आई यम सरी, कठैबरी
नेपाली सिकेर बाजेले कोरेका विचार माथि टिप्पणी गर्न ऊ सक्षम हुनेछ। सायन! तिमी जहाँ रहे-बसे पनि आफ्नो पुर्ख्यौली भाषालाई माया गर्न नबिर्से!
पुस्तकको नामले दुई शब्दको प्रयोगमा जोड दिएको छ- ‘तथ्याङ्क’ र ‘साङ्ख्यिकी’। पारिभाषिक-प्राविधिक रूपमा सङ्ख्येय जानकारीको फाँटमा विशेष खालको अर्थ बुझाउन ती शब्दको प्रयोग भएको हो। दुवै शब्द सूचनासँग सम्बन्धित छन्। तथ्याङ्क भनेको कुनै विषय वस्तुको प्रमाणित हुन सक्ने मात्रा बुझाउने अङ्क हो। यसले तथ्यमा आधारित भएर सङ्ख्याका माध्यमले जानकारी दिन्छ।
साङ्ख्यिकी ‘साङ्ख्य’ शब्दको व्युत्पन्न रूप हो। साङ्ख्य शब्दले सङ्ख्येय अर्थात् गन्न सकिने वा सङ्ख्याले जनाउन सकिने विषयलाई बुझाउँछ।
पुस्तकको शीर्षनाममा भएको ‘कि’ संयोजक होइन। ‘विकल्प वा सकार’ सम्बन्धमा प्रश्न खडा गर्न यसको प्रयोग गरिएको हो। तथ्याङ्क र साङ्ख्यिकी एक-अर्काका विकल्प हुन् अथवा एकले अर्कोलाई सकार्छ भन्ने प्रश्नको आशय हो। आँकडा वा विवरणको प्रशोधनबाट प्राप्त सूचक तथ्याङ्क हो अथवा साङ्ख्यिकी के हो? यही प्रश्नमा विमर्श गर्ने यस पुस्तकको अभिप्राय हो।
पुस्तकको पहिलो भागमा प्रस्तुत विमर्शको निर्क्योल यस्तो छ- तथ्याङ्क र साङ्ख्यिकी प्रतिद्वन्द्वी शब्द होइनन्। यी दुई सहगामी हुन्। सामान्य व्यवहारमा यिनको प्रयोग पर्यायका रूपमा गर्न सकिन्छ। तर, ठ्याक्कै उही अर्थमा भने होइन। यी दुईमा भएको मिहिन फरकलाई बुझेर उचित ठाउँमा मात्र प्रयोग गर्नुपर्छ। तथ्याङ्कको सम्बन्धमा यो नियम बढी आकर्षित हुन्छ।
साङ्ख्यिकीको व्याप्ति तथ्याङ्कको भन्दा धेरै फराकिलो छ। साङ्ख्यिकी तथ्याङ्कको वारिस हुन सक्छ। विभिन्न स्रोतबाट ‘आँकडा’ वा ‘विवरण’ सङ्कलन गर्न सकिन्छ- गणना, सर्वेक्षण, प्रशासनिक अभिलेख, वैज्ञानिक परीक्षण आदि। सङ्कलित आँकडा उपयोग गरेर निकालिएका विविध सूचकहरूको समुच्चय (set) साङ्ख्यिकी हो। तथ्याङ्क सो समुच्चयको कुनै खण्ड (subject) हो। कहिलेकाहीँ माउ-कङ्गारूले पेट बाहिरपट्टिको थैलीमा बच्चालाई लिएर हिँडे जसरी साङ्ख्यिकीले तथ्याङ्कलाई सँगै लिएर हिड्न सक्छ।
शुरूमा नै उपर्युक्त दुई शब्दबारे रोजीछाडीको कुरा किन आयो? प्रिय पाठकलाई कुतूहल हुनु स्वाभाविक हो। मान्य/मान्यावर! यसको जरो अङ्ग्रेजीको पारिभाषिक शब्द ‘स्ट्याटिस्टिक्स’ अर्थात् ‘स्टटिस्टिक्स’ (statistics) सँग जोडिएको छ।
यो पुस्तक मुख्य दुई उद्देश्यले लेखिएको हो। नेपालको अफिसियल (अफिशल) स्ट्याटिस्टिक्स उत्पादनको क्षेत्रमा लामो समय काम गरियो। सो अवधिमा सिकेका, भोगेका र थाहा पाएका अनुभवहरूमध्ये केही विषयको अभिलेखन पहिलो उद्देश्य हो। स्ट्याटिस्टिक्ससँग मेरो परिचय भएको अहिले ५० वर्ष नाघिसक्यो। यो समयावधिमा विज्ञानको सैद्धान्तिक एवं प्रायोगिक फाँटमा धेरै विकास भइसकेको छ।
विश्वविद्यालयबाट स्ट्याटिस्टिक्सको सामान्य सैद्धान्तिक विषय पढेर निस्केको मसँग अफिशल स्ट्याटिस्टिक्स (अफिस्ट्याट) को ज्ञान भने शून्यप्रायः थियो। सिकारुको रूपमा ४५ वर्ष अगाडि सरकारी सेवामा प्रवेश गरेपछि यो विषयको व्यावहारिक पक्षसँग मेरो साक्षात्कार भयो। सार्थक अफिस्ट्याट वा सूचना उत्पादनका लागि आवश्यक सीप र क्षमताका साथै यस क्षेत्रका जटिलताबारे धेरै कुरा पढियो, सिकियो, जानियो अनि भोगियो पनि।
विभिन्न गणना वा सर्वेक्षणका सिलसिलामा तत्कालीन ७५ जिल्ला पुग्दाका छुट्टाछुट्टै अनुभव रहे- समतल फाँट, पाटन, गडतीर, गढीगौँडा, अक्करेभीर, उकाली-ओरालीका कुइनेटा पैदल पार गर्दाका मीठा-तीता अनुभव। त्यस बखतको बाटोघाटो छिचोल्न अहिले जत्ति सजिलो थिएन। यात्रा ज्यादै कठिन हुन्थ्यो। नेपालका कतिपय जिल्लामा जान भारतको बाटो भएर जानुपर्थ्यो।
पुस्तकमा यस्ता घटना र तिनका अनुभव भने समावेश छैनन्- रारामा रमाएको, हाँगाहाँगाबाट जुका झर्ने बाटो हिँडेको, हिउँमा एक्लै हिँडेको, उखरमाउलो गर्मीमा तराइको बास, बास माग्दा कुकुरले खेदिएको, बाटो बिराएर राति जङ्गलभित्र पसेको, पाठा थुन्ने खोरमा सुतेको, हिमाली लेकको उकालो चढेको, ओडारमा मेठले सुरक्षित बनाएको, खोलाले कसो नबगाएको आदि। यस्ता सबै वर्णनका लागि छुट्टै पुस्तक आवश्यक पर्नेछ।
