नेपाली सङ्गीतको सम्मोहन
नेपाली सङ्गीतका जुहारी, दोहोरी, आधुनिक, गजल मात्र होइन, हिपहप लगायतका गायनमा यतिविघ्न समकालीन पुस्ताको झुकाव देखिनु अन्यथा होइन, मानिस-सङ्गीत साइनोको सिकन्जा हो।
कुनै चाडपर्वमा गाउँमा ढोल-झ्याम्टा बज्न थालेपछि सोइसोइला भाका स्वतः निस्किन्छ। ढोलको ढुमढुमले मन नाच्न र उफ्रिन थाल्छ- धामी, नाक्छोङ वा बिजुवा जस्तै। ती समाजका सांस्कृतिक प्रधानपात्र पनि हुन् जसले समाजसँग विलेपन भएका यावत् भाका, लय वा सङ्गीतलाई प्रदर्शन र पुस्तान्तरण गरिरहेका हुन्छन्।
ढोल-झ्याम्टाका धुन-ध्वनिको प्रभावकारिता निकै परसम्म पुग्ने गर्छ। सबै सजीव वस्तुलाई सङ्गीतले मीठो ‘आहत’, ‘आघात’ वा स्पर्श गर्छ। सङ्गीतमा शब्द रसायन भएपछि मर्माहत पनि हुने स्थिति आउँछ। गीत-सङ्गीतलाई आमोद-प्रमोद मात्र बुझियो भने गलत हुन सक्छ।
आम मानिसले बुझ्दा वादन, गायन र नर्तन नै सङ्गीत हो। भौतिक स्वरूपमा यस्तै देखिन्छ पनि। बाजाको ध्वनिले ध्यान तान्छ। गीत गाउन थालेपछि त्यसको गेडो र अर्थ खोज्नतर्फ लागिन्छ। बाजा र गीतसँग नाच जोडिन्छ। पूर्वीय सङ्गीतशास्त्री यी तीनै कुरालाई सङ्गीत भन्छन्।
ज्ञानीले ज्ञानार्जन अनि ध्यानीले ध्यान-साधनाका लागि सङ्गीतको उपयोग गर्दै आए। स्रष्टा-सर्जकादिले आत्मरञ्जनका लागि सङ्गीत सिर्जना गरे। सङ्गीतको खोज-अध्ययन भनेको इतिहास र समकाल क्रमिक रूपमा उत्खनन गरिने विषय हो। इतिहासले ज्ञानी बनाउँछ भने वर्तमानले सिर्जनशील। इतिहासमा ठूल्ठूला साङ्गीतिक सिर्जना र परिवर्तन भएका छन्। पाश्चात्यहरूले विकास गरेका अधिकांश सङ्गीत-रचना हिजोआज पनि उत्तिकै आकर्षक छन्। तिनका सङ्गीत सिर्जना अनुयायीहरूले अभ्यास गरिरहेकै छन्।
विश्वभर लोकसङ्गीत छ, किनकि विश्वभरि नै विभिन्न भाषा बोल्ने मानिस छन्। नेपाली परिवेशको लोकसङ्गीत आफ्नै शिल्पशैली र स्वादमा पाइन्छ। लोकसङ्गीतका विविध लय, भाका र बुनोट-बनावट लोकजीवनका अमूल्य उत्पादन हुन्। लोक भनेको ग्रामीण जनजीवन, गाउँबस्ती, भौतिक परिवेश वा समाज हो।
विश्वभरिका मानिस सबै एकै हुन् भने तापनि भोगाइ, भाषा र भाका भिन्न भिन्न छन्।
यही लोकबाट लोकसङ्गीतका लय-लर्का, भाका र तराना निस्किन्छन्। जो लोकलोरी-लय वा सङ्गीत नै हो। ती पुस्तान्तरणसँगै विकास भएर विशाल भूतलमा फिँजिएका हुन्। अर्थात्, सभ्यताको लामो अभ्यासले विकास गरेको हो, सङ्गीत। सङ्गीतको स्थिति वा जरा खोज्नुपर्दा वा उद्भव गवेषण गर्नुपर्दा यहींनिर घोत्लिनुपर्छ।
