कानूनी साहित्यको झल्को
नेपाली साहित्यलाई प्रवर्द्धन गर्ने कानून विषयका पुस्तकको चर्चा गर्दा १९७७ सालमा प्रकाशित औंठाको सहीछाप विषयको व्यवहार अग्रपंक्तिमा आउँछ। यसका लेखक मास्टर हरिगोपाल बेनर्जी र खरिदार अमृतनाथ उपाध्याय हुन्।
माथिको भोगबन्धी तमसुक भानुभक्त आचार्यको सुन्दर लिपिमा १९१७ सालमा लेखिएको हो। नरनाथ आचार्यद्वारा लिखित भानुभक्त आचार्यको सच्चा जीवन चरित्र पुस्तकमा समाविष्ट यो लिखत नेपाली कानूनी साहित्यको एउटा मानक हो। नेपाली भाषा प्रयोग भएका कारणले मात्र तमसुकको महत्त्व रहेको होइन, भाषा त आज पूरै परिमार्जित भइसकेकै छ। यो विकासक्रम र यसले नेपाली साहित्यलाई दिएको योगदान महत्त्वपूर्ण हो।
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप रहञ्छन् न बोली
बोल्छन् ता ख्याल गर्या झैं अनिपछि दिन्दिन् भन्दछन् भोलिभोली।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भञ्छन् इ भोली
भोलीभोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली।।
आदिकविको यो कवितांश साहित्य त हो नै, न्यायको ढिलाइप्रति चोटिलो प्रहार हो, अनि अदालतका कर्मचारीको अकर्मण्यताप्रति व्यङ्ग्यवाण पनि। यसरी साहित्य कानूनी भाषाबाट निरपेक्ष छैन र कानूनी भाषा पनि साहित्यबाट विमुख छैन।
पहिले कानूनी भाषा कसैले नबुझ्ने, आदिबाट अन्त्यसम्म एउटै वाक्य र अत्यन्त लम्बेतान हुन्थ्यो। चौबीस हातको फिरादमा अट्ठाइस हात लामो प्रत्युत्तर लेख्न सके अब्बल अदालती कहलाइन्थ्यो। मड्या (नेपाली) कागजमा पाना टाँस्दै बेरेर मुठा बनाइन्थ्यो। पाना टाँस्ने कार्यलाई बन्द गाँस्ने भनिन्थ्यो। यी कुरा आज इतिहासका रोचक सामग्री बनेका छन्। कानूनी भाषामा आएको यो विकासको लामो शृङ्खला छ र यसमा धेरै व्यक्तिको योगदान छ।
भोजपत्र, ताडपत्र, शिलालेख, ताम्रपत्र, कपडा र पछि मड्या कागजमा सनद, सवाल, बन्दोबस्त, बन्देज, इस्तिहार र रुक्काका रूपमा कानूनरूपी आदेश अङ्कित हुने इतिहास लामो छ। तर, तिनमा वर्णनात्मक कम, आदेशात्मक भाषा बढी हुन्थ्यो। अहिलेसम्मको खोजीमा पहिलो वर्णनात्मक कानूनी पुस्तक आजभन्दा २०० वर्ष अगाडि १८७९ चैत्र बदि १ मा प्रकाशन भएको फेला परेको छ।