जीविकोपार्जनका लागि अफिस्ट्याट उत्पादनसँग सम्बन्धित क्रियाकलापमा धेरै वर्ष बिते। त्यस अवधिमा अनेक विषयमा विचार-विमर्श भए तथा तिनको समाधान निकालियो। कतिपय समस्या समाधानपछि मनमा सुखद अनुभूति पनि भए। सहकर्मी तथा अग्रजहरूसँग भएका छलफल तथा कार्यक्षेत्रका अनुभव ज्ञानवृद्धिमा सहायक भए। सरकारी सेवामा रहँदा बाउन्न हन्डर, त्रिपन्न ठक्कर खाइयो। दुर्भावना भएका सीमित व्यक्तिको खेदोखनाइमा पनि परियो।
बुढ्यौलीको फाइदा रहेछ- जीवन भोगाइका क्रममा सुनेका, देखेका, अनुभव गरेका, बिगारेका, सपारेका कुरा अरूसँग बाँड्न पाइने रहेछ। अनुभव र अनुभूतिले भरिएको पेटारो ठूलो छ। सानो पुस्तकमा सबै अटाउन सम्भव हुने कुरै भएन। के, कति, कुन कुरा समावेश गर्ने निर्णय गर्न कठिन भयो। यद्यपि, केही प्रतिनिधि नमूना प्रसङ्गहरूको सँगालो सार्वजनिक गर्दा खुशी लागेको छ। यी प्रसङ्गहरूले यस विषयका पण्डित तथा सर्वसाधारण पाठकको ध्यानाकर्षण गर्ने आशा छ। सहधर्मीको आउँदो पिंढीले यसबाट केही फाइदा उठाउन सके ‘सुनमा सुगन्ध’ हुनेछ।
स्ट्याटिस्टिक्स शब्दको नेपालीमा नयाँ रूपान्तरबारे आफ्नो तर्क प्रस्तुत गर्ने पुस्तकको दोस्रो उद्देश्य हो। विषय-विज्ञ तथा आम उपयोगकर्ता समक्ष विमर्शका लागि नयाँ शब्दबारे जिकिर गर्ने मेरो मनसाय हो। प्रस्तावित ‘साङ्ख्यिकी’ शब्दबारे तल केही थप लेखेको छु। त्यसभन्दा पहिले शब्द विन्यास, भाषा र शैली सम्बन्धी टिपोट प्रस्तुत छ।
पुस्तक लेख्ने सिलसिलामा पटक-पटक शब्दको गढीगौँडा पार गर्नुपर्यो। स्ट्याटिस्टिक्स विषयका अङ्ग्रेजी प्राविधिक शब्दहरूको उही उही अर्थ बुझाउने नेपाली पारिभाषिक शब्द पाउन कठिन भयो। उस्तै अर्थ बुझाउने शब्दहरू पनि पाइएनन्। उदाहरणका लागि, ‘र्यान्डम’ (random) नम्बरको चित्तबुझ्दो नेपाली शब्द भेटिएन। ‘दैवी सङ्ख्या’ भन्न मन लागेन, चित्त बुझेन।
सर्वेक्षणको कुराकानीमा अक्सर आइरहने अङ्ग्रेजीको पारिभाषिक शब्द ‘Population’ को अर्थ ‘जनसङ्ख्या’ मात्र हुँदैन। ‘Normal Curve’ वा ‘Bell-Curve’ जस्तो महत्त्वपूर्ण अवधारणालाई सामान्य वक्रले न्याय गर्दैन। ‘Rounding’, ‘Normal Distribution’, ‘Individual’ आदि कैयौँ पारिभाषिक शब्द र शब्दावलीको चित्त बुझ्दो नेपाली रूपान्तर भेटिएनन्।
नेपाली शब्द निर्माण नहुन्जेल हामीले अङ्ग्रेजीका पारिभाषिक-प्राविधिक शब्दहरू नै प्रयोग गर्नुपर्छ भन्ने मेरो निष्कर्ष रह्यो। राष्ट्रकवि घिमिरेले भनेका छन्- ‘हामीकहाँ जुन शब्द छैनन्, तिनलाई भाषान्तरबाट नलिने हो भने, हामी अन्य जातिले उपलब्ध गरेका शिल्प र ज्ञानबाट वञ्चित हुन्छौं र आजको प्रविधि र विज्ञानलाई विश्वबाट दोहन गर्न पनि सक्तैनौं।’
सधैं शब्द निर्माण गर्छु भन्ने चुरीफुरीले पनि साथ नदिँदो रहेछ। ‘χ2 test’, ‘Python’ जस्ता प्राविधिक शब्दलाई कसरी रूपान्तर गर्ने? बलजफ्ती नेपाली शब्द निर्माण गर्दा ‘के जातिको के जाति सोख’ भने जस्तो हुने त होइन? रूप नफेरिईकन मूल रूपमै आएका यस्ता पारिभाषिक शब्दलाई नेपालीमा भित्र्याउँदा ‘अंग्रेजीबाट लतारिएको’ भन्न मिल्दैन।
सूचना प्रविधिको विकाससँगै अङ्ग्रेजीबाट आएका धेरै शब्द नेपालीमा जस्ताको तस्तै चल्ती भएका छन्। इन्टरनेट, इमेल, कम्प्युटर, नेटवर्क, मोबाइल, ल्यापटप, वाइफाई, सर्भर, साइबर, गुगल, डकुमेन्ट, डाउनलोड, ड्रोन, पेनड्राइभ, फेसबूक, फोल्डर, बिग डेटा, यूट्युब, रोबोट आदि शब्दहरू निर्धक्कसँग प्रयोग भइरहेकै छन्। आफ्नो भाषामा उपयुक्त शब्द नबनुन्जेल वा नपाइन्जेल यी शब्दको विकल्प हुनेछैन। रेडियो, टेलिभिजन, क्यामेरा आदि शब्दहरू नेपालीमा मिल्न आएको त धेरै समय भइसक्यो।
ट्वीटर, भाइबर, मेसेन्जर, ह्वाट्सएप जस्ता जनजिब्रोमा भिजिसकेका प्राविधिक शब्दको रूपान्तर गर्छु भन्नेतर्फ लाग्नु कति युक्तिसङ्गत होला? त्यो भन्दा विचारणीय कुरा, पहिलेदेखि चलिआएका हाम्रा शब्द नछाडौं। ‘मेरो मार्केटिङ बाँकी छ’ नभनौं, ‘मेरो किनमेल बाँकी छ’ भनौं। ‘ओ माई गड!’ को सट्टामा ‘हे भगवान्’ भनौं। ‘वाःउ’ को सट्टामा हाम्रो आफ्नै शब्द ‘ओहो!’ प्रयोग गर्दा कसो होला?
