अलपत्र एकीकृत बस्ती‚ बस्न मान्दैनन् भूकम्पपीडित
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा निर्माण गरिएको एकीकृत बस्ती अलपत्र परेको छ। बस्तीमा निर्माण गरिएका घरको कोठामा बाख्रा‚ दाउरा, मकैको खोस्टा र ढोड राखिएको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा निर्माण गरिएको एकीकृत बस्ती अलपत्र परेको छ। २०७२ सालको भूकम्पबाट पीडितका लागि निर्माण गरिएको एकीकृत बस्ती योजना सम्पन्न नहुँदै अलपत्र परेको हो।
एकीकृत बस्तीका लागि स्थानीय शारदाप्रसाद ढकाल र कृष्णकुमारी ढकालले सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। त्यही जग्गामा २०७५ सालदेखि रामनाथ एकीकृत नमूना बस्ती निर्माण शुरू गरिएको थियो।
एक करोड रुपैयाँभन्दा बढी खर्च भएको एकीकृत बस्तीमा २०७७ सालमै जस्तापाता हालिएका १९ वटा घर निर्माण गरिएका थिए। तर‚ उक्त घरमा हालसम्म झ्याल र ढोका हालिएको छैन। घरको भुइँ ढलान गरिएको छैन। रङरोगन भएको छैन। शौचालय निर्माण, खानेपानी, विद्युत् विस्तार बाँकी नै छ।
घरको कोठमा बाख्रा राखिएका छन्। दाउरा, मकैको खोस्टा र ढोड भण्डार गरिएको छ। एकीकृत बस्तीको घरअगाडि झाडी र झारपात झाँगिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट लाभग्राहीले पाउने तीन लाखमध्ये दुई लाख ५० हजार रुपैयाँमा आवास घर निर्माण गरिएको हो। प्रथम किस्ता बापतको ५० हजार रुपैयाँ भने सम्बन्धित लाभग्राहीले बुझेका छन्। त्यही ५० हजारले सम्बन्धित घरधनीले झ्याल‚ ढोका हाल्ने, भुइँ ढलान गर्ने र शौचालय व्यवस्था गर्नुपर्ने एकीकृत बस्ती निर्माण संयोजक प्रमेश ढकाल बताउँछन्।
एकीकृत बस्तीमा आवास बाहेक मशिनरी वाल, नाली, भ्यूटावर, मन्दिर, स्टेज, चिल्ड्रेन पार्क, सडक, पार्किङ, भोजनालय लगायतका संरचना निर्माणका लागि तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन), ओखलढुंगालाई एक करोड ३५ लाख रुपैयाँ माग गरिएको थियो। तर‚ ५७ लाख ४५ हजार ९५९ रुपैयाँ बजेट छुट्याएको थियो। तर‚ कामको परिमाण नपुगेको भन्दै ५२ लाख मात्र भुक्तानी दिएको ढकालले बताए।
एकीकृत बस्तीको घडेरी सम्याउन नगरपालिकाले जेसीभी उपलब्ध गराएको थियो। यस बाहेक नगरपालिकाले दुई थान सौर्यबत्ती राखिदिएको छ। वर्षामा भत्किएको पर्खाल मर्मतका लागि एक लाख र गेट निर्माणका लागि ९४ हजार रुपैयाँ दिएको छ। एकीकृत बस्तीसँगै जोडेर फूलबारी नेशनल स्कूल सञ्चालनमा ल्याइएको छ। स्कूल डा. नरेश रिमालको आर्थिक सहयोगमा निर्माण गरिएको हो।
लाभग्राही एकीकृत बस्तीमा सर्न अनिच्छुक
निर्माण संयोजक ढकालका अनुसार‚ सम्झौता अनुसारको काम सम्पन्न गरेर २०७७ असार ३० गते एकीकृत बस्ती वडालाई हस्तान्तरण गरिएको हो। तर‚ हालसम्म एकीकृत बस्तीका दुई बाहेक अन्य घर अलपत्र छन्। १७ लाभग्राही एकीकृत बस्तीमा सर्न सकेका छैनन्।
वायरिङ, शौचालय, खानेपानी, झ्यालढोका, कम्पाउन्ड, रङरोगनको काम नगरी एकीकृत बस्तीको काम अलपत्र छाडिएको वडा सदस्य टंक पोखरेल बताउँछन्। “आवासहरू मापदण्ड अनुसार बनेनन्। आर्थिक पारदर्शिता छैन,” पोखरेल भन्छन्, “आवास सम्बन्धित व्यक्तिलाई हस्तान्तरण भएको छैन।”
लाभग्राहीले आफैं झ्याल, ढोका हाल्ने, शौचालय बनाउने र भुइँ ढलान गर्ने गरी ५० हजार रुपैयाँ राखे पनि त्यो रकम अर्कै शीर्षकमा खर्च गरेकाले निर्माण अलपत्र परेको संयोजक ढकालको भनाइ छ। आवास निर्माण नगरे प्रथम किस्ता बापतको ५० हजार फिर्ता गर्नुपर्ने हुन्छ। कतिपय लाभग्राहीले त्यही रकम फिर्ता गर्नबाट जोगिन एकीकृत बस्तीमा सर्न भने मन नगरेको ढकालको भनाइ छ। अर्कातर्फ, गाउँघरमा छरिएर बसेका लाभग्राहीलाई एकैठाउँमा ल्याउन सहज छैन। उनीहरू पुरानो थातथलो र खेतबारी छाडेर एकीकृत बस्तीमा सर्न अनिच्छुक छन्।