मनास्लु हिमपहिरो: एक आरोही सम्पर्कविहीन, १२ घाइते
गोरखाको मनास्लु हिमालको आधारशिविरमा हिमपहिरो जाँदा एक आरोही सम्पर्कविहीन छन् भने १२ घाइते भएका छन्।
मनास्लु आधारशिविरमा सोमबार बिहान हिमपहिरो गएको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले बताए। हिमपहिरोमा परेर १२ जना घाइते भएको उनले बताए।
उनका अनुसार, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। त्यस्तै, ६ जना सामान्य घाइते भएको उनले बताए।
हिमपहिरोमा परी एक जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन्। मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा विदेशी नागरिक सम्पर्कविहिन भएको उनले बताए।
हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौंबाट तीन वटा हेलिकोप्टर पठाइएको छ। यद्यपि, खराब मौसमका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको उनले जानकारी दिए।
मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि गएका मिङ्मा शेर्पाले खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिए। गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टर सहित शेर्पा टोली तयारी अवस्थामा रहेको उनले बताए।
चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधारशिविरमा पहिरो गएको बताइएको छ। मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरूका सहयोगी नेपाली आधारशिविरमा छन्।
पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार, शरद् ऋतुमा मनास्लु हिमाल आरोहण गर्न ३८ आरोही समूहका ४०४ आरोहीले अनुमति लिएका छन्। यो सिजनमा सगरमाथा, मनास्लु सहितका १५ हिमाल चढ्न ५८ आरोही समूहका ५०६ जनाले आरोहण अनुमति लिएका छन्। (रासस)