आजकल विद्यार्थीले ‘दुई-दुने चार’ भन्न त बिर्सिसके, ‘टूटू-जा फोर’ भन्न थाले। बिहानको अभिवादन नमस्कारलाई मर्निङ-मर्निङले लतारिसक्यो। ‘क्या बोर भो’ भन्नुको सट्टा ‘क्या उराठ लाग्यो’ भन्दा लाज हुने भो! ‘बोर’ शब्दलाई त नेपाली शब्दकोशले प्रविष्टि दिइसकेको छ।
आमा-बुबालाई ममी-ड्याडीले उछिनिसक्यो। कवि बैरागी काइँलाले कुनै प्रसङ्गमा भनेको किस्सा रोचक छ। पैलेपैले लिम्बूवानतिरका ठिटाठिटीले गाउने गीतको मुखबोली यस्तो हुन्थ्यो अरे- ‘सुन फुल्यो तोरी, कठैबरी’। पढेलेखेका ठिटाठिटीले अहिले हाटबजार हुँदो त्यसैलाई फेरेर यसरी गाउन थालेका छन् अरे- ‘आई याम सरी, कठैबरी’!
नयाँ शब्द निर्माण गरेर भाषा समृद्ध बनाउँछु भनेर फुर्किएर मात्र हुँदो रहेनछ। ‘कोभिड-१९’ को व्याधिले नयाँ परिवर्तन ल्याएको छ। यो विश्वव्यापी सङ्क्रमणलाई हामीले ‘महामारी’ शब्द सहजै चलनमा ल्यायौं। तर ‘लकडाउन’ को सट्टा केही भाषाविज्ञले निर्माण गरेको ‘बन्दाबन्दी’ शब्द हामीलाई उस्तो मन परेन। हामीले लकडाउन नै मन परायौं। ‘मास्क’ को सट्टा प्रयोग गर्न खोजिएका नेपाली शब्द हामीलाई सजिलो लागेन। पीसीआर, पोजेटिभ, नेगेटिभ, भेरिअन्ट, क्वारन्टिन आदि शब्द त निर्बाध चलनमा आएका छन्।
विज्ञहरूले अब आउने दिन अर्कै हुनेछन् भन्ने थाहा पाइसकेका छन्। आमनेसामने सीधा सम्पर्कविहीन दुनियाँ अझ नौलो हुनेछ। नयाँ प्राविधिक शब्द निर्माण हुने प्रक्रिया चालू रहनेछ।
नेपाली बोलीमा शब्द वा शब्दावलीलाई प्रयोगमा ल्याउने तरीका विचित्र छ। हामी दालभातदेखि चुरोट-तमाखुसम्मका धेरै कुरा खान्छौं। त्यस्तै पानी, सर्वत, रक्सी आदि खान्छौं। औषधि खान्छौं तर किन हो कुन्नि ‘मादक पदार्थ’ चाहिं ‘सेवन’ गर्छाैंं। खुल्दुली मेट्न नेपाली शब्दकोश पल्टाइयो। कोशले ‘मात लगाउने’ वस्तुलाई मादक पदार्थ अनि ‘सुस्वास्थ्यका निम्ति औषधि प्रयोग’ गर्ने कामलाई सेवन भनेको भेटियो। मताउने वस्तुको त सेवन नहुनुपर्ने हो। तर, जाँड-रक्सी खाएको छ वा छैन भनेर गरिने जाँचलाई ‘मापसे जाँच’ भन्ने गरिएको छ। यही शब्दावलीले सरकारी मान्यता पाएको छ।
अब प्रस्तुत छ, पुस्तक लेख्नुको दोस्रो उद्देश्यबारे टिप्पणी। यो नयाँ शब्द निर्माण प्रक्रिया अर्थात् ‘निअलजिज्म’ ‘Neologism’ सँग सम्बन्धित छ। प्रयोगका लागि प्रस्तावित नयाँ शब्द यो प्रक्रियाको उपज हो। प्रयोग हुन थालेको तर भाषाको मूल प्रवाह पूरापूर आइनसकेको शब्द पनि यसमा पर्छ। निअलजिज्म वा ‘नववाद’ तुलनात्मक हिसाबले नयाँ अवधारणा हो। भनिन्छ, भाषा निर्माणको प्रक्रियामा आदिप्रयोगवाद ‘Protologism’ भन्दा नववाद बढी ‘पाको’ हुन्छ।
पुस्तकमा प्रस्तावित ‘साङ्ख्यिकी’ शब्द नववाद हो। यो नेपालीमा पारिभाषिक-प्राविधिक शब्दका रूपमा प्रचलित छैन। शास्त्रीय एवं गहन विषयलाई बुझाउने नयाँ शब्दलाई आम जनजिब्रोले एकैचोटि स्वीकार गर्न कठिन हुन्छ। पूर्वाग्रह, भ्रम, दृष्टिदोष वा अन्य कारणले नयाँ शब्दको विवेचना कठिन हुन्छ। शुरूमा नयाँ निर्मित शब्दलाई दुर्बोध, अपूर्ण जस्ता दोष देखाएर स्वीकार गरिँदैन।
अहिलेको दुनियाँ अधिकतर सूचनामा आश्रित हुँदै गएको छ। हामी सूचनाको दुनियाँमा बाँचिरहेका छौं। जीवन पर्यन्त कुनै न कुनै रूपमा सूचना प्रयोग गरिरहन्छौं। हामीले प्रतिदिन प्राप्त गर्ने र प्रयोग गर्ने सूचनाको दायरा अति फराकिलो छ। छोटकरीमा भन्नुपर्दा आज दुनियाँलाई सूचनाले नै गतिशील बनाएको छ। सूचनाले जानकारी बढाउँछ, अनिश्चय कम गराउँछ र निर्णय प्रक्रिया सुधार्न मद्दत गर्छ।
अखबार, रेडियो, टेलिभिजन, पत्रिका तथा ‘डिजिटल’ जस्ता सञ्चारका साधनबाट हामी सूचना पाउँछौं। प्रविधिमा भएको विकासका कारणले ‘इन्टरनेट अनलाइन’ सूचनाको महत्त्वपूर्ण स्रोत भएकोछ। सूचनाको जगमा आँकडा वा विवरण हुन्छ।
