सात दशकअघि नेपालमा टोनी हागनको त्यो खोजयात्रा
अहिले पनि नेपालले विकासमा झेल्नुपर्ने चुनौती के हुन् भन्ने बुझ्न सघाउने पुस्तकका रूपमा टोनी हागनको नेपालमा मेरो खोजयात्रा संस्मरण आएको छ।
मैले विश्वव्यापी विकास सहायता सम्बन्धी पुस्तक लेखिसकेको थिएँ। अनि नेपाल सम्बन्धी मैले लेखेको चित्रमय पुस्तकका तीन संस्करणमा नेपालको भूगोल, पर्यावरणीय समस्या तथा विकास सहायताबाट नेपालमा परेको प्रभावबारे मज्जैले चर्चा गरिएको थियो। त्यसैले नेपालमा रहेर काम गर्दाको मेरो अनुभवबारे लेखिनु उचित देखियो।
नेपालविद् तथा भूगर्भविद् टोनी हागनले नेपालमा मेरो खोजयात्रा पुस्तक नि लेखे भनेर दुई वाक्यमा भनेका छन्। उनको अनुभवबारे लेखिएको यो पुस्तक नेपाल चिनाउने एउटा गतिलो आधार हो।
विदेशीका लागि नेपाल प्रतिबन्धित रहेका वेला सन् १९५० मा नेपालमा आएका हागनको नेपालसँगको अप्रतिम सम्बन्ध रह्यो। विकास सम्बन्धी विज्ञताका कारण उनी नेपालको विकास प्रक्रियामा आजीवन जस्तै आबद्ध रहिरहे। प्याकेजका रूपमा आउने वैदेशिक सहयोगको आलोचना गर्ने हागन त्यस्ता सहयोगको संरचनात्मक परिवर्तनको पैरवी गर्थे र तिनलाई कार्यान्वयन गर्न सकिने नवीन उपायको खोजमा रहन्थे।
त्यस्तै, नवीन उपायको एउटा उदाहरण हो, नेपालमा शरण लिन आइपुगेका तिब्बती शरणार्थीलाई आत्मनिर्भरको बाटोमा लगाउने कार्पेट उद्योगको प्रवर्द्धन। चामल र जुटको मात्रै निकासी गर्ने नेपालले गलैंचा पनि निर्यात गर्न सक्छ भन्ने कुराको स्वप्नद्रष्टा हागन नै हुन्।
उनी नेपाल आउनुभन्दा अघि २७ सेप्टेम्बर १९४८ मा प्रधानमन्त्री मोहनशमशेर राणाले छोरा विजयशमशेरको अध्यक्षतामा नेपाल विकास बोर्ड गठन गरेका थिए। नेपालले आधुनिक गतिलाई पक्रन वैदेशिक सहयोगको खोजी गरिरहेको थियो। तर, बेलायतले भर्खरै भारत छोडेर गएपछिको माहोलमा सक्रिय हुन खोजिरहेको अमेरिकाले दिल्लीमा रहेको आफ्नो राजदूतावास मार्फत अमेरिकी वा यूरोपेली देशसँग आबद्ध नभएका विज्ञको सिफारिशमा मात्रै सहयोग दिन सक्ने नीति लिएको थियो। अनि भारत भने नेपालको वैदेशिक सम्बन्ध विस्तारप्रति सङ्शकित थियो।
नेपालको विकासमा स्वीसहरूलाई संलग्न गराउनु उपयुक्त हुने धारणा सरदार भीमबहादुर पाँडेको थियो। अन्तर्राष्ट्रिय मामिलामा स्वीसहरूको तटस्थता तथा नेपाल जस्तै भूपेरिवेष्टित राष्ट्र भएकाले स्वीस विकासको खाका नेपाललाई उपयुक्त हुन्छ भन्ने पाँडेको विचार थियो। पछि पाँडे नै नेपाल विकास बोर्डका सेक्रेटरी भए र जसले नेपालमा विकासमा स्वीसहरूलाई आउन मार्गप्रशस्त गर्यो।
सन् १९५० को अक्टोबरदेखि डिसेम्बरसम्म ‘स्वीस फरवार्ड टीम’ ले नेपालमा काम गरेको थियो। त्यो टोलीमा एक कृषिविज्ञ, दुई इन्जिनीयर र एक भूगर्भविद् थिए। राणा शासक नेपालमा खनिजको सम्भावना खोज्न आतुर थिए। त्यही क्रममा हागन नेपाल आएका थिए।
