विश्वकप पूर्वाधार निर्माणमा प्रियजन गुमाउनेलाई कतार र फिफाले के गर्नुपर्छ?
मानव अधिकारवादी संस्थाले फिफा प्रायोजकहरूलाई विश्वकप पूर्वाधार निर्माण गर्ने आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन आग्रह गरेका छन्।
आगामी २० नोभेम्बरदेखि विश्वभरका फूटबलप्रेमी टीभी अगाडि झुम्मिरहँदा धेरैलाई विश्वकपको तयारीमा दक्षिणएशियाका आप्रवासीले के गुमाए भन्ने थाहा नहुन सक्छ। विश्वकप फूटबल प्रतियोगिता हुने आठ वटा रंगशाला निर्माणमा नेपाल लगायतका मुलुकका हजारौं आप्रवासी कामदारका रगत, पसिना र आँसु परेको छ।
रंगशाला निर्माणका क्रममा कयौं कामदारले ज्यान गुमाए, अन्य कयौं अंगभंग भए। त्यस बाहेक अन्य कयौंले सम्झौता अनुसारको तलब भत्ता नपाएको र काम पाउन गैरकानूनी तवरमा पैसा तिर्नुपरेको थियो।
फिफा विश्वकप-२०२२ का लागि दुई महीना मात्र बाँकी रहँदा मानव अधिकारवादी संस्थाले फिफाका प्रायोजक कम्पनीहरूलाई रंगाशाला तथा विश्वकप लक्षित पूर्वाधार निर्माणमा खटिएका कामदार लाई क्षतिपूर्ति दिन आग्रह गरेका छन्। ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरन्याशनल र फेयर स्क्वायरले फिफाका प्रायोजक तथा साझेदारहरू र कतारी फूटबल एसोसिएशनलाई प्रतियोगिता पूर्वाधार निर्माणका क्रममा घाइते भएका कामदार र तीनका परिवारलाई क्षतिपूर्ति दिन आग्रह गरेका छन्।
यो आह्वान त्यो वेलामा आएको छ, जब नयाँ विश्वव्यापी सर्भेले ६६ प्रतिशत जो सहभागी भएका थिए र ७२ प्रतिशत जसले कम्तीमा पनि विश्वकपको एउटा म्याच हेर्ने योजनामा छन्, तिनले फिफाका साझेदार र प्रायोजकले कामदारलाई क्षतिपूर्ति दिनुपर्ने सार्वजनिक घोषणा फिफाबाट आउनुपर्ने बताएका छन्। जनमत सर्वेक्षण एम्नेस्टि इन्टरन्याशनलका लागि युगोभ संस्थाले गरेको होे। सर्वेक्षणमा अर्जेन्टिना, जर्मनी, केन्या, मेक्सिको, मोरक्को, बेलायत, अमेरिकाका १७ हजार ४७७ वयश्कको सहभागिता थियो।
ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरन्याशनल र फेयर स्क्वायरले फिफाका १४ वटा व्यावसायिक साझेदार र विश्वकप प्रायोजकलाई गत जुलाईमा पत्र लेखेर विश्वकै सबैभन्दा ठूलो खेल उत्सवका लागि आवश्यक पर्ने रंगशाला, होटल, सडक, मेट्रो रेल निर्माण गर्ने क्रममा ज्यान गुमाएका र घाइते भएका कामदारले पाउनुपर्ने ज्याला र क्षतिपूर्ति रकम भुक्तानी गर्न आग्रह गरिसकेको छ।
फिफाका चार साझेदार व्यावसायिक संस्था बडवाइजर, एडिडास, कोकाकोला र म्याकडोनल्डले क्षतिपूर्ति भुक्तानी गर्न र आप्रवासी कामदार सुरक्षित हुने तरिकाले निर्माण कार्यविधि अपनाएर कतारमा जारी निर्माणलाई प्रभावकारी बनाउने सकिन्छ भन्नेमा आफूहरू सहमत रहेको बताइसकेका छन्।
फिफाका अन्य १० साझेदार, जसमा भिसा, हुन्डाइ-किया र कतार एअरवेज पनि छन्। तिनले भने यस विषयमा मौनता साँधेका छन्। जबकी उनीहरूले आफ्नो कार्य सञ्चालन नीतिमा मानव अधिकार, वातावरणीय, सामाजिक, र सुशासनलाई सम्मान गर्ने प्रतिबद्धता गरेका छन्।