‘आँकडा’ शब्द अङ्ग्रेजीको पारिभाषिक-प्राविधिक शब्द ‘डाटा’ वा ‘डेटा’ ‘Data’ को अर्थमा प्रयोग हुने गरेको छ। आँकडा सूचनाको आधारशिला हो; कोरामाल वा कच्चापदार्थ हो। कुनै निश्चित उद्देश्यले सङ्कलित सङ्ख्यात्मक वा अन्य प्रकारका विवरण, खबर वा लगतको एकत्रित समूहलाई स्ट्याटिस्टिक्समा डेटा भनिन्छ। संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन (एफएओ)ले भनेको छ- ‘डेटा भनेको सङ्ख्यात्मक र गुणात्मक तरीकाले नापिएका तथ्यहरू समेट्ने सूचनाको अंश हो।’
परिभाषा अनुसार स्ट्याटिस्टिक्स शब्दको अनेक अर्थ लाग्छ। यसको विस्तार र दायरा धेरै फराकिलो छ। यसले तथ्याङ्कभन्दा धेरै गैरतथ्याङ्कलाई समेट्छ। स्ट्याटिस्टिक्सको फाँटमा अनुमान, अपेक्षा, आकलन, औसत, तथ्याङ्क, पूर्वानुमान, प्रक्षेपण, भविष्यकथन आदिमा आधारित सूचकहरू पर्छन्।
अनुमान भनेको ‘कुनै वस्तु वा व्यक्ति आदिको’ सङ्ख्या, परिमाण, मूल्य, विस्तारबारे ‘मोटामोटी हिसाब लगाई गरिने अन्दाज’ वा निर्णय हो। अनुमान गर्दा प्रत्यक्ष प्रमाणको सहाराले अप्रत्यक्ष विषयको सम्बन्धमा अड्कल काटिन्छ। तथ्यको विपरीतार्थक शब्दका रूपमा पनि अनुमानको प्रयोग हुन्छ।
अपेक्षाको अवधारणा कुनै कुरा वा घटनाको चाहनासँग सम्बन्धित छ। अपेक्षित मूल्य भनेको अनुमानित सम्भाव्यताका आधारमा हिसाब गरेर निकालिएको मान हो। स्ट्याटिस्टिक्समा अपेक्षित मूल्यको विशेष महत्त्व छ। आकलन भनेको कुनै कुरा वा वस्तुको सङ्ख्या, परिमाण, मूल्य वा क्षेत्रबारे गरिएको मोटामोटी हिसाब हो। आकलनको अवधारणा अनुमानसँग सम्बन्धित छ।
औसतले समूहमा भएका वस्तु वा कुराको सालाखाला मान बताउँछ। धेरै सङ्ख्या वा मानहरूलाई मिलाएर जोडेपछि आएको सङ्ख्या वा मानलाई बराबर भाग लगाएपछि औसत मान आउँछ। यस्तो मान अक्सर तथ्यभन्दा फरक हुन्छ।
प्रक्षेपण भनेको विगतदेखि हालसम्मको प्रवृत्ति वा अवस्था अध्ययन गरेर अक्सर भविष्यको अवस्थाबारे गरिने अनुमान वा पूर्वानुमान हो। निश्चित मान्यताका आधारमा कल्पना गरेर विगत वा भविष्यको घटनालाई चियाउने प्रक्रियालाई प्रक्षेपण भनिन्छ। पूर्वानुमान भनेको कुनै विषय वा घटनाको परिणाम यस्तो हुनेछ भनेर पहिले नै अड्कल लगाउने प्रक्रिया हो।
सामान्यतया सूचकाङ्कले मूल्य सूचकाङ्क भन्ने बुझाउँछ। यो कुनै वस्तुको दुई भिन्न समयको अनुमानित मूल्यको अनुपात वा सापेक्ष मूल्य हो। यसले कुनै निश्चित समय वा वर्षको अनुमानित मूल्यसँग चालू वर्षको अनुमानित मूल्यमा आएको परिवर्तन देखाउँछ। समय अनुसार परिवर्तन हुने कुनै वस्तुको घटी-बढी मूल्य थाहा पाउन यसको लेखाजोखा राखिन्छ।
सूचकबारे उपर्युक्त छोटो टिप्पणीको आशय स्ट्याटिस्टिक्स ‘सम्भाव्यतामा आधारित तथा अनुमान-प्रधान छ’ भन्ने हो। स्ट्याटिस्टिक्स तथ्याङ्क-प्रधान होइन। यद्यपि, स्ट्याटिस्टिक्स अन्तर्गत केही मात्रामा तथ्याङ्क पनि पर्छ।
अब तथ्याङ्कका कुरा गरौं। सरकारी कागजातमा तथ्याङ्क शब्दको प्रयोग स्ट्याटिस्टिक्सको अर्थमा हुन थालेको करीब ६० वर्ष भयो। त्यसभन्दा पहिले स्ट्याटिस्टिक्सलाई नेपालीमा ‘सङ्ख्या’ भनिएको थियो। २०१५ सालको तथ्याङ्क ऐनले साबिकको ‘संख्या विभाग’ लाई ‘केन्द्रीय तथ्याङ्क विभाग’ बनायो। त्यसपछि विभागका उत्पादनलाई तथ्याङ्क भन्न थालियो।
ऐनले तथ्याङ्कको परिभाषा चाहिँ किटान गरेको छैन। सङ्ख्येय वा सङ्ख्यात्मक विवरण जनाउन ऐनमा विभिन्न शब्द वा शब्दावली प्रयोग भएका छन्- खबर, लगत, खबरको लगत, तोकिएको ढाँचाको विवरण, कुनै खबर तथा रेकर्ड आदि। आँकडा शब्दको परिभाषा पनि भेटिन्न।