स्वीस सरकारको परियोजनाको काम सकिएपछि उनले नेपाल सरकारको विज्ञ भएर पनि काम गरे। पछि संयुक्त राष्ट्रसंघको विज्ञका रूपमा पनि नेपालमा क्रियाशील भए।
नेपालको आधारभूत सर्वेक्षण विभाग खडा गरेर सन् १९६० देखि १९६२ को अवधिमा उनी त्यसको निर्देशक भए। फोटोग्रामेट्रीमा विज्ञता हासिल गरेका भूगर्भविद् हागनले कुनै पूर्वाधार नै नभएको र पूर्व अभिलेख नै नरहेको अवस्थामा काम थालेका थिए।
झण्डै आठ वर्ष लगाएर नेपालका सबैजसो ठाउँ पुगे। दुई ठेलीमा छापिएको उनको अध्ययन प्रतिवेदनमा नेपालको भौगर्भिक संरचना देखाउने अनेक नक्शा र चित्र समावेश छन्। उनले तयार पारेको प्रतिवेदनले वैज्ञानिक ग्रन्थको मान्यता पाएको छ। नेपालको जलविद्युत्, कृषि र यातायात प्रणालीको विकासका प्रस्तावित खाका पनि महत्त्वपूर्ण निधि हुन्।
स्वीस विकास सहायताको अप्ठेरो शुरूआतमा कसरी स्वीस सरकारको सरकारी संयन्त्रले आफ्नो स्वार्थ लाद्न खोजेको थियो भन्ने कुरा हागनले आफ्नो पुस्तकमा खुलाएका छन्। भारत र नेपालको सम्बन्धको आयाम नबुझी नेपालको धरातलीय यथार्थ बुझ्न सकिन्न। नेपालको विकास प्रयासमा भारतको हस्तक्षेपले नेपालप्रतिको भारतको सोच छर्लङ्ग हुने हागनको भनाइ छ। उनले एउटा प्रसङ्ग उद्धृत गर्दै लेखेका छन्ः
एउटा अनपेक्षित समस्या अनायासै उदायो, जसले स्वीसहरूलाई साथै त्यसभन्दा बढी नेपालीलाई सताउने काम गर्यो। भारतले नेपाललाई बच्चाझैं व्यवहार गर्ने कुरामा जोड दिनु नै त्यो समस्या थियो। भारतका प्रधानमन्त्री नेहरूले नयाँ दिल्लीमा रहेका स्वीस राजदूतसमक्ष स्वीस–नेपाल फर्वाड टिममा दुई भारतीय विषेशज्ञलाई सदस्यका रुपमा समावेश गर्ने इच्छा व्यक्त गरे। किनभने नेपालको विकासमा भारतको धेरै चासो रहेको थियो। यस अनुरोधलाई सबै सम्बन्धित स्वीस पक्षबाट स्वभाविक रुपमा विरोध हुने नै भयो किनभने यो कुरा राजनीतिक रुपमा तटस्थ मिसनको अवधारणाको प्रतिकूल थियो। (पृ. १४)
यसबाट भारतले नेपालको मामिलामा हस्तक्षेपकारी मनसाय शुरूदेखि नै राख्ने गरेको पुष्टि हुन आउँछ।
नेपालको विकास प्रभावित र सुस्त हुनुमा पूर्वाधार विकासमा भए-गरेका गलत निर्णय हुन भन्ने हागनको निष्कर्ष छ। हागनले पुस्तकमा लेखेका छन्- सन् १९५२ मा कुलेखानी क्षेत्रका तस्वीरहरूको विश्लेषण गरी त्यसका आधारमा जलविद्युत् र सडक दुवै एकसाथ बनाउने स्वीस योजना थियो। सरकारले पनि त्यही छोटो मार्गलाई प्राथमिकता दिएको थियो।
त्यस वर्षको अन्त्यतिर प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले फर्पिङमा त्यसको शिलान्यास पनि गरिसकेका थिए। त्यस आयोजनाको लागि द्विपक्षीय तथा विश्व ब्यांक जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट वित्तीय सहयोग जुटाउन सकिने अपेक्षा थियो।