भीमसेन थापाका भतिजा पाल्पाका कर्णेल उजीरसिंह थापाले लेखाएको यस पुस्तकलाई उजीरसिंह थापाले बाँधेको बन्देज नाम दिइएको छ। लेखकको नाम नरहेको, जङ्गी तथा निजामती कर्मचारीलाई सेवा प्रवेश तथा सेवाकालीन तालीम दिन तयार पारिएको यस पुस्तकमा ६ परिच्छेद छन्। चौथो, पाँचौं र छैटौं परिच्छेद कानूनसँग प्रत्यक्ष रूपमै सम्बद्ध छन्। राष्ट्रिय अभिलेखालयमा लगत नं २/३०७ मा आज पनि सुरक्षित यस पुस्तकको आरम्भमा भनिएको छ–
यो किताप नञा भारादार हुद्दा सिपाहि गैरह जङ्गी अदालथि गैरह इलममा रहन्या औ मनसुवा गन्र्यालाई तालिम गर्न श्री कर्णेल उजीरसिंह थापाले तजबिज गरी आफूले पनि कवायत गैरह जो काम लेषियाको छ सो अनुभव गरी काम लागन्या कुरा ठहराई तयार गर्याको किताब लेषिन्छ सम्वत् १८७९ चैत्र वदि १ रोज मुकाम पाल्पा श्री नगर ...।
यसपछि १९२७ सालमा अर्को कानून पुस्तक प्रकाशित भयो। यो १९१० सालमा जारी जङ्गबहादुर राणाको अगुवाइमा बनेको मुलुकी ऐन थियो। यसलाई वर्णनात्मक पुस्तक भन्न मिल्दैन। तर, यस ऐनको केही नम्बर (दफा) वर्णनात्मक नै छन्, त्यसैले यिनले साहित्यिक रुझान राख्दछन्। उदाहरणका लागि यस ऐनको दत्त गुठीको १ नं. मा ‘अब गुठी राख्दा आफ्नै मुलुकमा राख्ने’ व्यवस्था गर्नाका कारण पनि दिइएको छ। बनारस र केदारमा रंगनाथ पण्डित र रणबहादुर शाहले राखेका गुठी अंग्रेज सरकारले मासेछ। यहाँबाट आपत्ति जनाइँदा, ‘तम्रा मुलुकको जमीन. तम्रो षुसहुन्छ. हाम्रा मुलुकको जमीन् हाम्रो षुस’ भनी लेखिआएको भनिएको छ। दुई पृष्ठ लामो यस कानूनी व्यवस्थामा वर्णनात्मक शैली अपनाइएको छ। यस्ता लामा कारण सहितका व्यवस्था निकै भए पनि यो पुस्तक विशुद्ध कानून हो।
कमान्डर–इन–चीफ रणोद्दीप सिंहको ‘मर्जि मोतावीक’ यो पुस्तक नेपालमै छापिएको मानिएको छ। करीब एक हजार ३०० पृष्ठको पुस्तकको पहिलो पृष्ठमै पु्रफरिडर र कम्पोजिटरलाई क्रमशः ‘शोधित सन’ र ‘अक्षर विन्यासी’ को संज्ञा दिइएको कुरा भने रोचक छ।
नेपाली साहित्यलाई प्रवर्द्धन गर्ने कानून विषयका पुस्तकको चर्चा गर्दा १९७७ सालमा प्रकाशित औंठाको सहीछाप विषयको व्यवहार अग्रपंक्तिमा आउँछ। यसका लेखक मास्टर हरिगोपाल बेनर्जी र खरिदार अमृतनाथ उपाध्याय हुन्। ३७ पृष्ठको पुस्तकमा प्रयुक्त ठेट नेपाली शब्दले कानूनी मात्र होइन, साहित्य भण्डारलाई पनि भरिलो बनाएका छन्। यस पुस्तकमा अंग्रेजीको ‘आइग्लास’ लाई ‘सूर्यमुखी ऐना’ भनिएको छ। यसै गरी औंला र हातका रेखाको प्रकृतिलाई ‘घँटाकार चिन्ह’, ‘पर्वताकार चिन्ह’, ‘पाशाकार चिन्ह’ र ‘बामपास’ जस्ता ठेट नेपाली शब्द दिइएको छ। यसै पुस्तकको एउटा अनुच्छेदबाट साभार निम्न अंशले नेपाली भाषाको उत्कृष्ट प्रयोगको नमूना प्रस्तुत गर्दछ–