संसार सत्ता र शक्तिसँग जोडिन लालायित हुन्छ। सत्तामा पुग्ने लालसाले मान्छेले जीवन लिन्छ, दिन्छ। आखिर सत्तामा के मधु-मोह वा सम्मोहन हुन्छ? हो, त्यस्तै सम्मोहन सङ्गीतमा पनि हुन्छ जसले चराचर जगत्लाई नै प्रभावित पारेको हुन्छ। जो ध्वनि र श्रवण संवेदनसँग सम्बन्धित छ।
सङ्गीत स्वतन्त्र मनोभावसँग खेल्छ जसरी वनका चराचुरुङ्गी स्वतन्त्र, मग्न र उमङ्गशील हुन्छन्। कुनै गाछीभित्र बसेर कोइली निस्फिक्री गाउन सक्छ। खुँगी वा खोरभित्रै भए पनि भाले बास्न छोड्दैन। पहरामै बसेको हुचिल पनि हुहु-हुहु बोल्न छोड्दैन। सिलटिमुरकै रूखमा बसे पनि ढुकुर कुर्लिन छोड्दैन। विनको लयात्मक धुनध्वनि सुनेर विषालु सर्पले पनि फणा उठाउँछ। यतैकतैबाट प्राकृतिक ब्याले निष्पत्ति हुन्छ।
कुनै पनि जीवले आवाज दिनु वा मान्छेले गीत गाउनु उसको स्वेच्छा हो। यससँगै प्राकृतिक परिवेशलाई आफ्नो अस्तित्व वा पहिचान पराभूत गराउने प्रचेष्टा पनि हो। झट्ट हेर्दा काग र कोइली उस्तै उस्तै लाग्न सक्छन्। तर, आवाज, स्वभाव वा चरित्र पृथक् भेटिन्छ। विश्वभरिका मानिस सबै एकै हुन् भने तापनि भोगाइ, भाषा र भाका भिन्न भिन्न छन्। गीत, सङ्गीत फरक छन्। सङ्गीतको भूगोल फरक फरक छ।
सङ्गीतको खास सत्ताकर्षण मूर्च्छना होे। मूर्च्छना जीवनसँग आरोह-अवरोह गरिरहन्छ। त्यसैले सङ्गीतको सत्ता सदाबहार हुन्छ। मूर्च्छना त्यो मधुर ध्वनि हो जसले मान्छेका अन्तरङ्ग भाव, अवयवलाई प्रतिध्वनित गरिदिन्छ। अन्तर्दृष्टिलाई उजिल्याउँछ। त्यस अर्थमा सङ्गीतको आफ्नै संसार हुन्छ। निश्चित स्थान, युग वा समय हुँदाहुँदै फैलिएर सीमा बाहिर पुग्छ। नत्र किन मान्छेले आकाशका तीन तारा वा घाम-जूनको गीत गाउँथ्यो होला? सङ्गीतको पूर्वाङ्ग र उत्तराङ्ग याम-आयाम चलिरहन्छ, जीवन जस्तै।
विश्वव्यापी हुँदाहुँदै पनि रूपान्तरित भई देश अनि परदेश छुन्छ। कुना-कन्दरा, खोंचबाट प्राकृतिक रूपमा सङ्गीत आविर्भाव हुन्छ। भौतिक परिवेशमा उचालिन्छ र तिरोभावमा आइपुग्छ। सङ्गीतको बिन्दु र व्यापकता बुझ्न सङ्गीतकै योग, प्रयोग अनि संयोग बुझ्नु जरुरी हुन्छ। निर्जन बस्तीमा सङ्गीत बेलगाम स्वचालित हुन्छ। सघन बस्तीमा सङ्गीत मानवद्वारा परिचालित र प्रयुक्त हुन्छ। किनकि, त्यहाँ भोक्ता र उत्पादक सँगै हुन्छन्।
