हिजाब विरुद्धको आन्दोलनमा इरानमा ५० जनाको मृत्यु
इरानमा हिजाब विरुद्ध चलिरहेको आन्दोलनका क्रममा ५० जनाको मृत्यु भएको छ।
पूरै टाउको ढाक्ने गरी हिजाब नलगाएको आरोपमा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको गत भदौ ३१ गते प्रहरी हिरासतमा मृत्यु भएको थियो। अमिनीले हिजाबको नियम तोडेको प्रहरीको आरोप थियो।
प्रहरी हिरासतमा मृत्यु भएकी महसा अमिनी।
उनलाई पक्राउ गर्दा पटक पटक टाउकोमा हानेका तथा प्रहरीको गाडीमा समेत टाउको ठोक्काएका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानी प्रहरीले भने यसलाई अस्वीकार गरेको छ।
उनको मृत्युपछि इरानमा हिजाब जलाउँदै प्रदर्शन शुरू भएको छ। प्रदर्शनका क्रममा आइतबारसम्म कम्तीमा ५० जनाको मृत्यु भएको इरानका अधिकारीहरूलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
हिजाब फालेर प्रदर्शनमा इरानी युवती।
इरानका राष्ट्रपति इब्राहिम राइसीले प्रदर्शनमा सहभागीलाई कडा कारबाही गर्न आदेश दिएका छन्। राष्ट्रपति राइसीले यस घटनाको विस्तृत अनुसन्धान गर्ने बताएका छन्।
यो घटनापछि इरानका ८० भन्दा बढी शहरमा व्यापक विरोध भइरहेको छ। विशेष गरी महिलाको सहभागिता रहेको छ। कैयौंले विरोध जनाउन हिजाब निकालेर प्रदर्शन गरिरहेका छन्।
युवतीको मृत्युपछि राष्ट्रपतिको विरोधमा उत्रिएका इरानी।
बीबीसीका अनुसार, गुइलान प्रान्तमा मात्र प्रहरीले ७३९ जनालाई पक्राउ गरेको छ, जसमा ६० जना महिला छन्। पक्राउ परेकालाई निर्घात कुटपिट गर्ने, सानो कोठामा कोच्याएर राख्ने, खाना, पानी तथा शौचालयको सुविधा पनि नदिएको जनाइएको छ।
त्यस्तै, समाचार संकलन गर्न गएका पत्रकारलाई पनि इरानी सरकारले पक्राउ गर्न थालेको छ। अहिलेसम्म ११ जना पत्रकार पक्राउ परेका छन्।