कही केही वार्दात भएकोमा सो वार्दात गर्ने मानिसको औंलाको छाप कहीं लागेको छ कि भन्ने जान्न जानेले राम्रो खोजी गर्नुपर्दछ, सो खोजी गर्दा कहीं अैनामा धुलो लागेकोले अथवा गुँदहरू टाँसिएको ठाउँ अथवा रगत भएको ठाउँ अथवा रगत हातमा लागी कहीं भित्तामा ... समाउनाले हातको रेखा बस्ने हुनाले ... त्यो रेखाबाट अपराध गर्ने भनि वात लागेको मानिस हो होइन जान्नालाई सजिलो हुने हुन्छ ...।
नेपालमा परम्परागत रूपमा गुरुकुल शिक्षा पद्धति चलिआएको थियो। १९१० असोज २७ मा स्थापित दरबार हाइस्कूलले भारतमा अंग्रेजद्वारा स्थापित शिक्षा प्रणाली यहाँ पनि भित्र्यायो। १९६२ सालमा स्रेस्ता पाठशाला स्थापना भयो। १९६१ सालदेखि नै कर्मचारी भर्ना प्रयोजनका लागि ‘पास’ प्रणाली अङ्गीकार गरिसकिएको थियो। तर, पाठ्यपुस्तक थिएनन्। संस्कृत, हिन्दी, अंग्रेजी समेत कुन भाषामा पाठ्यपुस्तक लेखाउने बहस चल्यो। जयपृथ्वीबहादुर सिंहका जोडबलले ‘गोरखा’ भाषा छानियो। १९७० फागुन २ मा गोरखा भाषा प्रकाशिनी समिति स्थापना भयो। यसको जिम्मेवारी सुब्बा पण्डित राममणि आदीले पाए। यस समितिले १९७८ देखि १९८५ सम्म गोरखा अदालती शिक्षातर्फ चार र गोरखा स्रेस्ता शिक्षातर्फ आठ भाग पुस्तक प्रकाशित गर्यो। स्रेस्ता शिक्षातर्फको चौथो भाग दुई खण्ड भएबाट कुल १३ पुस्तकले कानूनी साहित्यको श्रीवृद्धिका लागि जुन भूमिका खेले त्यो अविस्मरणीय छ। पुस्तक लेखकहरूको नाम उल्लेख नभए पनि सम्पादक राममणि आदीको योगदान बिर्सन मिल्दैन।
नेपालमा जरा गाडेर बसेको करिया (दास) प्रथा उन्मूलन गर्न चन्द्रशमशेरद्वारा १९८१ सालमा गरिएको भाषण पुस्तकका रूपमा वितरण गरियो। यो ८० पृष्ठको पुस्तक १९८१ मंसीर १४ गते शुक्रबार टुँडिखेल खरीको बोटमा ‘स्पीच’ गर्नु पहिले नै मुम्बईबाट छापेर ल्याइएको थियो। यस पुस्तकको अन्तिम आवरण पृष्ठमा छापिएको व्यहोरा रोचक छ–
यह पुस्तक लक्ष्मी आर्ट प्रिटिंग वर्कस सांकली स्ट्रीट भायखला, मुंबई नं. ८ मां बामन रामशंकर मास्टर इन्हें छापा और सु. राममणि आदीमार्फत शान्तिनिकेतन काठमांडूमां प्रकाश गरीयो.
