फेरि अघि बढ्यो बेगनास-रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनाको काम
नेपाल विद्युत् प्राधिकरणले कास्कीको बेगनास र रूपा तालबाट पम्प स्टोरेज गरेर विद्युत् निकाल्ने परियोजना पुनः अघि बढाएको छ।
रामसार सूचीमा सूचीकृत बेगनास र रूपा तालको पानी पम्प स्टोरेज गरी १५० मेगावाट विद्युत् निकाल्ने प्राधिकरणले जनाएको छ। पम्प स्टोरेज प्रविधिबाट नेपालमै पहिलो पटक विद्युत् निकाल्न लागिएको प्राधिकरणले जनाएको छ।
कास्कीका नौ तालमध्ये रूपा र बेगनास तालको भौगोलिक बनावट हेर्दा समथर देखिए पनि दुई तालबीचको सतह करीब ६० मिटर तलमाथि छ। बेगनासभन्दा रूपा ताल ६० मिटर होचो छ। त्यसैले बेगनास तालको पानी रूपा तालमा झारेर पिक आवरमा विद्युत् उत्पादन गर्ने योजना प्राधिकरणले अघि बढाएको हो।
यसअघि प्राधिकरणले २०७४ कात्तिक २७ मा बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनाको सर्वेक्षण गर्ने लाइसेन्स पाएको थियो। लगत्तै जापानी सहयोज नियोग (जाईका)ले आयोजनाको प्रारम्भिक अध्ययन सके पनि काम अघि बढेको थिएन।
उक्त आयोजना प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहिलो कार्यकालमा शुरू भएको थियो। उनी गएपछि कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य आए। तर, काम अघ बढ्न सकेन।
घिसिङ पुनः कार्यकारी निर्देशक भएपछि बेगनास–रूपा पम्प जलाशययुक्त जलविद्युत् आयोजनाको काम अगाडि बढाउन लागिएको हो। प्राधिकरणले सर्वेक्षणको लाइसेन्स २०७८ कत्तिक २० नवीकरण गरेको छ।
प्राधिकरणका उपकार्यकारी निर्देशक रामजी भण्डारीले बेगनास–रूपा पम्प स्टोरेज बनाउने प्रक्रिया अघि बढेको बताए। “हामी अब थप अध्ययन अघि बढाउँछौं। यसबीचमा सरोकारवाला निकायसँग छलफलमा जुटिरहेका छौं,” उनले भने, “समस्या समाधान गरी अब कसरी जान सकिन्छ भन्ने अवलोकन र अध्ययन अघि बढ्छ।”
अहिले रूपा तालमा संरक्षण एकीकृत विकास आयोजनाको काम भइरहेको छ। रूपा तालमा ६ मिटर अग्लो बाँधका कारण डुबानमा पर्ने जग्गा प्राप्तिको काम भइरहेको छ। बेगनास तालमा हाल रहेको जलस्तरभन्दा थप एक मिटर बाँध बढाएर विद्युत् उत्पादनका लागि प्रयोग गरिने उपकार्यकारी निर्देशक भण्डारीले बताए। उनका अनुसार, दैनिक अधिकतम चार घण्टा साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् उत्पादन गरिनेछ। यस अवधिमा बेगनासको जलस्तर एक मिटर कम हुनेछ। राति १२ बजेदेखि ४ बजेसम्म पानी रूपा तालबाट पुनः बेगनास तालमा पम्प गरिनेछ।
पम्प स्टोरेज आयोजनामा विद्युत्गृह माथि र तल गरी दुई ड्याम हुन्छन्। सुन्दरडाँडाबाट बेगनासको पानी रूपा तालमा खसाएर विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ। यो योजनामा करीब २० अर्ब खर्च हुने प्राधिकरणको अनुमान छ।
प्राधिकरणले बुधबार गण्डकी प्रदेश सरकार, सम्बन्धित स्थानीय सरकार र स्थानीयवासी लगायत सरोकारवालासँग छलफल गरेको छ।