पूर्व प्रधानमन्त्री ओलीका लागि एक घण्टा ढिलो गुड्यो रेल
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो गरेर जनकपुरबाट रेल गुडेको छ।
धनुषामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली रेलमा चढेर गएका हुन्। उनले तिनकौरिया चोकस्थित कार्यक्रमस्थलसम्म पुग्न जनकपुरधामस्थित रेल्वे प्लेटफर्मबाट महिनाथपुर स्टेशनसम्मको यात्रा गरेका छन्।
जनकपुरधामबाट जयनगरका लागि सधैं बिहान ११ बजे रेल गुड्ने गरेको छ। पूर्व प्रधानमन्त्री ओली चढ्न भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो मध्याह्न १२ बजे मात्रै रेल गुडेको हो।
अध्यक्ष ओली धनुषाको तिनकौरियामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन रेलबाटै जाने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो गुडाउनुपरेको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए। “पूर्व प्रधानमन्त्री ओलीजी रेलबाटै जाने भनेपछि हामीलाई रेल गुडाउन केही बेर पर्खिनुपरेको हो,” महाप्रबन्धक झाले हिमालखबरसँग भने।
रेल सेवा शुरू भएयता अहिलेसम्म ढिलो भएको थिएन। सधैं ठीक समयमा गुड्ने रेल एमालेका नेताले आग्रह गरेपछि ढिलो गरिएको उनको भनाइ छ।
ओली सहित एमालेका नेता तथा कार्यकर्ताका लागि १४२ वटा टिकट काटिएका थिए। एसी बगीको ५६ र जनरल बगीको ८६ वटा टिकट काटिएको महाप्रबन्धक झाले बताए।
लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली धनुषा आएका हुन्। धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकमा आयोजना हुने कार्यक्रममा ओलीले अरगरियालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ।
यसैबीच एमाले अध्यक्ष ओलीलाई जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताले कालो झण्डा देखाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र एमालेले त्यसलाई समर्थन गरेको भन्दै उनीहरूले विरोधस्वरूप कालो झण्डा देखाएका हुन्।
नागरिकता विधेयक प्रमाणीकरण नहुँदा लाखौं नागरिक गैरनागरिक बन्नुपर्ने उनीहरूको भनाइ छ।