हिसाबले सबैभन्दा टाढाको पहिलो यात्रा प्रथम विश्वयुद्धको समयमा नेपाली लोकभाकाले गरेको यूरोप यात्रा हुन सक्छ। आजभन्दा ११० वर्ष अगाडि नेपाली लोकगीतले नेपाली गोर्खा सैनिकको मुटुको कुनामा लुकेर नेपालका न्याना कन्दराहरूबाट ठिहिर्याउने यूरोपसम्मको यात्रा गरेका थिए। नेपालबाट श्रुति परम्पराको बुई चढेर यूरोप पुगेका तिनै लोकभाकाबारे यस लेखमा संक्षिप्त चर्चा गरिनेछ।
गायन र सङ्गीत मानव मनलाई सुख र दुःखमा साथ दिने परम मित्र हुन्। दुःख व्यवस्थापनका अनेक उपायमा गायन र सङ्गीतले पनि मनको घाउमा मलम लगाउने काम गर्छन्। नेपाली गीत र सङ्गीतको इतिहास र विकास नियाल्दा हामीले सजिलै यो कुरा बुझ्न सक्छौं। नेपाली लोकभाका गाउन विशेष गायन समारोह नै चाहिँदैनथ्यो। नेपाली लोकगीतहरू अरूलाई सुनाउन कम, आफ्नै लागि बढी गाइने गीतहरू हुन्। नेपाली लोकभाका त घाँस काट्दै गरेकी घँसिनीको चुराको छमछमसँगै, जाँतोको घडघडसँगै, धानखेतमा रोपाहारको छुपुछुपुसँगै, ढिकीको ढिकीच्याउँसँगै गुन्जिन्थ्यो, रोदीघरमा घन्किन्थ्यो।
आजभन्दा ११० वर्ष अगाडि नेपाली लोकगीतले नेपाली गोर्खा सैनिकको मुटुको कुनामा लुकेर नेपालका न्याना कन्दराहरूबाट ठिहिर्याउने यूरोपसम्मको यात्रा गरेका थिए।
प्रथम विश्वयुद्धको रणमैदानमा गोला र बारूदको चर्को र विदीर्ण आवाजसँगै अंग्रेजहरूको निर्देशनमा गोर्खा पल्टनका सैनिक भएर यूरोप पुगेका नेपाली सैनिकहरूको आवाजमा नेपाली लोकभाका पनि घन्कियो होला र बन्दी बनाइएका गोर्खा सैनिकका आँसुसँगै कति लोकभाकाहरू छटपटाए होलान्। ती सबै गीत रणभूमिमा वीरगति प्राप्त गरेका तिनै सैनिकहरूसँगै कति आकाशमा बिलाए वा धर्तीमा गाडिए।
गोर्खा सैनिकले यूरोपको भूमिमा कति लोकभाका गुनगुनाए होलान्, हामीसँग त्यसको कुनै अभिलेख छैन। त्यो समयमा श्रुति परम्परामा बाँच्ने लोकभाकाको अभिलेख राखिने चलन पनि थिएन। तर, जर्मन सरकारले बेलायतको पक्षबाट लड्न आएका विश्वभरिका सैनिकहरूलाई बन्धक बनाएर राखेका वेला सन् १९१५ मा संसारका भाषाहरूको भाषिक नमूना सङ्कलन गर्ने उद्देश्यले बर्लिनमा स्थापना गरेको ‘रोयल पर्सियन फोनेटिक कमिशन’ले भने केही लोकभाकाको सङ्कलन गरेर सुरक्षित राखेको छ। कमिशनले त्यतिखेर प्रथम विश्वयुद्धमा लड्न आएका विभिन्न देशका युद्धबन्दीहरूको स्वर सङ्कलन गर्यो।
बर्लिनदेखि ४० किलोमिटर टाढा वुन्सडोर्फको हालबमोन्ड लागर (अर्धचन्द्र शिविर), जसलाई इन्डरलागर (भारतीय शिविर) पनि भनिन्थ्यो, त्यहीं गोर्खाली सैनिकहरूले पनि लोकगीत गाएर आफ्ना व्यथा पोखे। ती पनि सबै सङ्कलन गर्न सम्भव थिएन, तर जति सुरक्षित थिए ती लोकभाकाहरू एक शतक बितिसकेपछि फेरि गोर्खाली युद्धबन्दीका लोकभाका र कथा (२०७७) मार्फत नेपाल आइपुगेका छन्।
गोर्खा सैनिकले यूरोपको भूमिमा कति लोकभाका गुनगुनाए होलान्, हामीसँग त्यसको कुनै अभिलेख छैन। त्यो समयमा श्रुति परम्परामा बाँच्ने लोकभाकाको अभिलेख राखिने चलन पनि थिएन।
आमाको काख छोडेर, सुनौलो सपना बोकेर सानैमा मुगलान लागेका पुनारामको मुटु कालो बारूदको धुवाँले धुम्याइदियो। छोराको पर्खाइमा बसेकी आमाले विध्वंसकारी लडाइँका बारेमा थाहा पाइन् कि पाइनन्, तर छोरा नफर्किएको पीरमा अवश्य रोइन् होला भनेर लडाइँको मैदानबाट गोर्खा सैनिकले गाएः
फाँडौं कुरो खुरिसानी छरी हाल्यौं सामा।
मै र परें धावामा रुन लागो आमा।।
(पुनाराम)
