सन्तुलन हराएका मानिस र प्रकृति
एक्लै गएर कहीं पुगिन्न। सँगै जानु छ समाजसँगै, सँगसँगै र हिंड्न नसक्नेलाई पनि सँगसँगै लैजानु छ अक्षरको बाटो हिंडाएर- ‘संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्।’
आज यस समारोहमा यसरी उभिन पाउनु मेरो लेखक जीवनकै सर्वाधिक खुशी र आनन्दको क्षण हो। आनन्दको स्वरूप स्वयं आनन्दकै अनुभूति रहेछ।
जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो। चिन्ताहरूको कोलाहल टेकेर चिन्तनको सुदीर्घ बाटो हुँदै चैतन्यको यात्रा लेखनको सार हो र जीवित छातीको एक उज्यालो अंश लिएर दिव्य उज्यालोतिरको अन्तर्यात्रा मेरो अभीष्ट। आज म धन्य छु, धन्य धन्य भएको छु।
प्रष्ट छु, म फुत्त आजै म भएको होइन। पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुति र स्मृति मार्फत लपक्क भिजेको लामो सभ्यता शृङ्खला र उहाँहरूकै देनको राजमार्गमा थपक्क उभिएको एक पथिक हुँ म। आज यो भव्य सम्मान ग्रहण गरिरहँदा ती सबै अग्रजहरूप्रति नतमस्तक छु।
ज्ञान परम्परा र वर्तमान
हो, आज म बाँचेको युग सङ्गत/विसङ्गतको दोसाँधमा छ। जीवनका आयाम र आयतन अनुत्तरित छन्। अन्योलपूर्ण उत्साह र उत्साहपूर्ण अन्योलको बीचबाट मान्छेको जीवन थर्थराएको छ। धेरै प्राप्ति छन्, आविष्कार, प्रविधिको विस्तार, भौतिक विकास, विश्व सम्पर्क, उत्पादन, यान्त्रिक सुविधा आदि प्रशस्त छन्।
तैपनि, किन अन्तरउज्यालो हराउँदै गए झैं लाग्छ? किन बाहिरी उज्यालोले आफैं तिर्मिराए झैं लाग्छ? के हो यो, सार कि निस्सार? आफूभित्रको आफैं किन हेर्दैन मान्छे? आफैंभित्र के देखिन्छ? किन देखिन्छ र कसरी देखिन्छ? बाहिरी हेराइ बहुरूप र बहुकोणमा त छ, तर पनि मान्छेभित्रको स्वतन्त्र, अविभाज्य र स्वाधीन अस्तित्व कहाँ छ? अन्तरस्वतन्त्रताको मूल धमिलिएको त छैन? मुहानको शान्ति खलबलिएको त छैन? लेख्नु भनेको यही स्वाधीन स्वत्वको उपल्लो अभिव्यक्ति हो। लेख्नु भनेको निराशा बग्ने धमिलो नदीलाई शुद्ध/सङ्लो पार्नु हो।
आज कहाँ पाउनु वेदका ऋचा लेखूँ जस्तो लाग्ने नदी किनार? समवेत स्वरमा देउराली घन्किने गायन कहाँ पाउनु? कहाँ पाउनु लगौंटी कसेर खगोल अध्ययन गर्ने ज्योतिष बा र कहाँ पाउनु उही पवित्र स्वरमा टाढा कतै गुन्जिरहेको ‘आत्मवत् सर्वभूतेषु य पश्यति स पण्डितः?’ कतै समय, हृदय र मान्छे आपसमा छुट्टिएर आआफ्नै बाटोमा लागेका त होइनन्?
आज आफ्नै कञ्चन रङमा फूलले हाँस्न सकेको छैन। हावा आफैं गह्रुँगो जस्तो छ, मैलिए जस्ता छन् रूखहरू र हिमालहरू काला हुन थालेका छन्। सन्तुलन मान्छेमा पनि छैन र प्रकृतिमा पनि छैन। समय आफैं समयहीन जस्तो लाग्छ। यी सबै कुराबाट एउटा कवि कसरी बेखबर हुन सक्छ?
क्षमा गर्नुस्, यो निराशा होइन। म पुराना सन्दर्भतिर फर्कन खोजको मात्रै हुँ। आफूले आफैंलाई सम्झन खोजेको हुँ। षड्दर्शन, षड्शिक्षा, अन्तरको अँध्यारो फाल्ने शैक्षिक साधना र ‘वयं राष्ट्रे जागृयाम’ सँग आजको शिक्षाको सम्बन्ध के होला, होला कि नहोला?
दुरुह, क्लिष्ट र खतराजन्य ज्ञानले जीवनलाई जीवन बनाउला कि यन्त्र? मान्छे मान्छे हो कि मशिन? हाम्रो शिक्षा पद्धतिले विद्वान् जन्माउँदै छ कि खेताला जनशक्ति? कसरी लेखिंदै छ काव्य र यसको सारमा के छ? पढ्नु र पढाउनुमा जीवन र जगत् छ कि बाहिरी संसारको विनिमय?
ज्ञान अन्तरउज्यालो हो कि आर्जनको भर्याङ? मानव जीवन रहस्य हो कि समस्या? सत्यको परख कसरी गर्ने? बाँच्नुको दर्शन के हो? लेख्नु आनन्द हो कि परिवर्तन? दुवै हो कि दुवै होइन? मेरा अक्षरहरू मैलाई सोधिरहन्छन् र आफ्नै प्रश्नले आफैं थिल्थिलो हुन्छु, आफैं निथ्रुक्क हुन्छु।
लेख्नुअघि म आफैंलाई विनम्रतापूर्वक सोध्छु, लेख्ने के हो, पढ्ने के हो? पढ्ने पाठक को हो? यही विषय नलेखे के हुन्छ? मैले नलेखे के हुन्छ र अहिल्यै नलेखे के हुन्छ? साँच्चै कहिल्यै नलेखे के हुन्छ? लेख्दै नलेखे के हुन्छ? लेख्नु भन्नु त आफैं पोखिनु हो। पोखिनुअघि पूर्ण रूपमा भरिनु जरुरी छ। आज कुन लेखक कहाँबाट कुन अमृत बिन्दु टिपेर कसरी भरिने हो?
