केशव दाहालले ल्याए ‘माधवी ओ माधवी’
लेखक केशव दाहालको नयाँ पुस्तक माधवी ओ माधवी सार्वजनिक भएको छ।
मोक्षभूमि उपन्यास मार्फत नेपाली साहित्यमा नवीन स्वाद पस्किएका लेखक दाहालले अहिले गैरआख्यानकृति माधवी ओ माधवी ल्याएका हुन्। किताब पब्लिसर्सले छापेको यो पुस्तकमा केही प्रकाशित र केही अप्रकाशित सामग्री छन्। यस पुस्तकमा २३ वटा निबन्ध सङ्कलित छन्।
प्रकाशित सामग्रीलाई पनि मसिनो गरी नयाँ रङ्गले सजाएको उनले बताए। दाहालले भने, “माधवी ओ माधवीमा मैले एउटा आँखीझ्याल बनाएको छु, जसबाट मेरो पुस्ताको समय, भावधारा र जीवनको इन्द्रेणीलाई चियाउन सकिन्छ।”
शिल्पी थियटरमा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा लेखक दाहालसँग साहित्यकार उमा सुवेदीले अन्तरसंवाद गरेकी थिइन्।
त्यस्तै, लेखक कुमार नगरकोटीले कविता वाचन गरेका थिए। रङ्गकर्मी घिमिरे युवराजले माधवी ओ माधवीमाथि टिप्पणी गरेका थिए।