गठबन्धनका नाममा पार्टीलाई बन्दी बनाइयो, दाहाल–भट्टराई एकताले नतीजामा अन्तर आउँदैन
गठबन्धनका नाममा देशलाई आर्थिक रूपमा समृद्ध बनाउने, आत्मनिर्भर बनाउने कार्यक्रम, योजना, अजेन्डा, विकास समृद्धिका अजेन्डाहरू पनि सबै फिका भए।
नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य हेमराज भण्डारी लगायत धनकुटाका माओवादी नेताहरूले असोज ९ गते सामूहिक राजीनामा दिए। भण्डारीकै प्रस्तावमा उनीहरू मंसीर ४ गतेको चुनावमा स्वतन्त्र रूपमा सहभागी हुने बताएका छन्। जिल्ला नेतृत्व सहित पार्टी छाडेर निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने अभियान घोषणा गरेका भण्डारीसँग हिमालखबरका लागि दमन राईले गरेको संवादः
पार्टीबाट किन सामूहिक राजीनामा दिनुभएको?
गठबन्धनका नाममा पार्टीलाई अनिर्णयको बन्दी बनाउने, पार्टीका अजेन्डाहरू कमजोर बनाउने काम भयो। गठबन्धनका नाममा मुद्दाविहीन, अजेन्डाविहीन, विचारविहीन भएर चुनाव जित्न मात्रै चोचोमोचो मिलाइयो। यो प्रवृत्तिसँग हामीले केही समय अगाडिदेखि सैद्धान्तिक असहमति राखेर आएका थियौं।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरिसकेपछि त्यो वेला गठबन्धन आवश्यक भयो, दलहरूबीचमा सहकार्य भयो। जब त्यसलाई ट्र्याकमा लिइसकेपछि लगातार यो गठबन्धनका नाममा जे गर्न खोजिरहेका छौं यसले पार्टीलाई सही ठाउँमा लैजाँदैन। एमाले राप्रपासँग मिल्ने, हामी कांग्रेससँग मिल्ने। उसो भए आमजनतामा राजनीतिक पार्टीहरूबीच के अन्तर त? विचारमा, राजनीतिमा, कार्यदिशामा, कार्यक्रममा, संस्कार-संस्कृतिमा, संरचनामा, योजनामा केही पनि अन्तर छैन भन्ने सन्देश गएको छ। जो जो मिलेर भए पनि कुर्सी, पद प्राप्त गर्ने, सत्ताको बाँडफाँड गर्नेभन्दा अरू कुरा रहेनछ भन्ने चिजलाई झन् मलजल गर्छ।
जनतामाझ आफ्ना अजेन्डा, मुद्दा र कार्यक्रम लिएर स्पष्ट ढङ्गले जानुपर्छ, त्यो विकल्प खुला गर्नुपर्छ भन्ने कुरा पार्टीमा राख्दै आएको थिएँ। यो विषयमा गम्भीरतापूर्वक सुनुवाइ भएन।
धनकुटाको सन्दर्भमा अलिकति फरक पृष्ठभूमि पनि थियो। २०७४ सालको निर्वाचनमा पनि एमालेसँगको गठबन्धनको नाममा धनकुटामा भए जति सबै सीट एमालेलाई दिइयो र माओवादीलाई शून्य बनाइयो। त्यति वेला पनि नेताहरूले रोल्पा र रुकुमसँग धनकुटा साट्यौं भन्नुभयो, यहाँका साथीहरू र मतदाताले त्यसलाई मान्नुभयो, अगाडि बढ्नुभयो।
हामीले के भन्यौं भने, हामी अघिल्लो निर्वाचनमा पनि एक्लो ढङ्गले जान नपाएकाले पार्टीको चुनाव चिह्न दिनुस्, हाम्रा मुद्दा लिएर जान्छौं जनतामा। हामीले गठबन्धनको भारी होइन कि हाम्रा मुद्दा लिएर संविधान लेख्दाखेरि प्रत्यक्ष निर्वाचित कार्यकारीको अजेन्डा फरक मतका रूपमा राख्यौं, संघीयताको विषयमा भिन्न मत राख्यौं। निर्वाचन प्रणालीको विषयमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ भन्यौं। यी लगायतका मुद्दाहरू यो गठबन्धनका नाममा हामीले केही पनि चुनावमा लैजान नपाउने भयौं।