सङ्गीतको योग शास्त्र, विधि र साधना हो भने प्रयोग प्रस्तुति, प्रदर्शनी र पेशा हो। त्यसैले इच्छा वा रहर-लहडले सङ्गीतको सत्ताप्राप्तिका लागि विश्वमा राजादेखि रङ्कसम्म होमिए। त्यही कारण रोम, निरो र बाँसुरीको मिथकले व्यापकता पायो। हामीले आजसम्म गाइरहेका आफ्ना कर्खा, चाचरी, भैनी, भडेनी गीत, पुतला, रोइला वा भुवा, पैकेलो गीत अथवा रामदल, बालन, सँगिनी, गोठाले, होरी, हाकपारे सबै हाम्रा जीवनचक्रसँग बाँधिएर विकास भएका खाँटी नेपाली गीत हुन्। जसको उत्पादन र उपयोग हामीसँगै रह्यो। मान्छेका भोगाइ र दिनचर्यासँग सङ्गीत आबद्ध छ।
बुद्धकालीन हिम वा जाम्स, उत्तरकिरात वा लिच्छविकालीन वादित्रगोष्ठी, परक्षमण्डली, ध्वजगोष्ठी हुँदै आएका मल्लकालीन खलः, खेल, दबु-डबली, प्याँख आदि सङ्गीतका सत्ता र शक्तिका एकाङ्गी उत्कीर्ण हुन्। यिनलाई तत्कालीन सत्ताधारी सम्राट्, रजौटा वा शासकादिले शौखका रूपमा प्रचलनमा ल्याए। महाराज वा शासकादि स्वयंले गायक, वादक वा रचनाकार हुने उत्कट अभिलाषा पाल्नु साङ्गीतिक सत्ता-शक्तिकै नमूना थियो। आफूलाई अब्बल सावित गर्न सङ्गीतशास्त्रलाई लिस्नो बनाएका यावत् प्राच्य कथन आज पनि छन्। कतिपयले सङ्गीतको उपाधि समेत स्वयं धारण गर्नुले यसको जनमन आकर्षण जान्न सकिन्छ।
जातिवादमा लपेटिएको विश्वलाई सङ्गीतले एक हदसम्म दाँते वा फ्याउरी लाउने सुकार्य गरेकै छ।
परिवर्तनका लागि गरिएका अनेक आन्दोलनमा प्रयुक्त गीत-सङ्गीत अनि गायन-वादनका हिसाबले पनि सङ्गीतको शक्ति र सामर्थ्यलाई स्वीकार गरिँदै आएको छ। शुक्रराज शास्त्रीको रचना ‘न घरलाई घर कहिन्छ’ लाई ‘डिस्क रेकर्ड’ मार्फत जनजिब्रोमा ल्याएपछि मेलवादेवी सत्तापलटको आरोपमा दरबारको कोपभाजनमा परिन् भन्ने भनाइ पनि छ। मानिस जब स्वतन्त्र महसूस गर्छ तब कुनै रचनात्मक कलातर्फ मोडिन्छ। त्यो सङ्गीतकला होस्, चित्रकला, मूर्तिकला वा पौभाकला। साहित्य, सङ्गीत र कला स्वतन्त्र मनोदशाबाट निर्देशित हुन्छन्।
सङ्गीत निरपेक्ष देखिन्छ, विद्रोहसँग। तर, सापेक्ष भएर पनि बढेकै छ। विश्वमा उन्मुक्तिका गीत थुप्रै गाइए। तर, यसका धेय र ध्यान पृथक् पृथक् थिए। कुनै अनुष्ठान वा प्रार्थना, भक्ति-भजनादि र स्तुति गायन साथै प्रेम, प्रणय वा प्रेमिल गायनको प्रवाह सघन रूपमा प्रदर्शित भयो। गायनमा नारीस्वरले स्थान पाउँदै नरनारी युगल गायनको विकास भयो। ‘कान्छाले कान्छीलाई लग्यो वनको बाटो लालटिन बालेर’ गीतको युग नेपाली सङ्गीतको विकासको आरम्भ हो।
