गजलकार रोदनको ‘मफलर’ सार्वजनिक
गजलकार प्रदीप रोदनको पहिलो गजलकृति मफलर सार्वजनिक भएको छ।
शनिबार काठमाडौंको प्रज्ञा-प्रतिष्ठान डबलीमा आयोजित कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरेका छन्।
पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार न्यौपानेले रोदनको यो कृति गजल मात्रै नभएर मन्त्रहरूको संग्रह जस्तै भएको बताए। उनले भने, “जीवनलाई मथेर निकालिएको नौनी हो, मफलर। खारिएका पवित्र वाक्य यसमा छन्।”
लेखक रोदनले गजल लेख्दा आफूले कैयौं पटक आफ्नै हृदय छामेको र सेरहरूको धड्कन महसूस गरेको जिकिर गरे। “केही नबन्दा अरू केही बन्दो रहेछ। यसरी सेरहरूको माया क्षेत्र हृदयको गहिराइसम्म पुग्यो र गजल बने। जहाँ गजल बनेनन्, त्यहाँ फर्दहरू बने,” उनले भने।
गोरखाको पालुङटार पाण्डेबेसीका रोदन शिक्षक हुन्। आफ्नै गाउँको सरकारी विद्यालयमा पठनपाठनपछि बचेको समयमा गजल लेख्छन्। यस पुस्तकमा १०८ वटा गजल समावेश छन्। यसलाई फाइनप्रिन्टले प्रकाशन गरेको हो।