देशलाई आर्थिक रूपमा समृद्ध बनाउने, आत्मनिर्भर बनाउने कार्यक्रम, योजना, अजेन्डा, विकास समृद्धिका अजेन्डाहरू पनि सबै फिका भए, गठबन्धनका नाममा। त्यस कारण स्पष्ट अजेन्डा लिएर जान्छौं, हामीलाई जाने बाटो खोलिदिनुस् भन्यौं, अध्यक्षलाई। तर, उहाँले तपाईंहरूलाई चुनाव चिह्न दिने बित्तिकै गठबन्धनमा असर पर्छ भन्नुभयो।
पार्टीको चुनाव चिह्न पनि नदिने र हामीलाई लगातार जनतामाझ जानबाट वञ्चित गर्ने हो भने नयाँ ढङ्गले जनतामाझ जान्छौं, यो पटक जनतामाझ जानैपर्छ। किनभने, पाँच-दश वर्षसम्म जनतामाझ जानबाट रोकेर पार्टी जीवित रहँदैन। अरू जिल्लामा मात्रै पार्टी बनाएर धनकुटामा कि त पार्टी नबनाउँदा पनि हुन्छ भन्ने निर्णय गर्नुपर्यो। होइन, धनकुटामा पार्टी बनाउनुपर्छ भने चुनावमा जानुपर्ने विषय उठाउँदा गम्भीरतापूर्वक नलिएपछि हामीले छलफल गर्यौं।
मैले १५ दिन अगाडि नै अध्यक्षलाई तपाईंको पार्टीका सबै जिम्मेवारी तपाईंलाई नै सुम्पिएँ, म आफ्नो पदबाट राजीनामा दिन्छु र स्वतन्त्र रूपमा उम्मेदवारी दिएर जनताको बीचमा जान्छु भनेर राजीनामा दिएर आएँ। धनकुटा आएर यहाँका साथीहरू र पार्टीको कमिटी सबैसँग छलफल गरें। मैले यस्तो निर्णय गरेर आएँ, यस्तो नयाँ अभियान लिएर जानुपर्ने स्थिति देखें भनें, तपाईंहरूको के छ राय भनी सोधें। तपाईंले चलाएको अभियानमा हाम्रो पनि ऐक्यबद्धता छ, हामी कुनै पनि हालतमा अब अरू पार्टीलाई बोकेर हिंड्ने पक्षमा छैनौं भन्नुभयो। बरु राष्ट्रिय झण्डा बोकेर एकचोटि धनकुटाका अजेन्डाहरू बोकेर अगाडि जाने विषयमा हाम्रो साझा सहमति भयो।
यो टिकट पाउन दिइएको केवल धम्की हो कि साँच्चै राजीनामा?
घुर्की र धम्कीको कुरै भएन। त्यो च्याप्टर सकिसक्यो, किनभने जब हामीले आफ्नो राजीनामा सार्वजनिक नै गर्यौं। जनताको बीचमा लगिसक्यौं। हामी स्वतन्त्र रूपमा अब अगाडि बढ्छौं भनेर घोषणा गरिसक्यौं। हाम्रा उम्मेदवारी पनि घोषणा भइसक्यो भनेपछि हामीले कसैलाई धम्क्याउने, घुर्क्याउने भन्ने कुरा केही पनि छैन। हामी सबै बन्धनहरूबाट मुक्त भएर एकचोटि निश्चिन्त रूपमा जनतामा जान्छौं भन्ने निर्णय गरेका छौं। यो हाम्रो निर्णयमाथि कसैले पनि शङ्का गर्न जरुरी छैन ।
यो त सरासर जनवादी केन्द्रीयतालाई कुल्चिने काम भएन र?
जनवादी केन्द्रीयता भन्ने कुरा त विचार, राजनीति, कार्यक्रमको सन्दर्भमा हुन्छ नि। चुनावको सन्दर्भमा यो त्यस्तो हुँदैन किनभने हामीले वैचारिक रूपमा आफ्ना कुरा राख्दा पार्टीले त्यसलाई नमानेपछि पार्टीबाटै राजीनामा दिएर जान त हामी स्वतन्त्र भयौं नि। नागरिकका रूपमा हामीलाई आफ्ना मुद्दा तथा अजेन्डा लिएर जान त स्वतन्त्रता दिएको छ, संविधानले। हामी नागरिक भएर जनतामाझ जान्छौं भन्न त पार्टीसँग त पाउने भयौं। पार्टीका सबै जिम्मेवारीबाट मुक्त भयौं। अब नागरिक भएर अभियानमा जान्छौं भन्न हामीले नपाउने कुरा त हुँदैन।
मंसीर ४ गतेको निर्वाचनमा कसैसँग तालमेल वा गठबन्धनको सम्भावना छ कि छैन?