चक्र शरीरमा पनि छ र समाजमा पनि छ। षड्चक्रभन्दा माथि छ, सहस्रार चक्र। जीवनका गिर्खागिर्खीभन्दा माथि छ, साधनापूर्ण विजय प्राप्त गरेपछि अनुभूत हुने त्यो उपल्लो मेधाशक्ति। लेखनको उद्देश्य त त्यतै जाने र लैजाने हो। एक्लै गएर कहीं पुगिन्न। सँगै जानु छ समाजसँगै, सँगसँगै र हिंड्न नसक्नेलाई पनि सँगसँगै लैजानु छ अक्षरको बाटो हिंडाएर- ‘संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्।’
महाकाव्य परम्परा र अग्नि
महाकाव्य परम्परा महाजीवन परम्परा भएर समाजमा लपक्क छ। रामायण र महाभारत हुन् वा अन्य विविध धार्मिक ग्रन्थहरू।
भानुभक्त आचार्यको रामायण, शाकुन्तल आदि देवकोटेली महाकाव्य विरासत, आफैं तात्न खोजेको चिसो चुलो, नरसिंह अवतार आदि हुँदै बगेको महाकाव्य परम्परामा अग्नि भएर मिसिन पाउँदा मभित्र खुशीको भर्भराउँदो ज्वाला उठेको छ।
यसो भन्नु मेरो धृष्टता पनि होला, तर भन्न मन छ- आज अग्निलाई साथमा राखेर यसरी उभिन पाउँदा सीमान्तकृत कर्ण, नेपाली धराको बहुलता र जनताको मुक्ति आवाज एकै पटक सम्मानित भएको महसूस गरेको छु।
लेखकीय सत्ताको सर्वोच्चता
मान्छेभित्रको मनुष्यत्व र त्यही मनुष्यत्वको अविभाज्य स्वतन्त्र चेतना मान्छेको मूलशक्ति हो। स्वतन्त्र मान्छेले मात्र स्वतन्त्र धारणा बनाउन सक्छ र त्यही धारणाको स्वस्फूर्त नित्य निमग्नता लेखनको जग हो। आदेश, उपदेश वा कुनै पनि निर्देशनको परिधीय सीमा लेखनसत्ता हुन सक्तैन। हरेक लेखक आफ्नो स्वाधीन लेखकीय सत्ताको स्वतन्त्र संविधान आफैं बनाउँछ, बनाउन पाउनुपर्छ।
नीति कि अनुभूति? बोध कि अवधारणा? परिवर्तन कि रूपान्तरण? अन्तर्बोध कि वचनको भारी? चित्र र चरित्रको भित्री भेद खुट्टिएन भने लेखकीय इमान मर्छ। लेखकीय इमान मर्नु भनेको व्यक्ति स्वतन्त्रता र लेखकीय सत्ताको संयुक्त मृत्यु हो।
कुनै योगीको ब्रह्मस्वरूप आनन्द र कविता उज्यालोको आलम्बन, मलाई उस्तै उस्तै लाग्छ। चैतन्यबोध गरेको योगी त्यो चरम आनन्द बताउन सक्तैन, तर एउटा कवि त्यही आनन्दमा पुगेपछि बल्ल उपल्लो कविता लेख्न शुरू गर्छ र काव्य निर्माण हुन्छ। कविता भन्नु आफैंलाई बिर्सिएपछिको आफ्नै बोधको उपल्लो कोटिको उज्यालो हो।
र, अन्त्यमा
आजको यो क्षण मेरो जीवनकै उपल्लो खुशीको क्षण हो। मेरो लेखन कर्मले फेरि एक पटक सामाजिक स्वीकृति पाएको छ।
जीवनमा यो ठाउँमा यसरी उभिन आइपुग्छु जस्तो लागेको पनि थिएन। अक्षर, समय र ईश्वरलाई धन्यवाद।
यतिखेर अग्नि महाकाव्यको पात्र ठुले कामीलाई सम्झेको छु। छेलाङी विश्वकर्मा र जुनीमायालाई सम्झेको छु। अर्धनग्न शरीर लिएर आरनमा प्यात्त निदाइरहेका तिनका सन्तानलाई सम्झेको छु।
मैले खोज्दै हेर्दै हिंडेका आरनहरू सम्झेको छु। त्यहाँका अग्निज्वाला सम्झेको छु। आफैंभित्रका निजी आवेग, संवेग सम्झेको छु र आफ्नै सात वर्षकी नातिनी आयरालाई सम्झेको छु, जो अग्नि लेख्ने वेला मेरो काखमा लुटुक्क निदाउँथी।
सम्झनाको यो उज्यालो, मेरो अन्तरको उज्यालो र त्यो परको परम दिव्य उज्यालो एकाकार होस्, चैतन्यतर्फको अक्षर यात्रा जारी राख्न सकूँ। अक्षर ईश्वर हो र यसैको पूजामा निरन्तर निरन्तर लागिरहन सकूँ। सबैको आशीर्वाद मिलोस्।
(२०७९ असोज ११ गते पाटनढोकामा आयोजित २०७८ सालको मदन पुरस्कार वितरण समारोहमा पुरस्कृत कृति अग्निका लेखक लम्सालले राखेको मन्तव्यको सम्पादित अंश।)