कथा कहने नृत्य
धर्म, मनोरञ्जन र खेलको टेकोमा उभिएको नेपाली नृत्य परम्पराले इतिहास र भूगोलसँगै उत्पीडन र उल्लासका कथा पनि भन्छ।
ह्माण्डका ठूल्ठूला ग्रहदेखि मसिना कणसम्म सबैको आफ्नै लय छ। लयले गति अनि गतिले अवस्थिति निर्धारण गर्छ। लय, गति र अवस्थितिको सङ्गमबाट सङ्गीतको उत्पत्ति हुन्छ। शास्त्रीय परिभाषा अनुसार, रस प्रवाह गर्न सक्ने सुललित ध्वनिहरूको सँगालो नै सङ्गीत हो। पूर्वीय परम्परामा सङ्गीतको उत्पत्ति सामवेदबाट भएको मानिए पनि यसको कार्यान्वयनका लागि भरतमुनिरचित, पाँचौं वेद भनिने नाट्यशास्त्रलाई आधार बनाइएको पाइन्छ।
पूर्वीय साहित्यमा ऐतिहासिक कृति मानिने सङ्गीतरत्नाकर अनुसार, संस्कृत भाषाका ‘सम्’ र ‘गीत’ जोडिएर सङ्गीत शब्द बनेको हो। यहाँ ‘सम्’ उपसर्गले सँगै वा जोडिएर भन्ने अर्थ दिएको छ भने गीतले गाउनका निम्ति रचिएको लयात्मक साहित्यलाई बुझाउँछ। सङ्गीतरत्नाकरका रचयिता शारंगदेवलाई मान्ने हो भने सङ्गीत बन्न तीन चीज जरुरी छन्- गायन, वाद्य र नृत्य।
सङ्गीतको यस्तो अर्थ सर्वमान्य भने छैन। सङ्गीतको अंग्रेजी रूपान्तरण ‘म्युजिक’ को परिभाषामा वाद्य र गायन मात्र समेटिन्छ। नेपालमै पनि सङ्गीत, नाट्य र नृत्यलाई अलग्गै हेरिनुपर्ने माग उठिरहेकै छ। यस्तो मागमा अन्तर्निहित विधागत मौलिकता र पहिचानको अपेक्षालाई सम्मान गर्नु प्रगतिशील नै हुन्छ।
हरेक सभ्यतामा अभिव्यक्तिको कलात्मक परम्परा पाइन्छ। पूर्वीय समाजमा पनि लोकका कथाहरू भन्न, सामाजिक-सांस्कारिक विधिहरू देखाउन तथा मनोरञ्जन हासिल गर्न नृत्यको सहारा लिइएको पाइन्छ, जसलाई बृहत्तर अर्थमा नाट्य शब्दको प्रयोग गर्न सकिन्छ। नेपाली समाजमा विद्यमान नाट्य वा नृत्य परम्परा पनि मानिसका कथा भन्ने अभिलाषा, सामाजिक-सांस्कारिक विधिविधान जोगाउने प्रयत्न र मनोरञ्जन सिर्जना गर्ने उत्कण्ठाकै उपज हुन्।
निश्चित कालखण्ड र समुदायमा विकास भएर पुस्तौंपुस्ताले अभ्यास एवं साधना गरेर बचाएका नृत्यले पछि परम्पराको रूप लिएका हुन्। तर, परम्परा बन्नुअघि नृत्य वा नाट्य आफैंमा प्रदर्शनकारी कला थिए जसलाई विकासक्रमका आधारमा तीन भागमा बाँडिएको छ। संस्कृत साहित्य अनुसार, ताल र लयमा आधारित तर भाव-अभिनय नहुने अङ्गसञ्चालनलाई नृत्त भनिन्छ भने रस र भाव सहितको नाचलाई नृत्य भनिन्छ। यी दुवैको विकसित स्वरूप चाहिं नाट्य हो, जसमा ताल, लय, रस र भावका अतिरिक्त प्राचीन कथा निबद्ध हुन्छ।
सभ्यताको विकासक्रम हेर्दा भाषा आउनुअघि लहरा र पात आदिको कम्पन, नदीको प्रवाह र मयूरको नाच अनुकरणका क्रममा अङ्गसञ्चालन गर्दा नृत्तको उदय भएको मानिन्छ। भाषाको विकासपछि मानिसमा भाव-अभिनयको क्षमता आयो, नृत्यको विकास भयो। समयक्रममा भावसँगै कार्यव्यापारको अभिनय गर्ने र कथावस्तुको विकास गर्ने क्षमता आएपछि नाट्यको विकास भएको पूर्वीय शास्त्रमा उल्लेख छ। यस अनुसार, मानिसमा हुने अनुकरणवृत्तिबाटै नृत्यको विकास भएको हो। नाट्यको निरन्तर अभ्यासबाट कथावाचनका विविधताको अन्वेषण भएको र त्यसैका आधारमा नेपाली नृत्य परम्पराको पनि आधारशिला खडा भएको भन्न सकिन्छ।