काव्यमा मात्र प्रकाशित रचनादि गायन गलामा आइपुग्नाले सङ्गीतको बढोत्तरी भयो। काव्यकार र गायक जोडिन पुगे। जसले अर्को क्षितिज खोल्यो, समाज सिर्जनात्मक फन्कोमा बाँधियो। एकले अर्काको रचनालाई स्वीकार गर्यो। त्यसैले समाज सभ्यताको अर्को चरणमा उभियो। विभिन्न उमेर समूह, थरीथरी मान्छेबीच वा वर्गीय विभाजनमा सङ्गीत योजक बन्यो।
गीत गाउनुको मनोविज्ञान वा अर्थ भिन्न हुन सक्ला। तर, लोकलयले सरल र सरस ढङ्गले अर्थ्याएको छ, ‘आकाशै गर्छ लौ धाम्मधुम्म झारपातमा पर्छ शीत, जसको मनमा विरह चल्छ उसैले गाउँछ गीत।’ विरह चलेपछि मान्छेले आफ्ना दमित भावना पोख्न गीत वा गायनको सहारा लियो। आत्मतुष्टिका लागि पनि मान्छेले गीत गाउँदै आयो। आफूभित्रका अजस्र गुम्फनादि गीत गाएर पोख्यो। गीत नगाएको वा गीत नभएको भए उसले आफ्ना कुण्ठाको अभिव्यक्ति कसरी गर्थ्यो होला?
साङ्गीतिक अभियानबाट विश्वका अनेक मुलुकमा उलटपुलट आएका छन्। नेपालको हकमा पनि सिर्जनशील र जागरणका साङ्गीतिक सुकर्म सिर्जना भए। विभिन्न समूह, ब्यान्ड वा साङ्गीतिक समाजका स्थापना, गठन र प्रस्तुतिले यही स्पष्ट पार्छ। गीत-सङ्गीत सिर्जनामा कवि-साहित्यकार, सम्राट्, शासक, प्रशासक, उद्योगी, समाजसेवी, किसान, मजदूर, विद्यार्थी, सीमान्तीकृत हली-गोठाला, ढाक्रे समेतको आकर्षण रहनु सङ्गीतको सत्ता र शक्ति हुनु नै हो। सम्मोहन रहनु नै हो। हास्य र व्यङ्ग्य पुष्टित गीतका व्यञ्जनादि प्रहेलिका त्यसैले सिर्जना भए।
सङ्गीत ऋतु भएर बोलिरहेको हुन्छ। प्रादेशिक वा जातिगत भएर नाचिरहेको हुन्छ। त्यसैभित्र संस्कार, संस्कृति र परम्परा प्रचलित हुन्छन्। सङ्गीतले रूप-स्वरूप फेर्छ, नत्र शास्त्रीय, आधुनिक वा लोक भनेर वर्ग छुट्याइन्नथ्यो। वास्तवमा सङ्गीतले जातीय वा उमेर समूहको विभेदको अन्त्य गरेको छ। जातिवादमा लपेटिएको विश्वलाई सङ्गीतले एक हदसम्म दाँते वा फ्याउरी लाउने सुकार्य गरेकै छ। हिजो दलित भनी अपहेलित जाति-वर्गले बजाएको सहनाई वा सारङ्गीको सुमधुर धुन उच्च वा अभिजात भनिएका कानले मीठो मानेकै देखिन्छ।
विद्यापतिदेखि सेतुरामसम्म, अम्बर गुरुङदेखि झलकमानसम्म, नारायणगोपालदेखि रामेशसम्म अथवा रानुदेवीदेखि रुविन गन्धर्वसम्मका गायन-गीतलाई हामीले हार्दिक रूपमा लिएकै छौं। सङ्गीतको शक्ति, सत्ता र सत्यलाई आजले बुझेको छ। विश्वमा कहलिएका बिटल्स, बोनियम, अब्बा हुन् या नेपालमै फलेफुलेका द पाखे, राल्फाली, लेकाली, सङ्कल्प, नेपथ्य, यी सबै सङ्गीत घरानालाई समाजले समाजबाट समाजकै लागि अनुष्ठित गरिदिएको छ।