लोक गीत मानव मनको सहज अभिव्यक्ति हो, जसमा कुनै कृत्रिमता र औपचारिकता हुँदैन। न यिनमा कुनै शब्दाडम्बर हुन्छ, न यिनलाई व्याकरणको नियमले बाँध्छ। सरल र सहज रूपमा मनका कुरालाई गीत बनाएर प्रस्तुत गर्न सक्नु नै नेपाली लोकगीतको विशेषता हो। सहज र सुबोध शैलीमा सैनिकहरूले आफ्ना अबोध भावना गाएः
अँधेरी रात गुहेंलो पाक्यो चरीको रोदन।
जर्मनी राजको धेरै छ बातचीत के कहुँ वेदन।।
(वीरबहादुर गुरुङ)
धर्म र पाप अनि पुनर्जन्मको गहिरो छाप परेको नेपाली मानसिकतालाई दुःख परे अघिल्लो जन्मको कुकर्म र सुख भए अघिल्लो जन्मको सुकर्म भनेर चित्त बुझाउने बानी छ। सैनिकहरूले पनि रणमैदानमा आफ्नो अवस्थालाई कुनै जन्मको पाप भोग भनेर चित्त बुझाए र देवी भवानीसँग माफी पनि मागेः
फनक्कै घुमो संसारै डाँडा माझै पर्यो जवानी।
वैरीको देशमा एकलै परे छेमा गरे भवानी।।
(वीरबहादुर गुरुङ)
विश्वयुद्धको त्यो कहालीलाग्दो समय त्यस बखत बाँचेका जोसुकैका लागि पनि एउटा भयानक समय थियो, त्यसमाथि रणमैदानमा होमिएका सैनिकको अनुभव त झनै पीडादायी रह्यो होला। वीरबहादुरले अगाडि गाएः
जर्मनको देशमा बेसी झन् आलु कैलेलाइ साँचेको।
मरेता पनि बिर्सने छैन मेसिनगन हानेको।।
(वीरबहादुर गुरुङ)
गोर्खा सैनिकहरूले गाएका गीतहरूमा धेरै कुरा छन्। गीतहरूमा घर फर्किने आस र फर्किएर चाडपर्व मनाउने लालसा र सपना पनि बुनिएका छन्। छविलाल थापाले फागू वा होलीमा प्यारीसँग रमाइलो गर्ने कल्पनामा गाएका छन्ः
यो आउँदो होरी खुब राम्रो गरी चयेनले मानुँला
नानी मोतीलाल चयेनले मानुँला
लोटामा पानी पेच्कारी भरी प्यारीलाई हानुँला
नानी मोतीलाल प्यारीलाई हानुँला
शृङ्गार लोकगीतको मुटु हो। गोर्खा सैनिकले पनि धेरै शृङ्गारिक गीतहरू गाए, प्यारीसँग विरह र बिछोडका गीत गाए अनि भेटेर फेरि रमाइलो गर्ने सपनाका गीत गाएः
चिरे काकरी त टिकी लगाइ दियाँ।
आज राति सपनीमा तिम्रै काखमा थियाँ।।
(पुनाराम)
सिङ्गै र ठाडो पुच्छरै लामो गुजुन्द्रे गोरूको।
प्यारीको जस्तो सुकिलो माया रैनछ अरूको।।
(गुमाने गुरुङ)
आजभोलि प्रविधिको विकास र बढ्दो शहरीकरणले लोकभाकामा पनि कृत्रिमता छिरिसकेको छ। सैनिक ब्यारेकमा पनि लोकभाका गाउने चलन हराउँदै गएको छ।
नेपाली लोकसाहित्यको ठूलो अंश मुग्लान र लाहुरका कथा, लाहुरेका कथा र लाहुरेका परिवारको कथाले ओगटेको छ। लोकसाहित्य मात्र नभएर कथा, कविता र उपन्यास जस्ता विधामा पनि लाहुरे विषयवस्तुको बहुलता अनुभव गर्न सकिन्छ। अन्य लेख्य विधाले भन्दा लोकभाकाले मुटुभित्रको भावनालाई कुनै संशोधन वा परिमार्जन नगरी, कृत्रिम सुन्दरताको जलप नलगाई सद्योजात भावना बोकेको हुन्छ। तत्काल रचना गरेर गाइने हुँदा पनि यसमा कृत्रिमताले चियाउन पाउँदैन।
तर, आजभोलि प्रविधिको विकास र बढ्दो शहरीकरणले लोकभाकामा पनि कृत्रिमता छिरिसकेको छ। सैनिक ब्यारेकमा पनि लोकभाका गाउने चलन हराउँदै गएको छ। चोक चोकमा सुनिने मालश्री धुन अब मोबाइल फोनको रिङटोनमा सीमित भएको छ। चर्या गीत, रोदी, दोहोरी, झ्याउरे, जस्ता गीतहरू अब रेस्टुराँ पसेका छन्। समय अनुसार परिवर्तन आवश्यक र स्वाभाविक पनि हो। त्यसैले त साहित्य समाजको ऐना हो, समाजमा जे हुँदै छ साहित्यले सबै सविस्तार बताइदिन्छ।
(आत्रेय अस्ट्रियाको भियना विश्वविद्यालयसँग आबद्ध अनुसन्धाता र अध्येता हुन्। हिमालको २०७९ असोज अंकबाट।)