अर्को कुरा, तथ्याङ्क ऐनले खास गरेर राष्ट्रिय तथ्याङ्कलाई सम्बोधन गरेको छ। राष्ट्रिय तथ्याङ्कको निश्चित परिभाषा भने भेटिन्न। तथ्याङ्क नियमहरूमा ‘जनसङ्ख्या, कृषि, उद्योग, व्यापार, यातायात र अरू आवश्यक सबै किसिमको गणना’ लाई राष्ट्रिय गणनामा राखिएको छ।
तथ्याङ्क शब्द नेपालीले सजिलै स्वीकार गरेका छन्। तर, गाँठी कुरो के हो भने तथ्याङ्क शब्दले स्ट्याटिस्टिक्सको पूरापूर अर्थ समेट्दैन। स्ट्याटिस्टिक्सको नेपालीमा ठ्याक्कै उही नभए पनि उस्तै अर्थ बुझाउने शब्द ‘साङ्ख्यिकी’ हो, तथ्याङ्क होइन। प्रस्तावका दृष्टिले माथि नववाद अर्थात् नव निर्मित भनिएको भए तापनि तथ्याङ्क विभागका लागि यो शब्द नितान्त नौलो चरो भने होइन अर्थात् थिएन।
२०२२/२३ सालदेखि नौ-दश वर्षसम्म विभागले यो शब्द प्रयोग गरेको भेटिन्छ। विभागको तत्कालीन समाचार बुलेटिनको नाम नै ‘सांख्यिकीय सन्देश नेपाल’ थियो। पछि परिवर्तनको फेरोमा परेर तथ्याङ्क शब्दले यसलाई ओझेलमा धकेलिदियो। अहिले विभागका लागि साङ्ख्यिकी शब्द विस्मृतप्रायः भएको छ।
धेरै पहिले चर्चामा ल्याउनुपर्ने विषयमा असावधानीका कारण ढिला-सुस्ती गरेकोमा क्षमाप्रार्थी छु। ‘शुभस्य शीघ्रम्’ भन्ने सूक्तिलाई मनन गर्दै ढिलै भए तापनि आफ्नो खास जिकिर पुस्तकमा प्रस्तुत गरेको छु।
स्ट्याटिस्टिक्सको अर्थ बुझाउन तथ्याङ्क प्रयोग गरिएको छ, तापनि योभन्दा बढी उपयुक्त शब्द साङ्ख्यिकी नै हो। तथ्याङ्क साङ्ख्यिकीको दायराभित्र पर्छ, तर साङ्ख्यिकी तथ्याङ्क हुन जरुरी छैन।
उपर्युक्त तर्क सहितको वकालतप्रति मेरा एक मित्रलाई खुल्दुली भएछ। उनको शिष्ट तर्कको अभिप्राय: यस प्रकारको थियो- स्ट्याटिस्टिक्सको अर्थ बुझाउन तथ्याङ्क शब्द निर्माण भएको अहिले ६० वर्षभन्दा बढी भइसक्यो। यो शब्दलाई नेपाली जनजिब्राले स्वीकार गरिसकेको छ। अहिले नववादको कुरा झिकेर किन बखेडा गर्ने? ‘बाटोमा लौरो तेर्स्याउने’ जस्तो भएन र?
संवादको क्रममा मित्रले चिडियाखानाको प्रसङ्ग ल्याए। सार्वजनिक प्रदर्शनका लागि चराचुरुङ्गी-लगायत जङ्गली पशु आदि राखिएको ठाउँ वा घरलाई चिडियाखाना शब्दले प्रतिनिधित्व गर्छ। अनुमान, औसत, प्रक्षेपण, व्युत्पन्न सङ्केतक, सूचकाङ्क आदि सङ्ख्याको माध्यमले व्यक्त सूचकलाई तथ्याङ्क शब्दले प्रतिनिधित्व गर्न किन सक्तैन?
मेरो जिकिरको आशय त्यस्तो होइन, प्रिय मित्र! चिडियाखाना शब्दसँग म असहमत छैन। ‘चिडिया’ भनेको चरो बुझाउने हिन्दी शब्द हो। ‘खाना’ फारसीबाट आएको ‘घर वा कुनै ठाउँको खण्ड’ बुझाउने शब्द हो। चिडियाखानामा कालिजदेखि डाँफेसम्म, ढुकुरदेखि न्याउलीसम्म, मयूरदेखि हुचीलसम्म विभिन्न थरीका चराचुरुङ्गी राखिएका हुन्छन्। त्यही ठाउँमा अर्नादेखि चितुवासम्म, चित्तलदेखि बाँदरसम्म, भालुदेखि हुँडारसम्मका जङ्गली पशु पनि हुन्छन्। ठाउँ र अनुकूलता हेरी अजिङ्गरदेखि सोँससम्म राखिएका हुन्छन्।
चिडियाखानामा छ भन्दैमा चौपाया, जङ्गली जनावर, सरीसृप आदिलाई पनि चराचुरुङ्गी ठान्नु त भएन नि मित्र! चिडियाखानामा राखेको छ भन्दैमा गैँडालाई गिद्ध, चितुवालाई चील, बाँदरलाई बाज, मृगलाई मयूर भन्न होला र? डाँफेलाई डाँफे भनौं, भालुलाई भालु नै भनौं। भालु र भ्याकुरो त फरक हुन्- पहिलो जङ्गली जनावर अनि दोस्रो चाहिँ वनको चरो!
मेरो जिकिर हो- चिडियाखाना जस्तै ‘तथ्याङ्कखाना’ को कल्पना गरौं। तथ्याङ्क नामधारी कारखानाले तथ्याङ्क मात्र उत्पादन गर्दैन। यसले तथ्याङ्कभन्दा धेरै अनुमान तथा सम्भाव्यतामा आधारित सूचकहरू उत्पादन गर्छ। अर्थात्, तथ्याङ्क विभागका उत्पादन तथ्याङ्क हुन जरुरी छैन। ‘अनुमान’ अनुमानै हो। अनुमानलाई गोलमटोल हिसाबले तथ्याङ्कको पगरी नगुथाऔं। यसले अर्थको सट्टा अनर्थ मात्र सिर्जना गर्छ। स्ट्याटिस्टिक्सले तथ्याङ्क बाहेक अनेक सङ्ख्येय सूचकहरूलाई समेट्छ!