‘तर त्यसको केही हप्तापछि शिलान्यासमा हालिएको ढुङ्गालाई भारतीय दूतावासको पहलमा हटाउन लगाइयो। सिसागढी भन्ज्याङ मुन्तिर सुरुङ मार्ग बनाउने कार्य धेरै समय लाग्ने र अति खर्चिलो हुने तर्कमा त्यसो गरिएको थियो। अहिले हामी सबैले देखिरहेछौं त्यो एउटा ठूलो भूल थियो’ (पृ. ८३) भन्ने हागनको निष्कर्ष छ। समयमा सही निर्णय नगर्दा विकास कति पछि धकेलिन्छ भन्ने दृष्टान्तलाई हागनले यो उदाहरणबाट प्रष्ट्याउन खोजका छन्।
हागनको विचारमा यस घटनाले नेपाललाई भारतीय सरकारले आफ्नै एउटा प्रान्त ठाने जस्तो देखियो। ‘नेपालमा हुने सबै भारतीय विकास कार्यक्रमहरूको तर्जुमा दुई स्वतन्त्र, सावैभौम र मित्र देशका दुई परराष्ट्र मन्त्रालयबाट हुनुपर्नेमा भारतीय परराष्ट्र मन्त्रालयले एकलौटी तवरमा निर्धारण गर्थ्यो, मानौं नेपालको विकास भारतको आन्तरिक मामिला थियो।’ (पृ. ८४)
काम गर्ने क्रममा हागनले नेपाली गाउँठाउँबारे पनि बुझे। यहाँका हाकिमका आनीबानी र बेहोरा पनि थाहा पाए। काठमाडौंबाट हिंडेर पोखरा पुग्दा जब त्यहाँको हाकिमले बिग्रेको टेलिफोनबाट काठमाडौंमा सम्पर्क गर्न खोजे तब हागनलाई आश्चर्य लाग्यो। उनले सम्झेका छन्ः
काठमाडौंदेखि पोखराको १० दिने यात्रामा मैले यी दुई शहरलाई जोड्ने २०० किमी लामो टेलिफोनको तार धेरै ठाउँमा हराएको पाएँ। तर, यस कुरालाई मैले खासै महत्त्व दिइनँ, किनभने हेर्नलाई अरु धेरै रमाइला कुरा त्यहाँ थिए। मेरो पोखरा आगमन त्यहाँका बडाहाकिमका लागि सनसनीपूर्ण कुरा भयो (म पहिलोचोटि पोखरा पुग्ने थोरै विदेशीहरुमध्ये एक थिएँ)। तिनले म आएको समाचार काठमाडौंलाई टेलिफोनबाट दिन खोजे।
तिनले पुरानो टेलिफोन सेट उठाएर घुमाए, तर एक घण्टामा पनि सम्पर्क हुन नसकेपछि टेलिफोन ‘भर्खर बिग्रेको’ भन्दै क्षमायाचना गरे। महीनौं या वर्षौंदेखि कुनै समस्या रहेको र त्यसको समाधान अझै अनिश्चित भए तापनि यस्तो भन्ने चलन नेपालमा अहिले पनि कायमै छ। ती बडाहाकिम टेलिफोन बिग्रेकोमा साँच्चै दुःखी भएका थिए वा तिनी कुशल अभिनेता थिए त्यो म अझै भन्न सक्दिनँ। (पृ. ६७)
पुस्तकमा मुस्ताङकी महारानीको रमाइलो किस्सा पनि आएको छ। भौगोलिक अध्ययनका क्रममा जब उनी मुस्ताङ पुगे, मुस्ताङका राजाले उनलाई भेट दिन मानेनन्। तर, महारानीको ‘विदेशी क्रीम’ प्रतिको चाहले गर्दा उनलाई राजदरबारबाट आमन्त्रण आयो।
त्यति वेला मुस्ताङका राजाले भेट दिन नमानेपछि दरबार बाहिरै पाल गाडेर बस्ने सुरसार गरेको हागनको टोली भएको ठाउँमा महारानीको दूत आएर मुखमा दल्ने कुनै क्रीम छ कि भन्ने सोधे। दुर्भाग्य, हागनसँग कुनै त्यस्तो सामान थिएन। तर, उनले एउटा उपाय निकालेः
मेरो अनुभवमा उचाइमा साबुन र पानीले मुख धुनु नै बेकार थियो। त्वचाबाट प्राकृतिक रुपमा निस्कने तेलबाट नै घामबाट जोगिन सकिन्छ भन्ने मेरो मान्यता थियो।
