मार्फाको मुस्कान
मुस्ताङको मार्फा गाउँ (२,६८० मिटर) भन्नासाथ स्याउ उत्पादनका लागि प्रख्यात छ । तर, थकाली समुदायको मूल थलो थाक खोलाको मौलिक वास्तुकला देख्न पाइने यो ठाउँ पर्यटकीय गन्तव्य पनि हो।
बाह्य पर्यटकमाझ प्रिय अन्नपूर्ण र धौलागिरि पदमार्गका यात्री तथा मुस्ताङ घुम्न जानेहरू मुक्तिनाथ, कागबेनीसँगै थकाली समुदायको यो गाउँमा रमाउँछन् ।
वरिपरि पहाडले घेरिएको सुन्दर बस्ती मार्फाको विशेषता हो, चौडा छत भएका गुजमुज्ज घरहरू । मरुभूमि जस्तै पाखाको बीचमा रहेको बस्तीलाई स्याउको घना बगैंचाले सजाएको छ । गाउँको सबैभन्दा अग्लो स्थानमा सम्तेन छोलिङ गुम्बा छ, जुन मार्फावासीको आस्थाको धरोहर मानिन्छ ।
आन्तरिक पर्यटकको रोजाइमा पर्ने मुक्तिनाथ जाने बाटोमै पर्छ, मार्फा । तर, यहाँ त्यति धेरै पर्यटक पुग्दैनन् । मुक्तिनाथ जाने सडक गाउँभन्दा केही तलै रहेकाले यस्तो भएको मुस्ताङका पर्यटन व्यवसायी सुरज गुरुङ बताउँछन् ।
मार्फामा उत्पादित स्याउको स्वाद देशभित्र मात्र सीमित छैन । यहाँको स्याउबाट उत्पादित ‘मार्फा’ ब्राण्डको ब्राण्डी र वाइन विदेशमा प्रख्यात छ ।
कसरी पुग्ने ?
पोखराबाट मार्फा जान बसमा १० घण्टा लाग्छ । विमानमा जाँदा पोखराबाट जोमसोम विमानस्थल र त्यहाँबाट सवारी साधनमा २० मिनेटमा मार्फा पुगिन्छ । यहाँ पर्यटकका लागि सुविधायुक्त होटल र रेस्टुरेन्ट छन् । मार्फाबाट करीब डेढ घण्टाको ‘ड्राइभ’ मा कागबेनी पुगिन्छ भने कागबेनीबाट मुक्तिनाथ जान एक घण्टा लाग्छ ।
मार्फालाई सडक संजालले छोएलगत्तै आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको हो । तर, जति आन्तरिक पर्यटक मार्फामा पुग्नुपर्ने हो त्यति पुग्न सकेका छैनन् । यसको प्रमुख कारण पोखरा–मुक्तिनाथको सडक मार्फा गाउँभन्दा केही तल भएर जाने भएकाले हो ।
सामान्यतया गन्तव्यभन्दा अन्यत्र के छ भनेर पूर्व जानकारी नलिएर गन्तव्यस्थल जाने आन्तरिक पर्यटकको बाहुल्य रहेकाले पनि मार्फा आन्तरिक पर्यटकका लागि ओझेलमा परेको हो । तर, बाह्य पर्यटकका लागि भने मार्फा निकै प्रख्यात छ ।
मुक्तिनाथ जाने पर्यटक मार्फा बसेर जाँदा राम्रो हुन्छ । किनभने कहिलेकाहीँ मुक्तिनाथमा अत्यधिक आन्तरिक तथा भारतीय पर्यटकले भरिभराउ हुँदा बास बस्न समेत मुस्किल हुन्छ यसको वैकल्पिक उपाय मार्फा हुन सक्छ ।
यसैगरी जोमसोममा कहिलेकाहीँ मौसम प्रतिकूल हुँदा मार्फा घुम्न पनि सकिन्छ । आन्तरिक पर्यटक सामान्यतया सुनेका गन्तव्यहरूमा जाने गर्दछन् । यसकारण पनि मार्फा अलि ओझेलमा परेको हो । मार्फा वाइनको ब्रान्डीमा विश्वभर प्रख्यात भए पनि नेपालमा त्यति प्रख्यात छैन ।
यही कुरालाई मध्यनजर गर्दै पोखरादेखि माथिल्लो मुस्ताडसम्म पुग्दा कहाकहाँ कस्ताखालका पर्यटकीय स्थल छन् भन्ने जानकारी दिन विभिन्न स्थानमा सूचनामूलक बोर्डलाई अझ ब्यापक रूपमा राख्ने सोच बनाएका छाैं ।