पूर्व आईजीपी खनालको एमाले नाता
प्रहरी सेवामा हुँदा विवादरहित अधिकृतको छवि बनाउन नसकेका पूर्व आईजीपी सर्वेन्द्र खनालको औपचारिक रूपमा पार्टी प्रवेश हुनुअघि नै एमालेसँग हिमचिम रहेको देखिन्छ।
पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल असोज ६ गते आयोजित कार्यक्रममा नेकपा (एमाले) प्रवेश गरे। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टी सदस्यता लिएपछि खनालले भावविभोर भएको बताए।
असोज ६ गतेको पूर्व आईजीपी खनालको एमाले यात्रा औपचारिक मात्रै हो। खनाल एक मात्र यस्ता पूर्व प्रहरी प्रमुख हुन् जसले अवकाश पाएको दुई महीना नपुग्दै आफ्नो राजनीतिक झुकाव देखाएका थिए।
७५ हजारको फौजी संगठन हाँकेर अवकाश पाएका खनाललाई एमालेको सत्ता समीकरण जोगाइदिन सांसद ‘अपहरण’ गरेको आरोप लाग्यो। २०७६ फागुन अन्तिममा सेवानिवृत्त खनाल २०७७ वैशाखको पहिलो साता नै तत्कालीन संघीय समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीस्थित उनको घरबाटै जबर्जस्ती काठमाडौं ल्याउन सक्रिय भएका थिए।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किएर केपी शर्मा ओली नेतृत्वको सरकार धरमराउन थालेपछि संघीय समाजवादीलाई फुटाएर सरकारमा सामेल गराई सत्ता टिकाउने दाउ अन्तर्गत त्यो योजना रचिएको थियो। संघीय समाजवादीले आफ्नो सांसद अपहरित भएको भन्दै प्रहरीमा जाहेरी दिन खोजे पनि दर्ता भएन। यादवलाई राखिएको काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा समाजवादीका नेताहरू पुगेपछि मात्र उनी ‘बन्धनमुक्त’ भएको जनाइएको थियो। सांसद यादवलाई ल्याउन एमाले नेता महेश बस्नेत सहित पूर्व आईजीपी खनाल महोत्तरी पुगेका थिए।
सुरक्षा निकायको प्रमुख अवकाश लगत्तै राजनीतिक दलमा आबद्ध हुँदा राज्यको संवेदनशील सूचनाको दुरुपयोग हुने भन्दै त्यतिवेलै खनालको राजनीतिक लगावप्रति आलोचना भएको थियो। त्यसपछि उनी लामो समय गुमनाम जस्तै रहे। तर, चुनावको मुखमा भने खनाल औपचारिक रूपमा एमालेमा जोडिन पुगेका छन्। मधेश प्रदेशबाट खनाललाई एमालेले सांसदको टिकट दिने चर्चा चले पनि त्यसको औपचारिक पुष्टि भएको छैन।
विवादित विगत
नायब महानिरीक्षक (डीआईजी) छँदासम्म सकारात्मक छवि बनाएका खनाल प्रहरी नेतृत्वमा पुगेपछि भने अपेक्षित काम गर्न नसक्ने अधिकृतमा दरिए। उनी प्रहरीको नीति निर्माणबारे छलफल गर्ने पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) बैठक नै नबसाली एकलौटी निर्णय गर्थे। आलोचनापछि बल्ल आधा दर्जन पटक बैठक बसालेका थिए। उनले पदमा छँदा आफ्नो र सचिवालयका लागि सवारी साधनको समेत लर्को लगाएका थिए।
आधा दर्जन गाडी आफू प्रयोग गर्थे भने सचिवालयमा १० वटा गाडी तैनाथ थिए। १० मध्ये नौ वटामा निजी नम्बर प्लेट प्रयोग गरिएको थियो। यसबारे २०७५ मंसीरमा समाचार प्रकाशित भएपछि निजी नम्बर प्लेट हटाएर सबै गाडी प्रहरीको सवारी महाशाखामा फिर्ता पठाइएका थिए।
अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर ‘ब्ल्याकमेलिङ’ मार्फत पैसा असुल्ने चिनियाँ गिरोहका नाइकेलाई भगाउने कार्यमा समेत सामेल भएको खनालमाथि आरोप छ। २०७६ पुसमा खनाल इन्टरपोलको महासभामा भाग लिन चिली गएका वेला नेपालस्थत चिनियाँ दूतावासको पत्रका आधारमा प्रहरीले अनुसन्धान थाल्यो। तर, अनुसन्धान परिपक्व नहुँदै आईजीपी खनालले ‘अपरेशन’ गर्न दबाब दिए।
निमित्त आईजीपीलाई समेत पत्तो नदिई गरिएको यो अपरेशनमा मुख्य नाइके भागे। चेन सितियान नाम गरेका मुख्य नाइकेसँग खनालको उठबस रहेको खुलेको थियो।
२०७६ असोजमा प्रहरीले अनमुति विना ल्याइएका २९३ थान मोबाइल जफत गर्यो। यो मोबाइल छुटाउन चिनियाँ नागरिक सितियानले आफूले आईजीपी खनालसँग कुरा गरिसकेको भन्दै बिचौलिया मार्फत विमानस्थलको प्रहरीलाई वी-च्याटमा भ्वाइस म्यासेज पठाए। म्यासेज सहित खनालसँग सितियानले भेटेको फोटो पनि थियो।
उपत्यकाका २० ठाउँमा चिनियाँले यस्तो धन्दा चलाएको पहिचान खुले पनि तीन ठाउँमा मात्र छापा मारिएको थियो। आठ हजार चिनियाँ सामेल रहेको भन्दै चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालय मार्फत गृहमा पत्र पठाएको थियो। गृहले पाँचदेखि ८०० पक्राउ पर्ने यकीन गराएको थियो। तर, १२२ जना मात्रै पक्राउ परेका थिए।
तत्कालीन गृह सचिव प्रेमकुमार राईले पनि प्रहरी अपरेशनप्रति असन्तुष्टि जनाएका थिए। त्यति वेला राईले भनेका थिए, “जति काम गर्नुपर्ने हो, गर्न सकिएन। मैले प्रहरीलाई सोधेको थिएँ, एकातिर काम गर्दागर्दै, अर्कातिर सकिएन भन्ने जवाफ आएको छ।”
प्रहरीले अपरेशन गर्नुभन्दा अघिल्लो दिन मात्र मुख्य नाइके सितियान फिलिपिन्स उडेका थिए।
प्रहरीले गर्नुपर्ने अनुसन्धानको दायित्व गृह मन्त्रालयले खिचेर लिंदा समेत नेतृत्वमा रहेका खनालले अडान लिन नसकेको आरोप पनि लाग्ने गरेको छ। निर्मला पन्तको बलात्कारपछि भएको हत्या, तस्करीको ३३ किलो सुन चोरी प्रकरणमा भएको सनम शाक्यको हत्या जस्ता घटनामा गृह मन्त्रालयको नेतृत्वमा अनुसन्धान समिति गठन भएका थिए। विभागीय मन्त्रालयले नै आफ्नो अधिकार खोस्दा समेत खनाल मूकदर्शक बनेको आरोप छ।
अनुसन्धानकारी निकायलाई पन्छाएर निजामती कर्मचारीले नेतृत्व गरेका यी दुवै समितिका काम असफल भएका छन्। निर्मला पन्त प्रकरणमा अभियुक्त नै पहिल्याउन सकिएको छैन भने साढे ३३ किलो सुन चोरी प्रकरणमा समेत आरोपितमध्ये धेरैलाई जिल्ला अदालत, मोरङले धरौटीमा छाडेको छ। जेल परेकाहरू सनम शाक्य हत्या प्रकरणमा जोडिएकाहरू छन्।
सवारी साधन, प्रहरीको बन्दोबस्तीका सामान खरीदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो। यद्यपि‚ उक्त उजुरी तामेलीमा राखियो।
प्रहरीको माथिल्ला पदबाट अवकाश पाएका अधिकांश अनियमितता र विवादमा तानिएकाहरू छन्। विवादित कार्यकाल गुजारेर प्रहरी प्रमुखबाट बाहिरिए लगत्तै पनि विवादमा तानिएका खनालले राजनीतिक दलको सदस्य बनेपछि कस्तो छवि बनाउलान्?