त्यसै हुनाले आठ वर्ष फिल्ड कार्य गर्दा मैले ओठ चिल्लो बनाउनेबाहेक कुनै पनि लोसन प्रयोग गरिनँ। अब महारानीलाई के दिने भन्ने भयो। नुपेरकेनाल नामक छालाको दर्दनासक लोसन मात्र मसित थियो। त्यसले ‘फाइदा नगरे पनि हानि गर्दैन’ भन्न सकिन्थ्यो। त्यस क्रिमको सुगन्ध भने राम्रो थियो। मैले त्यही लोसन महारानीसमक्ष पठाइदिएँ।
त्यसपछि तुरुन्तै जसो महाराजले मलाई भोलिपल्ट भेट दिने खबर आयो। उसै दिन भेट दिनाले शायद उनको इज्जतमा धक्का लाग्थ्यो। म ठूलो अपेक्षाभाव लिएर महाराजको निवासमा गएँ (पृ. ७१)।
समयको तुलना गर्ने डकुमेन्टका रूपमा हागनको किताबलाई लिन सकिन्छ। हागनले यात्रा गरेको त्यो समयदेखि अहिलेसम्म हामी कहाँ पुग्यौं होला भन्ने समीक्षा गर्ने कसीका रूपमा यस पुस्तकलाई लिन सकिन्छ।
‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’ भन्ने उखान छ। बुढा भन्नुको अर्थ अनुभवले खारिएको व्यक्तित्व हो। जैविक रूपमा उमेर खाएको मान्छेभन्दा अनुभवले खारिएको मान्छेको कुरा घतलाग्दो हुन्छ। मान्छेलाई खार्ने एउटा माध्यम हो, यात्रा।
झण्डै आठ वर्ष लगाएर पूरै नेपालको खोजयात्रामा निस्केका टोनी हागनले १९ वटा खोज यात्रामा कम्तीमा पनि १४ हजार किलोमिटर तेर्सो हिंडे र ९५० किलोमिटर उकालो चढे। ‘प्रत्येक दुई महीनामा मेरो एक असल स्वीस बुट फाट्थे र समग्रमा मैले २० जोर जुत्ता फटाएँ,’ उनले लेखेका छन्, ‘नोभेम्बर १९५० देखि अप्रिल १९५८ सम्म मैले नेपालमा बिताएका एक हजार ८१० दिनमा एक हजार २३५ दिन फिल्डकार्यमै बिताएँ।’
अंग्रेजीमा लेखिएको विल्डिङ ब्रिज टु द थर्ड वर्ल्डको नेपाली अनुवादमा नेपालको कुनाकन्दरा डुल्दाको अनुभव र रमाइलो प्रसङ्ग पनि आएको छ। पुस्तकमा नेपालमा आधुनिक होटेल खोल्ने बोरिस लिस्नेभिचको रोयल होटेलका प्रसङ्ग र महारानी एलिजाबेथ द्वितीयाको पहिलो नेपाल भ्रमणका प्रसङ्ग पनि वर्णित छन्। राजा महेन्द्रको राजकाज र कूटनीतिबारे पनि एउटा प्रत्यक्षदर्शीको अनुभव झैं हागनले आफ्ना अनुभव प्रस्तुत गरेका छन्।
पुस्तकमा खट्किने कुरा भनेको कतिपय नाम डा. बराल, कर्णेल खत्री मात्र उल्लेख हुँदा यी को हुन् भन्ने अन्योल पाठकमा पर्छ।
हात हातमा मोबाइल पुगे पनि शिक्षा, स्वास्थ्य र सडक जस्ता आधारभूत आवश्यकता पूरा हुन नसकेको नेपाली सन्दर्भमा हागनले देखेको समय र अहिलेको अवस्थाको तुलना कसरी गर्ने भन्ने अन्योल हुँदो हो। तर, अझै पनि नेपालले विकासमा झेल्नुपर्ने चुनौती के हुन् भन्ने बुझ्न सघाउने पुस्तकका रूपमा हागनको नेपालमा मेरो खोजयात्रा संस्मरण आएको छ। पुस्तक नेपालको मानवीय भूगोल चिनाउने महत्त्वपूर्ण निधि हो।
पुस्तक: नेपालमा मेरो खोजयात्रा, लेखक: टोनी हागन, अनुवाद: वसन्त थापा
प्रकाशक: हिमाल किताब, मूल्य: ६५०, पृष्ठ: ३१४