समाजका हरेक पक्ष, विपक्ष वा समर्थक चेतन-मनले मिहिन मनन गरेकै छन्। सङ्गीतमा मीठो समता, समभाव अनि आकर्षण छ। त्यसैले आजको अपरिहार्य विधा-विषय सङ्गीत हो। जो साधु-सन्त, ज्ञानी-ध्यानी वा गायक-गवेषकका लागि मात्र नभएर आम मानिसको रोजाइ बन्न सकेको छ।
नेपाली सङ्गीतको मूलमेसोमा समकालीन पुस्ता गजल, र्याप, हिपहप वा सुफी-कब्बाली सङ्गीत तथा गायनमा यतिविघ्न सुरकर्मीको झुकाव रहनु अनौठो होइन। जुहारी, दोहोरी दलहरू बग्रेल्ती देखिनु मान्छे र सङ्गीत साइनोको सिकन्जा हो। स्वरोजगारका लागि विश्वभर पुगेका नेपाली निकै लामो समय परिवारबाट छुटेर बस्नुपर्दा एकाकीपनले धेरै नै चिथोर्छ। त्यति वेला बालापनकै बखतदेखि सुनेका सुरिला स्वर अनि लय-भाका सुन्न लालायित (नोस्टाजिक) हुन्छन्।
त्यही लालसाले नेपाली गीत र गवैयाहरू विश्व भ्रमणमा पाइला राख्न सफल भएका छन्। नेपाली गीत-सङ्गीत अरब, मलेशिया, अमेरिका, जापान वा बेलायत, सिंगापुर, अस्ट्रेलिया, यूरोपतिर खोजिने वा माग बढ्ने यही मुख्य कारण हो। सङ्गीत र साहित्यको डायस्पोरिक विवेचना यसैले भइरहेको छ।
परदेशमा श्रम गरेर नेपाली सङ्गीतलाई टेवा पुर्याइरहेका श्रमजीवी नेपाली र सङ्गीतका सन्दर्भमा प्राज्ञिक बहस जरुरी छ। व्यावसायिक विस्तृतीकरण वा पेशा/आजीविका उन्मुख भएको नेपाली सङ्गीततर्फ फराकिलो चक्षु खोलिनु अत्यावश्यक भइसक्यो। नेपाली सङ्गीत प्राज्ञिक भएन भन्ने आरोप-प्रत्यारोप सङ्गीत क्षेत्रले लामो समयदेखि खेप्दै आएको हो। तर, त्यसको लिखित खण्डनमण्डन हुन सकेन। नेपाली सङ्गीतका प्राध्यापक-अध्यापक साथै सङ्गीत प्रवीण विज्ञादि सुनसान छन्।
वास्तविकता, आज अग्रज र अनुज पुस्तामा सङ्गीतको सेतु भनेको ‘कभर’, ‘रिमेक’ वा ‘रिमिक्स’ बन्न थालेको छ। कमाइधमाइ हुन थालेपछि कल-झगडा पनि हुन थालेको छ। सुरकर्मीहरू असहिष्णु बन्दै गइरहेछन्। हिजो अग्रजको हौसलामा अनुज अघि बढ्थ्यो भने आज सङ्गीतको समय ठीक उल्टो हुँदै छ। गीत-सङ्गीत, निजी सिर्जना वा रचनाको अपचलन गरिनुले मूल स्रष्टा मारमा छन्।
स्रष्टा वा सङ्गीत एउटा युगले एकपल्ट जन्माउने कुरा हो। मनोनयन गरेर कुनै व्यक्ति न्यायाधीश हुन सक्छ, राजदूत हुन सक्छ, मन्त्री-माननीय हुन सक्छ, तर कुनै स्रष्टा-सर्जक हुन सक्दैन। त्यसैले जन्म र मृत्युबीचको सेतु हो, सङ्गीत। शोक र खुशी समेतलाई गाँस्ने फूलको माला हो, सङ्गीत।
(मुकारुङ सङ्गीतकार एवं सङ्गीत अध्येता हुन्। हिमालको २०७९ असोज अंकबाट।)