चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।
सरकारले गरेको सिफारिश अनुसार, आगामी चुनावमा सेना परिचालन गर्न राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।
राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा ‘मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान’ गरिएको उल्लेख छ।
सरकारले आगामी चुनावमा सबै सुरक्षा निकाय परिचालन गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ बनाएको छ। त्यस अनुसार सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्को भदौ १७ गतेको बैठकले सिफारिश गरेको थियो।
त्यसका आधारमा गत भदौ २७ गतेको मन्त्रिपरिषद्को बैठकले सेना परिचालन गर्ने निर्णय गरेको थियो। त्यसका लागि राष्ट्रपतिबाट अनुमति लिन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा पत्र पठाएका थिए।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसीर ४ गते हुँदै छ।