त्यसकारण स्ट्याटिस्टिक्सलाई नेपालीमा उल्था गर्नुपर्दा तथ्याङ्कभन्दा ‘साङ्ख्यिकी’ शब्द बढी उपयुक्त हुन्छ भन्ने मेरो जिकिर हो। गोलमटोल पारेर तथ्याङ्क भन्नुको साटो ‘आँकडा’, ‘विवरण’, ‘सूचक’, ‘सङ्ख्या’ आदि आम बोलीचालीका गोस्वारा शब्दको प्रयोग गर्न सकिन्छ। यस्तो प्रयोग बढी उपयुक्त हुन्छ। तथ्यमा आधारित छ भनेर निधो भएको सङ्ख्येय सूचकलाई भने तथ्याङ्क नै भनौं।
उखान छ- ‘कोदालोलाई कोदालो नै भनौं कुटो होइन।’
*** *** ***
शब्दको शक्ति अनुपम छ, अप्रतिम छ। शब्दको सम्यक् चयन र त्यसको उचित विन्यासले भाषा शैलीमा मनोहर सुन्दरता ल्याउँछ। सम्यक् शब्द विन्यास ‘इकेबाना’ (Ikebana) सदृश हुन्छ। डाँठ, पात सहित फूल सजाउने जापानी परम्परागत कलालाई इकेबाना भनिन्छ। यस कलामा फूल मात्र होइन फूलको डाँठ र पातले समेत सजीवता पाउँछ। इकेबानाले फूललाई जीवन दिन्छ, फूलको आन्तरिक गुण दर्शाउन मद्दत गर्छ। इकेबानाले फूलमा जस्तै समुचित शब्द विन्यासले भाषा र शैलीलाई उजिल्याउने रहेछ; संवेदना व्यक्त गर्न सक्षम बनाउने रहेछ।
इकेबानाको मात्र के कुरा गर्ने ‘मोजेक’ (Mosaic) कारीगरीले भुइँमा अद्भुतको नतीजा निकाल्छ। ढुङ्गा, स्लेट, टाइल, ग्लास, काँचका निर्जीव टुक्राटाक्री मिलाएर बनाएको चित्र र ढाँचालाई मोजेक भनिन्छ। यो अप्रतिम कारीगरी हो। मोजेकले भुइँको रूप-रङ्गलाई नै कायापलट गरे जस्तै शब्दको कारीगरीले वाक्यलाई कायापलट गरिदिँदो रहेछ।
साहित्यकार कृष्णप्रसाद पराजुलीले शब्दको असीमित शक्तिमा जोड दिएका छन्। उनले भनेका छन्- ‘कस्तै मानिसहरूलाई पनि यसले आफूतिर तान्न सक्छ।’
शब्दको सम्यक् चयन तथा उचित विन्यासले भाषा र शैलीमा ल्याउने चमत्कारका कथाहरू भेटिन्छन्। शब्दको सम्यक् बोध र त्यसको समुचित प्रयोगले भाषालाई सुन्दर र रसिलो बनाएको कथा पढ्दा वा सुन्दा मेरो मथिङ्गलमा आकाङ्क्षा, उमङ्ग, उद्वेलन, इच्छा, ईर्ष्या आदि एकैसाथ मथिन थाल्छन्। ‘तँ किन यस्तो चमत्कार गर्न सक्तैनस्?’ यस्तो प्रश्नले मेरो मनमा हुटहुटी जगाइरहन्छ। लेख लामो तथा मूल विषयेतर हुने दोषलाई सविनय पन्छाएर वाणभट्टका दुई छोराको कथा प्रस्तुत गर्छु।
वाणभट्ट सातौं शताब्दीका संस्कृत भाषाका प्रख्यात गद्य लेखक तथा कवि थिए। उत्तर भारतका राजा हर्षवर्धनबाट उनले दरबारी-कविको पद पाएका थिए। उनको ‘रोमान्टिक’ उपन्यास कादम्बरीबारे यस्तो किंवदन्ती भेटिन्छ- कादम्बरी काव्य पूरा हुनुभन्दा पहिले नै वाणभट्टको मृत्यु भयो। वाणभट्टका दुई विद्वान् छोरा थिए। बाबुले अधुरो छोडेको काव्य पूरा गर्ने कामका लागि छोराहरूबीच प्रतिस्पर्धा भएछ। कुराको छिनोफानो गर्न उनीहरू गुरुकहाँ गएछन्।
उचित निर्णयका लागि गुरुले शिष्यहरूको जाँच लिएछन्। दुवैलाई उनीहरूको सामुन्ने के छ भनेर सोधेछन्। जवाफमा शिष्यहरूले भनेछन्-
शुष्को वृक्षस्तिष्ठत्यग्रे, तदुपरि कश्चित्सर्पोऽप्यस्ति।
नीरसतरुरिह विलसति निकटे, तदुपरि मणिमयकुटिलभुजङ्ग।।
भनिन्छ, श्लोकको पहिलो हरफ जेठाले र दोस्रो कान्छा छोराले रचना गरेका हुन्। भनाइको आशय दुवैको एउटै रहेछ- अगाडि सुकेको रूख छ, त्यसमाथि सर्प बसेको छ। भनाइको तरीका भने फरक रहेछ।
व्याकरणका पण्डित जेठो छोराको वर्णनमा संरचनाका दृष्टिले सही तर खरो भाषा प्रयोग भएको रहेछ। कान्छो छोराले सोही दृश्य साहित्यको मिठास सहित वर्णन गरेका रहेछन्। जेठाले सीधा भाषामा भनेका रहेछन्- अगाडि सुकेको रूख छ, त्यसमाथि कुनै सर्प बसेको छ।
कान्छाले त्यही कुरालाई यसरी वर्णन गरेछन्- नजिकै (निकटे) सुकेको (नीरस) रूख (तरुः) देखिन्छ (प्रकट भएको छ), त्यसमाथि मणि भएको (मणिमय) बाङ्गोटिङ्गो (कुटिल) भएर घिस्रँदै हिँड्ने (भुजङ्ग) {जीव (सर्प) छ}। कान्छाको शैली गुरुलाई मन परेछ। बाबुको अधुरो काम पूरा गर्ने जिम्मा कान्छा छोरा भूषणभट्टले पाएछन्।
उपर्युक्त कथाले भाषा-शैलीको महत्त्व बताएको छ। कुराको आशय उही भए तापनि भनाइ फरक पर्दा त्यसको असर आनकातान हुँदो रहेछ। सातौं शताब्दीसम्म जानै पर्दैन। नेपाली भाषाका स्रष्टाहरूको शब्द चयन र त्यसभन्दा बढी तिनको विन्यासमा जादू भेटिन्छ। तिनका भनाइ आज पनि हामी सम्झिन्छौं। तिनले हामीलाई ऊर्जा दिन्छन् अनि थप सोच्न प्रोत्साहित गर्छन्- एक जुगमा एक दिन एक चोटि आउँछ; दुई ढुङ्गाको तरुल जस्तो; उडी छुनु चन्द्र एक; घुम्ने मेचमाथि अन्धो मान्छे आदि।
महाकवि देवकोटाले भाषालाई उर्लँदो छाल सहितको महासागरसँग तुलना गरेका छन्- ‘भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै।’
नाट्य सम्राट् समले भनेका छन्- ‘भाषा हो सभ्यता हाम्रो।’ चिनियाँ दार्शनिक कन्फ्युसियसले भनेका छन्- ‘भाषा नै सुधारको पहिलो शर्त हो।’
भाषाको जरोमा शब्द हुन्छ। शब्दले भाषाको स्वरूप निर्धारण गर्छ। शब्द वा शब्द-समूहबाट हामीले प्रयोग गर्ने भाषा बन्छ। शब्द खेलाउन जान्नेले नै भाषाशैली सपार्न जान्दो रहेछ। हात-पयर नभए तापनि शब्दको चयनमा यसको घत-विघत निर्भर रहन्छ। यसकारण बुद्धि पुर्याएर शब्दको प्रयोग गर्नुपर्छ। सन्त कबीर यही मनसायको सूक्ति उद्घोष गर्छन्-
‘शब्द सम्हारे बोलिये, शब्दके हाथ न पाव रे
एक शब्द औषद करे, एक शब्द करे घाव रे’
यतिका गन्थन किन? यसको उद्देश्य हो- प्रिय पाठक समक्ष मेरो साबिती। म कुनै ‘धुरन्धर’ लेखक होइन, भाषाशास्त्री होइन। भाषा र शैलीका दृष्टिले म ‘भुइँमान्छे’ हुँ। भाषाशैली सम्बन्धी मेरो कुनै तालीम र अनुभव छैन। भाषाको विषयमा म अल्पज्ञ र सिकारु हुँ। भाषाको गहनता र महत्त्वबारे पढेर, सुनेर धेर-थोर थाहा पाएको हुँ।
यस पुस्तकमा सामान्य बोलीचालीको भाषामा अलिकति आफूले पढेका र केही आफ्ना अनुभवका आधारमा निजी भावना प्रस्तुत गर्ने इमानदार प्रयास गरेको छु। साहित्यका पण्डितहरूले व्यङ्ग गर्ने गरेकोे जस्तो ‘कनिकुथी लेखेर आफैंप्रति ठट्टा गर्न’ खोजेको चाहिँ किमार्थ होइन!