कुनै पार्टीसँग मिलेर जाने केही पनि उद्देश्य छैन। आफ्नो स्वतन्त्र उम्मेदवारी कायम राख्दै नयाँ ढङ्गले अगाडि जान्छौं। यद्यपि सबै पार्टीहरूसँग, सबै संघसंस्थाहरूसँग, नागरिक समाजसँग अरू स्वतन्त्र अभियन्ताहरू सबैसँग छलफल हुन्छ। जब हामी पार्टीको घेराबाट बाहिर निस्केर आइसकेपछि सबैसँग सहकार्य हुने, छलफल हुने कुरा स्वाभाविक छ। तर, हाम्रो उम्मेदवारी कसैसँग सहकार्य गर्नका निम्ति वा सम्झौता गर्नका निम्ति होइन, हामी एकदम खुलस्त भएर आमजनतामा जनतामा हाम्रा अजेन्डा, विकास निर्माणका मुद्दाहरू, समृद्धिका मुद्दा लिएर जाने हो।
गत वैशाखको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूप्रति मतदाताको आकर्षण देखियो। त्यही लहरले तपाईंहरूलाई आकर्षित गरेको हो कि?
त्योभन्दा पनि ठूलो कुरा, जनतामा खास गरेर नयाँ पुस्तामा अहिलेको नेतृत्वप्रति, अहिलेका पार्टीको कार्यशैलीप्रति चरम वितृष्णा पैदा भएको छ। उहाँहरूले गरेका कैयौं कामहरूबारे हामीले त पार्टीभित्र पनि छलफल गर्दै आएका हौं। आफ्ना मत राख्दै आएका हौँ।
आज नेपालको राष्ट्रिय स्वाधीनता कमजोर अवस्थामा पुगेको छ। विदेशी शक्तिकेन्द्रको चलखेल बढेको छ। यस्तो भयानक अवस्था छ। अराजकता छ, ठूल्ठूला भ्रष्टाचारका काण्डहरू भएका छन्, महँगी बढेको छ। जनजीविकाको सवालमा कोही पनि संवेदनशील छैन। यस्तो अवस्थामा शक्तिकेन्द्रहरूको प्रयोगशालाका रूपमा देश देखिएको छ। जनतालाई ठूल्ठूला आश्वासन र सपना बाँड्ने काम भएको छ। जनताका विश्वास र भरोसाहरूमाथि खेलबाड गर्ने काम भएको छ। जनताका असन्तुष्टि र विद्रोह देशभरि फैलिइरहेको छ।
देशभरि जुन ढङ्गको असन्तुष्टिको लहर फैलिएको छ। यसबाट अहिलेकोे २१औं शताब्दीमा यो विज्ञान प्रविधिले ल्याएको एउटा ‘साइलेन्ट रिभोलुसन’ का रूपमा देखिइराखेको छ। यति ठूलो जनमत फरक ढङ्गले आइराखेका वेला राजनीति, यो व्यवस्था, प्रणाली बुझेको, यसका समस्या बुझेको, नेपालका दलहरूका नेताका समस्या बुझेको मान्छेले त्यसलाई नेतृत्व गर्नुपर्छ। नेतृत्व गरिएन भने त्यो गलत बाटोमा जान सक्छ। त्यस कारणले त्यसलाई सचेततापूर्वक नेतृत्व गर्ने हिम्मत गर्नुपर्छ भन्ने राजनीतिक निष्कर्ष पनि हो।
त्यसैले यो जुन अभियान चलेको छ, जुन पार्टी र नेतृत्वप्रतिको वितृष्णाको क्रम छ, मलाई लाग्छ अबको निर्वाचनमा यो देशभरि नै ज्वारभाटाका रूपमा फैलँदै छ। यसलाई ठीक ढङ्गले हाम्रा नेताहरूले बुझिराख्नुभाको छैन। गठबन्धनको नाममा माथि चिरा लाएर भागबण्डा गरेर तँलाई यो तँलाई यो भनिदिंदैमा जनताले त्यसलाई अनुमोदन गर्दिने देखेको छैन। किनभने, यो त जनताको विवेकको कुरा हो। त्यस कारण जनताको विवेक र अपेक्षामाथि कहीं न कहीं दलहरूले कुठाराघात गरिराखेका छन्। यो एउटा राजनीतिक निष्कर्षसँगै एउटा नयाँ अभ्यासमा गएकै हौं।
पछिल्लो समय बाबुराम भट्टराई र पुष्पकमल दाहाल नजिकिएका छन्। यसको राजनीतिक अर्थ के छ?
स्वाभाविक हो, उहाँहरू हिजो पनि एकैठाउँमा हुनुहुन्थ्यो। अब नजिकिएर फेरि एकैठाउँमा बसेर सँगै जान्छौं भनेर छलफल हुनु स्वाभाविक हो। मलाई थाहा छैन, कुन उद्देश्यले उहाँहरू मिल्नुहुन्छ? उहाँहरू कहिले एकछिनमा जुध्नुहुन्छ, कहिले मिल्नुहुन्छ। तर, उहाँहरूको मात्रै एकताले खास ठूलो अन्तर गर्छ जस्तो मलाई लाग्दैन।