नेपालको नृत्य परम्परामा मूलतः तीन आधार बढी प्रभावशाली रहेको अध्ययनले देखाएको छ- धर्म, मनोरञ्जन र खेल। यसको अर्थ नेपालका नाचहरू कि धर्मशास्त्रमा उल्लिखित देवीदेवताको पूजा र संस्कारहरूको अभ्यासका क्रममा कि सामाजिक जनजीवनले मनोरञ्जन खोज्दा कि त खेलको स्वरूपमा विकास भएका छन्। हिन्दू धर्मावलम्बी बाहुल्य रहेको नेपाली समाजका केही नृत्य हिन्दू देवदेवीका पूजा-आराधनाका क्रममा प्रचलनमा आएका छन्। जस्तै, शिव ताण्डव, दुर्गापूजा, रामलीला, कृष्णलीला आदि।
हिन्दू धर्मावलम्बी बाहुल्य रहेको नेपाली समाजका केही नृत्य हिन्दू देवदेवीका पूजा-आराधनाका क्रममा प्रचलनमा आएका छन्।
अन्य धर्मावलम्बी तथा फरक संस्कार-साधनाका जातजातिमा पनि आआफ्नै नाच पाइन्छन्। जस्तो, उपत्यकाको नेवाः बौद्ध समुदायमाझ प्रचलित चर्या नृत्य। प्रखर धार्मिक मान्यताका कारण यस्ता नाच सीमित समुदायमा नाचिए पनि नेपाली समाजमा यिनीहरूको उपस्थिति बलियो देखिन्छ।
समुदाय अनुसार बाली लगाउँदा-भित्र्याउँदादेखि मान्छेको जन्म र मृत्युसम्मका संस्कारमा नाचिने नाचसम्म प्रचलनमा छन्। त्यसै गरी विभिन्न चाडपर्वमा नाचिने नाच विशुद्ध मनोरञ्जनमा आधारित छन्। तर, आधुनिक समाजमा मनोरञ्जनका अन्य स्रोत भेटिएसँगै यस्ता नाच ओझेल पर्दै छन्।
नेपाली नृत्य परम्पराको अर्को मौलिकताका रूपमा खेललाई लिन सकिन्छ। नृत्य अनुकरणबाट शुरू भएको मान्दा खेल त्यसैको परिष्कृत रूप हो। मानिसहरूमा नक्कल गर्ने कला सुसंस्कृत र परिष्कृत भएपछि त्यसैबाट नृत्यकलाको विकास भएकाले हुन सक्छ, कतिपय स्थानीय भाषामा नाच्नुलाई ‘खेल्नु’ भनेर जनाइन्छ। जस्तै, देउसी-भैलो खेल्नु, देउडा खेल्नु आदि। नृत्यसँग निकट सम्बन्ध रहेको अर्को शब्द शिकार खेल्नु हो।
पाषाण युगमा मानिसलाई खानाका लागि शिकार गर्नुपर्थ्यो। समुदायका सबैलाई शिकार खेल्ने तरीका सिकाउन नृत्य वा नाट्यकलाको उपयोग गरी एक जना शिकार र अर्को शिकारी बनी अभिनय गरेर देखाउने क्रममा नाट्यकलाको विकास भएको लौकिक मान्यता छ। अझै पनि नेपालका केही समुदायमा शिकार खेल्न जाँदा नाचिने नाचहरूको अभ्यास भेटिन्छ। नृत्यका यी विविधतालाई समाजले खेल जसरी अभ्यास गरेर बचाइराखेको छ।
पूर्वीय शास्त्रमा प्रदर्शनकारी कला व्यवस्थापनको जिम्मा पाएका भरतमुनिले कलालाई त्यसका गुण र धर्मका आधारमा विभाजन र वर्गीकरण हेतु धर्मीको अवधारणा अघि सारेका छन्। सामान्य भाषामा धर्मी भन्नाले व्यक्तिले बोकेको धर्मलाई बुझाउँछ। भरतमुनिका अनुसार, नाट्य वा प्रदर्शनकारी कलालाई दुई किसिमले हेर्न सकिन्छ- लोकधर्मी र नाट्यधर्मी।
लोकधर्मी भन्नाले लोकजीवनसँग सीधै सम्बन्ध राख्ने प्राकृतिक तथा सरल अभिव्यक्तिहरू अनि नाट्यधर्मी भन्नाले सामान्य जनजीवनभन्दा अलग र ठूला देखिने रङ्गमञ्चीय अभिव्यक्तिलाई बुझिन्छ। लोकधर्मी कलाको धर्म लोकको जनजीवन दुरुस्त देखाउनु हो भने नाट्यधर्मी कलाले नाट्यका शिल्प र शैलीको प्रयोग गरी ‘लार्जर द्यान लाइफ’ स्वरूपमा कथा भन्ने अपेक्षा राख्छ।
