एशिया देखाउने ऐना
चीन एशियाको शक्ति राष्ट्र भए पनि उसले भारतलाई नजरअन्दाज गर्न हुँदैन। किनकि‚ उदीयमान शक्ति राष्ट्र भारत चीनभन्दा सफल हुन सक्छ।
उन्नाइसौं शताब्दी यूरोपको थियो‚ बीसौं शताब्दी अमेरिकाको। अब एक्काइसौं शताब्दी एशियाको हुँदै छ। उदाउँदो एशियाको उथलपुथल र राष्ट्रहरूबीचको गठबन्धनबारे सिंगापुरका कूटनीतिज्ञ एवं एशियाली मामलाका जानकार किशोर किशोर महबुबानीले दी एशियन ट्वेन्टीफर्स्ट सेन्चुरीमा चर्चा गरेका छन्।
विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको महादेश एशियाले विश्वमा आर्थिक हैसियत पनि राख्दछ। जसमध्ये चीन पनि एक हो। त्यसैले महबुबानीले आफ्नो पुस्तकमा चीनको उदयलाई केन्द्रमा राखेका छन्। चीनको उदयले एशियामा नयाँ विश्व व्यवस्थाको खाका कोरिंदै गएको उनको विश्लेषण छ।
चीन एशिया प्रशान्त क्षेत्रबाट अमेरिकालाई उछिनेर ताइवानलाई एकीकरण गर्न चाहन्छ। यस्तै‚ दक्षिणतर्फ जलमार्गको सुरक्षा साथै पूर्वीतर्फ रहेका टापु विवादमा चीन आफ्नो वर्चस्व कायम राख्न चाहन्छ।
चीनले एशियामा मात्र होइन‚ विश्वमा नै आफू अब्बल भएको देखाउँदै आएको छ। कोभिड-१९ ले विश्व आक्रान्त भएको वेला चीनले भने यसको चुस्त व्यवस्थापन गरेर पश्चिमा मुलुकभन्दा आफू सक्षम रहेको सन्देश दिएको थियो। चार हजार वर्ष पुरानो चिनियाँ सभ्यतालाई २०० वर्षको इतिहास भएको अमेरिकाले हैकम जमाउनले नमिल्ने महाभुबानी बताउँछन्।
महबुबानीका अनुसार‚ एशियामा उन्नाइसौं शताब्दीदेखि विकास शुरू भएको हो। बीसौं शताब्दीसम्म आइपुग्दा सिंगापुर, हङकङ‚ ताइवान र मलेशिया उदाए। ती मुलुकहरूले जापानको विकासको अनुकरण गरेका थिए। यिनै मुलुकहरूको अनुकरण गर्दै चीनले सन् १९७८ मा आर्थिक उदार र सुधारको कार्यक्रम लागू गर्यो। ४० वर्षमा चीनले ६० करोड नागरिकलाई गरीबीबाट मुक्त गर्यो। चीनको यो अद्भुत सामर्थ्यबाट पश्चिमा मुलुक विशेषतः अमेरिका झस्किएको छ। दक्षिण पूर्वी एशियाको संगठन आसीयान यूरोपियन युनियनभन्दा सफल क्षेत्रीय संगठन हो। यो चीनको अग्रसरतामा खुलेको संगठन हो।
अमेरिका अहिले प्रजातन्त्रभन्दा अल्पतन्त्र उन्मुख भएको महाभुबानीको विश्लेषण छ। अमेरिकाले मानव अधिकारका विषयमा आफूलाई एउटा र अर्कोलाई बेग्लै नीति अपनाउने गरेको आरोप उनले लगाएका छन्। अमेरिकाले दोस्रो विश्वयुद्धपछि एशियाका दक्षिण कोरिया, जापान र ताइवान प्रायद्वीपमा सेना तैनाथ गरेर हैकम जमाइरहेको छ।
चीन एशियाको शक्ति राष्ट्र भए पनि उसले भारतलाई नजरअन्दाज गर्न नहुने महबुबानी बताउँछन्। किनकि‚ उदीयमान शक्ति भारत पछि चीनभन्दा सफल हुन सक्ने अनुमान उनको छ। अर्कातर्फ चीनको उदयलाई रोक्न पश्चिमा मुलुकहरूले भारत सम्मिलन क्वाड जस्ता गठबन्धन बनाइसकेका छन्। त्यसैले चीन विरोधी गठबन्धनमा लाने अमेरिकीको चाहनालाई सन्तुलनमा राख्न भारतले चीनसँग समान सम्बन्ध कायम राख्नुपर्ने महबुबानी सुझाव दिन्छन्। चीनको उदयलाई रोक्न अमेरिकी राष्ट्रपति जो बाइडेनले धेरै स्रोत र समय खर्च गरेका छन्।
चीनको उदयमा अमेरिकाको कदम नै कारक भएको महबुबानीले बताएका छन्। अमेरिकाले इराक र अफगानिस्तानको युद्धमा ट्रिलियन डलर र महत्त्वपूर्ण समय खेर फालेकाले नै चीनले उदाउने मौका पाएको उनको विश्लेषण छ। चीन पश्चिमा मुलुकको विश्व व्यवस्थाभित्रै रहेर उदाएको राष्ट्र हो। चिनियाँ नेताहरू चीनलाई आधुनिक बनाउन चाहन्छन्, तर यूरोपेली र अमेरिकीले चाहे जस्तो होइन।
चीन आफ्नो नेतृत्वको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), एशियन इन्फ्रास्ट्राक्चर र संघाई कोअपरेशन अर्गनाइजेशन जस्ता बहुपक्षीय संगठन मार्फत अघि बढेको छ। चिनियाँ नेताहरू चीनको शान्तिपूर्ण उदय भएको बताउँछन्। महबुबानीको पुस्तकमा सांस्कृतिक, आर्थिक, सैन्य शक्तिले महत्त्वपूर्ण हुँदै गएको एशियाको वर्तमान र भविष्य देखाउने प्रयत्न गरिएको छ।
पुस्तकः दी एशियन ट्वेन्टीफर्स्ट सेन्चुरी
लेखकः किशोर महबुबानी
प्रकाशकः स्प्रिङ्गर