हिन्दी मिश्रित नेपालीमा मुद्रक र प्रकाशकका विषयमा छापिए पनि दास (करिया) प्रथा उन्मूलन गर्न जनताको समर्थन माग्न लेखिएका विषयवस्तुले साहित्यिक उच्च मर्यादा कायम गरेका छन्। धार्मिक, आर्थिक, सामाजिक, पारिवारिक, विदेशका अनुभव, सर्वेक्षण र मानवीय दृष्टिकोणले करिया प्रथा हटाउनैपर्ने कुरामा लोकसम्मति आह्वान गरिएको छ। यसमा सत्य घटना, पौराणिक कथा र तथ्याङ्क समेतको सुन्दर समायोजन छ।
गोरखा भाषा प्रकाशिनी समितिको नाम जुद्धशमशेरले नेपाली भाषा प्रकाशन समितिका रूपमा परिवर्तन गरे। जुद्धशमशेरले गरिबक्सेको न्याय विभागका सुधारका दिग्दर्शन २००१ सालमा प्रकाशित भयो। उपन्यासकार टुकराज र पद्मराज दाजुभाइबाट लेखिएको यो पुस्तक पनि महत्त्वपूर्ण छ।
पुस्तककै कुरा गर्दा १९५८ सालमा ‘नेवार जातका’ व्यक्तिहरूले व्यवहार गर्दा गर्न पाउने खर्चको हद तोकिएको इस्तिहारको उल्लेख गर्नुपर्ने हुन्छ। तर, यो विश्लेषणात्मक नभई निर्देशनात्मक बाध्यकारी कानून हो। १८३१ माघ १ मा पृथ्वीनारायण शाहको निधन हुनुभन्दा केही अघिको, पछिबाट दिव्योपदेश नाम दिइएको आलेखको कानूनी साहित्यको विकासमा ठूलो योगदान छ।
यिनै कानून विषयका पुस्तकले नै नेपाली भाषामा सुधार गर्दै आए। राममणि आदी र बालकृष्ण सम जस्ता गोरखा (नेपाली) भाषा प्रकाशन समितिका सम्पादकहरूबाट कानूनी नेपाली भाषाको विकासमा ठोस योगदान रह्यो। त्यस समितिमा आबद्ध लेखकहरू चक्रपाणि चालिसे, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरे जस्ता साहित्यकारको छत्रछायामा कानूनी भाषाले पनि साहित्यको लय समात्यो। यी पंक्तिका लेखकले आफ्नो आगामी पुस्तक ‘कानून र नेपाली साहित्य’ का लागि गरेको अध्ययनमा १८७९ देखि २०७९ साउनसम्ममा कानून सम्बन्धी पुस्तकका लेखकको संख्या १७० पुगिसकेको छ।
पुस्तकका अतिरिक्त लेखहरूले पनि भाषा–साहित्यलाई टेवा दिइरहेका हुन्छन्। अहिलेसम्मको अध्ययनमा, शारदा पत्रिकाको २००८ साल जेठ/असारको अङ्कमा प्रकाशित ‘नेपालमा न्याय मण्डलको पुनर्गठनः केही रचनात्मक सुझाव’ लेख नै कानून सम्बन्धी पहिलो लेख हो। यसका लेखक शम्भुप्रसाद ज्ञवाली हुनुहुन्छ। २०१५ फागुनदेखि सर्वोच्च अदालतबाट प्रकाशन भइआएको नेपाल कानून पत्रिकाको लेख खण्ड २०२७ सालसम्म जारी रह्यो। त्यसमा प्रकाशित पहिलो लेख दामोदरप्र्रसाद कयालको ‘न्याय र कानून’ हो जुन २०१५ चैत अङ्कमा छ। यस पत्रिकाले रेवतीरमण खनाल, शम्भुप्रसाद ज्ञवाली, लेखवीरसिंह बस्न्यात, लीलाबहादुर बस्नेत जस्ता लेखक जन्मायो।
२०२७ वैशाखदेखि नेपाल बार एशोसिएशनले प्रकाशन आरम्भ गरेको न्यायदूतले नेपाली कानूनी साहित्यमा गरेको योगदान महत्त्वपूर्ण छ। आरम्भमा यसले कुसुम श्रेष्ठ, गणेशराज शर्मा, मुकुन्द रेग्मी, लवदेव भट्ट र रेवतीरमण खनाल जस्ता लेखकको साथ पायो। यस पत्रिकाका शुरूआती अङ्कका सम्पादकीय अहिले पनि कानूनी साहित्यका मानक मानिन्छन्।