*** *** ***
पुस्तक दुई भागमा विभाजित छ। विभाजनको कुनै स्पष्ट वस्तुपरक आधार भने छैन। व्यक्तिपरक विचारको आधारमा सजिलोका लागि विभाजन गरिएको हो। पहिलो भागमा आफूले पढेका, सुनेका, देखे-जानेका वा अनुभव गरेका विषयवस्तुमा आधारित सँगालाहरू छन्।
दोस्रोमा, केही सैद्धान्तिक विषय समेटिएका छन्। दुवै भागका अधिकांश उदाहरणमा केन्द्रीय तथ्याङ्क विभाग (केतवि) का उत्पादन रोजिएका छन्। नेपालमा केतवि बाहेक नेपाल राष्ट्र ब्यांक तथा अन्य निकायले पनि आधिकारिक साङ्ख्यिकी (Official Statistics) उत्पादन गर्छन्। त्यसो भए उदाहरणमा केतवि मात्रै किन? केतवि नेपालको राष्ट्रिय साङ्ख्यिकीय प्रणालीको प्रमुख वा अगुवा निकाय हो। देशको साङ्ख्यिकीय प्रणालीको प्रतिनिधि निकाय हो। यसकारण अगुवालाई सबै निकायका लागि वारिसको रूपमा अगाडि ल्याइएको हो। जेठा मामा र कान्छा मामाको उखान जस्तै, अगुवाको गति हेर्दा अरूबारे अन्दाज भैहाल्नेछ!
कति पाठक गणितज्ञ छन्? यो चासोको विषय हो। सबैलाई गणितको ज्ञान वा त्यसमा रुचि हुन जरुरी छैन। यसकारण पुस्तकमा गणित सकभर कम प्रयोग भएको छ। उदाहरणहरूलाई सरल अङ्कगणितमा सीमित राखिएको छ। पुस्तकको मूल विषयसँग सिलसिला मिलाउन पहिलो परिच्छेद ‘नम्बर’ लाई दिइएको हो।
सैद्धान्तिक विषय विभिन्न स्रोतमा आधारित छन्। आफूले थाहा पाएका, पढेका विषय-विज्ञ एवं पण्डितहरूका लेख-रचनाहरूको आधार लिएको छु। प्रसङ्ग अनुसार, विवरण प्रस्तुतिमा अन्य कुराका अतिरिक्त यी स्रोतबाट धेर-थोर सहायता मिल्यो। शास्त्रीय सिद्धान्तहरूलाई मैले प्रसङ्ग अनुसार ठाउँ ठाउँमा उद्धृत गरेको छु। अरू त अरू, यदि यी स्रोतको सहायता नहुँदो हो त, यो पुस्तक लेखिन्थ्यो कि लेखिन्नथ्यो यसमा सन्देह नै छ। ती स्रोतसँग सम्बन्धित सबै व्यक्ति तथा संस्थाहरूप्रति हार्दिक आभार प्रकट गर्छु। सन्दर्भ-ग्रन्थसूची पुस्तकको अन्त्यमा राखिएको छ।
विषयवस्तु विवेचनाको सन्दर्भमा प्रमाणका लागि प्रस्तुत अधिकांश उदाहरणहरू व्यक्तिगत सङ्कलन र अनुभवमा आधारित छन्। उद्धरणहरू विभिन्न पुस्तक, लेख-छापा, डिजिटल-पत्रिका आदिबाट लिइएका हुन्। कुन उद्धरण कहाँबाट लिइएको हो सो कुरा जानाजानी दबाइएको छ। यसको खास कारण छ। उदाहरण दिँदा कसैको त्रुटि देखाएर उसको उपहासको भाव सिर्जना गर्ने मनसाय होइन। तथ्याङ्क र साङ्ख्यिकी शब्दको उलटफेरले ल्याउने अन्योल देखाउने मात्र यसको उद्देश्य हो। तथापि, यसबाट कसैलाई असजिलो महसूस हुन गएमा त्यसका लागि क्षमाप्रार्थी छु।
पाण्डुलिपि पढेर परिमार्जनका लागि महत्त्वपूर्ण सल्लाह र सुझाव दिनु हुने केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीलाई हृदयदेखि आभार व्यक्त गर्छु। एकदुई परिच्छेद केतविका महानिर्देशक नेबिनलाल श्रेष्ठले पनि हेरिदिनुभएको हो। पुस्तक छपाइमा उहाँबाट प्राप्त अमूल्य सल्लाह एवं सुझावका लागि कृतज्ञता ज्ञापन गर्छु।
मिहिनेतपूर्वक लागिपरेर पुस्तकलाई धेरथोर पठनीय बनाउन सहयोग गरिदिनुभएकोमा केतविका निर्देशक ऋषिराम सिग्देललाई मुरी-मुरी धन्यवाद छ। पुस्तकमा देखिनसक्ने उचनीचमा भने म स्वयं जिम्मेवार छु। छोटो समयमा दक्षताका साथ पुस्तक छापेर तयार पारिदिनुहुने सिद्धकाली अफसेट प्रेस प्रालिका म्यानेजिङ डाइरेक्टर भक्त श्रेष्ठलाई धन्यवाद नदिई रहन सक्दिनँ।
यो पुस्तक कोरोना-कहरले गाँजेको वेलामा लेखिएको हो। कोरोनाले ल्याएको सन्त्रासको समयमा मेरो हरतरहले हेरविचार गर्ने परिवारका सदस्य विन्दु र नारायणप्रति म आभारी छु। परिवार चलाउने सीमित आम्दानीबाट उबारेर यो पुस्तकको प्रकाशनमा लगाउने श्रीमती विन्दु देवीलाई हार्दिक स्नेह व्यक्त गर्छु।