नाचको पृथक्ता निर्धारणमा भौगोलिक अवस्था, जातीय पहिचान-रहनसहनको समेत भूमिका रहने भए पनि हाम्रा लोकनाचले प्रायः कथानक शैली बोकेका छन्।
नाट्यधर्मी कलाका आफ्नै नियम हुन्छन्। कलाकारलाई जे हो त्यसभन्दा अरू नै चिज सोच्ने, बनाउने र प्रस्तुत गर्ने स्वतन्त्रता यसमा हुन्छ। लोकधर्मी कलामा भने निश्चित नियम हुँदैन। त्यसैले यस्तो कला प्रदर्शनका बखत प्रदर्शनकारीहरूलाई आवश्यकता अनुसार परिस्थिति, संवाद र क्रियाकलापको आशुरचना गर्ने छूट हुन्छ।
यस आधारमा नेपालका अधिकांश लोकनाच लोकधर्मी कला अन्तर्गत पर्छन्। हाम्रा प्रायजसो मौलिक नाच लोक जनजीवनसँग सीधै सम्बन्ध राख्ने खालका छन्, निश्चित नियम वा शास्त्रमा बाँधिएका छैनन्। यद्यपि, हाम्रा केही परम्परागत नृत्यमा नाट्यधर्मी गुणको बाहुल्य पाइन्छ।
नाचको पृथक्ता निर्धारणमा भौगोलिक अवस्था, जातीय पहिचान-रहनसहनको समेत भूमिका रहने भए पनि हाम्रा लोकनाचले प्रायः कथानक शैली बोकेका छन्। उपत्यकाका रैथाने जात्रा हुन् वा सुदूर पहाडी मेलाहरू, आदिवासी-जनजातिका झाँकी, विभिन्न चाडपर्वमा देखाइने लीलाहरू, कथाहरू नाट्यात्मक शैलीमा पस्किइन्छन्। यस्ता नाचसँग जोडिएका लोककथनलाई नृत्य, गायन र वाद्य प्रयोग गरी प्रस्तुति दिइन्छ।
कुनै पनि समाजको इतिहास एस्थेटिक्स (सौन्दर्यमूल्य) र न्यारेटिभ्स (कथाहरू) मिलेर बनेको हुन्छ। हरेक समाजका मौलिक सौन्दर्यमूल्य हुन्छन् भने त्यहाँका फरक फरक भोगाइले त्यसै अनुसार कथा निर्माण गरिरहेका हुन्छन्। नेपालका सन्दर्भमा मौलिक लोकनाच नै यहाँका कथावाचनका बलिया आधार हुन् भन्न सकिन्छ। यिनको मौलिकता जोगाउनु जति जरुरी छ, बढ्दो विश्वव्यापीकरणमा यो उति चुनौतीमूलक छ। लोकनाच संवर्द्धनको क्षेत्रमा प्रश्नहरूको भुमरी छ।
नेपालमा मौलिक लोकनाच कति छन् भन्ने प्रश्नबाट अब हामी यी नाचमा मौलिकता कति बाँकी छ भन्ने प्रश्नमा आइपुगेका छौं। प्राचीन एवं व्यवहारोपयोगी ज्ञान हस्तान्तरण नहुँदा कतिपय समुदायबाट लोकनाच हराइसकेका छन्। प्रकृतिबाट संस्कृति हुँदै कला बन्ने बाटोमा आइपुग्दा कतिपय लोकनाचले मौलिकता गुमाउन थालेका छन्।
लोकनाचले शारीरिक भावभङ्गी मात्र बोल्दैन, जातिविशेषको भाषा, रहनसहन, संस्कार, संस्कृति, भूगोलसँगै उत्पीडन र उल्लासका कथा पनि भन्छ। एउटा नाच बाँच्दा आफूसँगै धेरै कुरा बचाउँछ। लोकनाचको अभ्यास र लिखित दस्तावेजीकरण यसको संवर्द्धनको एउटा उपाय हो।
यसका लागि कठोर परम्परागत मान्यतामा उभिएको समाज र कलासंस्कृतिप्रति अपुरो बुझाइ बोक्ने राज्य संरचनामा रूपान्तरण जरुरी छ। कलाकारहरूले पनि आफूले सिकेको आधुनिक ज्ञानको प्रयोग मौलिक संस्कृति बचाउनमा गर्नुपर्छ। सांस्कृतिक सहिष्णुताका लागि आफ्नो र अर्काको भन्ने भाष्यबाट अलग रहेर गुणस्तरीय नृत्य परम्पराको प्रवर्द्धन गर्न पनि उत्तिकै जरुरी छ।
(केसी पद्मकन्या बहुमुखी क्याम्पसमा नृत्य विषय पढाउँछिन् भने खनाल मण्डला थिएटरका सहसंस्थापक हुन्। हिमालको २०७९ असोज अङ्कबाट।)