२०६० सालसम्म सरकारी र निजी क्षेत्रबाट प्रकाशित पत्रिकाहरूको संख्या ५० थियो। अहिले पनि २२ वटा पत्रिकाहरू प्रकाशित भइआएका छन्। यिनले कानूनी भाषा र साहित्यलाई बलियो टेवा दिइरहेका छन्।
नेपाली साहित्यलाई सिँगार्न कानूनविद्हरूले गरेको योगदान पनि अति बलियो छ। यिनमा पुष्करशमशेर, गुरुप्रसाद मैनाली, रामकृष्ण शर्मा, कृष्णप्रसाद चापागाईं, योगविक्रम राणा, अनंगमान प्रधान न्यायाधीश हुन्। श्यामजीप्रसाद अर्याल, वाणीविलास पाण्डे, केशवनाथ पौडेल, पद्मराज/टुकराज मिश्र अदालतका कर्मचारी हुन्। रूपनारायण सिंह, विनोदप्रसाद धिताल, लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, लोकेन्द्रबहादुर चन्द, मोहन दुखुन र दिनेश अधिकारी कानूनकर्मी तथा वकील समेत हुन्।
यहाँ कमल दीक्षितको बुइगल र जयदेव भट्टराईको साहित्यकार परिचय र अभिव्यक्ति पुस्तकमा उल्लिखितमध्येबाट साहित्यिक समाजमा पनि चिरपरिचित केही नाम टिपिएका मात्र हुन्। कानून पत्रिकाले २०६० सालमा गरेको अध्ययनमा कानूनविद् साहित्यकारको संख्या ९६ थियो। यीमध्ये शम्भुप्रसाद ज्ञवाली, डिल्लीराज आचार्य, विश्वराज पाण्डे, चन्द्रबहादुर कार्की, कृष्णप्रसाद बस्याल, राजेन्द्रकुमार आचार्य, शंकरकुमार श्रेष्ठ, निर्मला उप्रेती र रामेश्वर राउत लगायत ३७ जनाले त कम्तीमा एउटा साहित्यिक पुस्तक नै प्रकाशन गरेका छन्। (कानून ४१, २०६०, कात्तिक)
साहित्यकै एउटा हाँगा हो, कानूनी साहित्य। कानूनी क्षेत्रमा नेपाली भाषाको प्रचुर प्रयोग हुने गरेको छ। फिरादमा अन्यायको आर्तनाद प्रस्तुत हुन्छ भने पुनरावेदनमा खण्डनयुक्त आधारको बेलीविस्तार। रिट निवेदनमा मौलिक र कानूनी हक हननको नालीबेली हुन्छ भने निर्णयमा तथ्य र कानूनको तार्किक विवेचना। यी अभिव्यक्तिलाई शुद्ध साहित्य भन्न सकिन्न, कारण तिनमा कल्पना र सिर्जना हुँदैन। तर, तथ्यहरूको वर्णनात्मक प्रस्तुति साहित्यकै एउटा अंश अवश्य हो। आज सर्वोच्च अदालतका कुनै कुनै निर्णय पढ्दा यस्तै आभास हुन्छ।
दुई जना कानूनविद् त साहित्यतर्फ विशिष्ट मानिने मदन पुरस्कारबाट सम्मानित भइसकेका छन्। पूर्व कानून सचिव विनोदप्रसाद धितालले पौराणिक उपन्यास ग्रन्थ योजनगन्धा र रेवतीरमण खनालले कानूनी कृति नेपाली कानूनको ऐतिहासिक रूपरेखाका लागि मदन पुरस्कार पाएका थिए। यसरी कानूनी साहित्यले पनि मान्यता र सम्मान पायो। र, आज नेपाली कानूनी साहित्य दिनप्रतिदिन परिष्कृत हुने क्रममा छ।
(वस्ती सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन्। हिमालको २०७९ असोज अंकबाट।)