नागरिकता विधेयक सम्बन्धी रिटको सुनुवाइ आइतबारलाई सर्यो
नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध परेका रिटको बहस सरेको छ।
राष्ट्रपतिको कदम विरुद्ध कानून व्यवसायीले सर्वोच्च अदालतमा असोज ६ गते रिट दायर गरेका थिए। सबै रिटमा सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेशी तोकिएको थियो।
तर, समय अभावका कारण सुनुवाइ हुन सकेन। अब राष्ट्रपति विरुद्धका रिटमा आइतबार सुनुवाइ हुने अधिवक्ता सुनीलकुमार यादवले बताए।
राष्ट्रपति विरुद्ध अधिवक्ताहरू सुनील रञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र शोनु रौनियार लगायतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
प्रतिनिधि सभा र राष्ट्रिय सभाले नागरिकता विधेयक पारित गरेर राष्ट्रपति समक्ष पठाएको थियो। राष्ट्रपति भण्डारीले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।
नागरिकता विधेयक प्रमाणीकरणका लागि आदेश दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ६ वटा रिट परेका छन्। अब सबै रिटमाथि आइतबार सुनुवाइ हुने भएको छ।