यो पुस्तक विन्दु, नारायणका साथै सानो नाति सायन (नृपेश)लाई पनि हो। दुई वर्ष पनि नपुगेको नातिले अहिले नै यो पुस्तक पढ्न त सम्भव छैन। ऊ ठूलो र बुझ्ने भएपछि आफ्नो पुर्ख्यौली भाषा नेपाली हो भन्ने थाहा पाउनेछ। नेपाली सिक्ने वा नसिक्ने उसको रोजाइको विषय हो। तर, पुर्ख्यौली जीन सन्ततिमा सर्दै जान्छ भन्ने वैज्ञानिक प्रमाणका आधारमा मेरो आशा तथा विश्वास छ- पुर्खाको भाषालाई उसले सम्मान गर्नेछ। नेपाली सिकेर बाजेले कोरेका विचार माथि टिप्पणी गर्न ऊ सक्षम हुनेछ। सायन! तिमी जहाँ रहे-बसे पनि आफ्नो पुर्ख्यौली भाषालाई माया गर्न नबिर्से! अस्तु।
अन्त्यमा, जुनसुकै सूचना प्रणालीमा उपभोक्ताले तथ्य चाहनु स्वाभाविक हो। तथ्याङ्क उत्पादन गर्ने प्रयत्नमा लाग्नु उत्पादकको जिम्मेदारी हो। तर, प्राविधिक कारणले सबै उत्पादन तथ्याङ्क हुन जरुरी छैन; सम्भव पनि छैन। साङख्यिकीय निकायले मानक विधि प्रयोग गरेर उपयोगी साङ्ख्यिकी एवं सूचक तयार पारेको हुन्छ। तयार पारिएका अधिकांश साङ्ख्यिकी तथ्याङ्क नभएर औसत, अनुमान, प्रक्षेपण आदिमा आधारित सूचक हुन्छन्। यस्ता सूचक प्रामाणिक निर्णयका लागि सहयोगी हुन्छन्। जोसुकै निर्णयकर्ताले सही निर्णयका लागि तथ्याङ्क प्रमाण नै खोज्नु ‘तर्कसङ्गत चाहना’ हो। तर, तथ्याङ्क उत्पादनकार्य सोचे जस्तो सम्भव र सुलभ छैन।
गोस्वारा बोलीमा कसैले साङ्ख्यिकीलाई तथ्याङ्क भने तापनि तोकेर भन्नुपर्दा जे हो त्यही भन्नुपर्छ। अनुमानलाई तथ्याङ्क नभनौं। असावधानीपूर्वक शब्दको प्रयोग गरिएमा त्यसले सही अर्थलाई अलमल्याउँछ। अर्थ दोषले समग्र साङ्ख्यिकीय विधाप्रति उपहास हुने गरेको छ। यस्तो उपहासलाई न्यूनतम बनाउन सकिन्छ र बनाउनुपर्छ भन्ने मेरो अभीष्ट विचार हो।
साङ्ख्यिकी शब्द नेपालीमा प्रचलित भैसकेको छैन। यसको पर्याय पनि सिर्जना भएको छैन। यो शब्द पारिभाषिक-प्राविधिक रूपमा स्थिर हुन समय लाग्न सक्छ। यसको सम्यक् प्रयोग शुरू गरौं, सङ्कोच नमानौं।
साङ्ख्यिकी शास्त्रीय एवं गहन विज्ञान-विषय हो। यसलाई थोरै शब्दमा बुझाउन कठिन छ। भ्रम, दृष्टिदोष वा अन्य कारणहरूले यसको विवेचनमा कठिनता, दुर्बोधता, अपूर्णता, आवृत्ति जस्ता दोष रहन सक्छन्। बाइमात्रा, दाहिना, तर्कुल्ले, बर्धन्ने, पदयोग आदि मानक नियमका दृष्टिले पुस्तकमा त्रुटि भएका हुन सक्छन्। ‘टाइपो’ जस्ता प्राविधिक त्रुटि पनि नघुसेका होलान् भन्न सक्तिनँ। मेरो भाषा-शैलीको अल्पज्ञानबारे त साबित भैसकेको छु। सबै प्रकारका अनैच्छिक गल्तीहरूका लागि क्षमाप्रार्थी छु। देखिएका त्रुटिहरूलाई सहन गर्दै पुस्तकमा प्रस्तुत विषयमा ध्यान दिनुहुन प्रिय पाठकमा विनम्र अनुरोध छ।
तार्किक आलोचनालाई सधैँ स्वागत छ। तथ्यात्मक र रचनात्मक भए ‘सुनमा सुगन्ध’ थपिनेछ। कुनै प्रकारको गल्ती भेटिए त्यसको सूचना पाउनेछु भन्ने आशामा छु।
पुनश्च- संस्कृत बाहेक अङ्ग्रेजी, अरबी, फारसी आदि भाषाका आगन्तुक तत्सम शब्दहरूलाई जानेसम्म जस्ताको तस्तै लेख्ने प्रयास गरेको छु- कानुनको सट्टा कानून, तरिकाको सट्टा तरीका, नतिजाको सट्टा नतीजा, पेसाको सट्टा पेशा, यकिनको सट्टा यकीन, स्कुलको सट्टा स्कूल आदि। वर्णविन्यासका लागि नेपाली बृहत् शब्दकोश (२०४०), संस्कृत-नेपाली बृहत् शब्दकोश (२०५७) तथा ‘Oxford Advanced Learner's Dictionary of Current English (2004)’ को सहायता लिएको छु।
इमानदार प्रयासको विपरीत असावधानीले गर्दा कुनै गल्ती हुन गएको भए क्षमा चाहन्छु। भन्न परोइन, उद्धरणमा वर्णविन्यास आदि बदलिएको छैन; स्रोत अनुसार जस्ताको तस्तै सारिएको छ। उदाहरणका लागि, मूल स्रोतमा ‘तथ्यांक’ लेखिएको भए त्यसलाई उद्धरणमा ‘तथ्याङ्क’ बनाइएको छैन; तथ्यांक नै सारिएको छ।
(लेखक बास्तोलाको अनुमतिमा उनको ‘तथ्याङ्क कि साङ्ख्यिकी?’ पुस्तकबाट साभार। यो आलेख ‘कुराको थालनी’ शीर्षकमा प्रकाशित छ।)