“ब्रान्डहरूले विश्वकप प्रायोजनको अधिकार लिन चाहन्छन्, किनभने उनीहरू खेलको आनन्द, निष्पक्ष प्रतिस्पर्धा र भव्य मानवीय उपलब्धिसँग सहकार्य हुन चाहन्छन्। उनीहरु ज्याला वितरणको असमानता र विश्वकपलाई सफल बनाउने क्रममा मृत्यु भोग्न बाध्य कामदारप्रतिको अन्यायलाई साथ दिन चाहँदैनन्,” ह्युमन राइट वाचकी निर्देशक मिङकी वर्डन भन्छिन्।
विश्वकप आउन दुई महीना मात्र बाँकी भएको हुँदा प्रायोजकहरूले फिफालाई मानव अधिकारका प्रतिवद्धता पूरा गर्न फिफा र कतारी अधिकारीलाई दबाब दिनुपर्नेमा उनको जोड छ। फिफाले अहिलेसम्म यस विषयमा आफूले पुनर्विचार गरिरहेको भन्दै समाधानको कुनै उपायबारे केही बताएको छैन र समय घर्काइरहेको छ।
“कर्पोरेट व्यावसायीहरूबाट आम सर्वसाधारणले के चाहेका छन् भन्ने स्पष्टै छ,” एम्नेस्टि इन्टरन्याशनलका आर्थिक तथा सामाजिक न्याय विभाग प्रमुख स्टेफन ककबर्न भन्छन्, “हामी सबै कतारका काम गरेका कामदारको अधिकारको पक्षमा लाग्नुपर्छ र प्रतियोगिता आयोजना गर्ने क्रममा आघात भोगेका कामदारलाई क्षतिपूर्ति दिनुपर्ने पक्षमा आवाज उठानुपर्छ।”
ह्युमन राइट्स वाचले ह्यासट्याग नै बनाएर विश्वव्यापी अभियान चलाउँदै फिफालाई यस समस्याको उचित निराकण खोज्न दबाब दिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनको अनुमानमा कतारमा काम गर्ने क्रममा सन् २०२१ मा ५० विदेशी कामदारको मृत्यु भएको छ भने पाँच सयभन्दा बढी कामदार गम्भीर रुपमा घाइते भएका छन्। तर, विश्वकप पूर्वाधार निर्माणको क्रममा हजारौंको मृत्यु भएको छ।
पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय श्रम संगठनको दबाबमा कतारी सरकारले सुधारका कदम चालेको थियो। जसमा आप्रवासी श्रमिकको लागि दुर्व्यवहारपूर्ण निष्कासन, श्रमिकलाई करार सम्झौता सकिएपछि पहिलो रोजगारदाताको अनुमति विना काम फेर्न पाउने सुविधा र भेदभावरहीत न्यूनतम पारिश्रमिकको व्यवस्थाका बुँदा थिए।
यद्यपि, मानव अधिकारकर्मी कतारमा अझै गम्भीर श्रम शोषण र विगतका झैं दुर्व्यवहार नरोकिएको बताउँछन्। भएका प्रावधानहरू प्रभावकारी रुपमा कार्यान्यवन भएका छैनन्। उदाहरणको लागि कतार छोडिसकेका कामदारले श्रम समितिमा सम्पर्क गर्न पाउँदैनन्। त्यस्तै, आफूले पाउनुपर्ने पैसा नदिएमा भुक्तानी गर्ने जिम्मा लिएको कोषमा सम्पर्क गर्न पनि पाउँदैनन्।
कतारलाई विश्वकप आयोजना गर्न दिँदा श्रम अधिकारको हनन नहुने र रोकथामका उपाय अपनाइने कुनै पनि शर्त नराखिएकोमा फिफाको आलोचना भएको हो। त्यही भएर फिफालाई विश्वकप फूटबलसँग सम्बन्धित पूर्वाधार निर्माणमा आप्रवासी कामदारमाथि दुर्व्यवहार भएको आरोप लागेको छ।
क्षतिपूर्तिले आप्रवासी कामदार र तिनीहरूका परिवारलाई दीर्घकालीन फाइँदा हुनसक्छ। त्यसैले, अधिकारवादी संस्थाले फिफा र कतार सरकारलाई प्रतियोगितामा भाग लिने खेल टोलीलाई पुरस्कारका लागि छुट्याइएको ४४ करोड अमेरिकी डलर बराबरको सञ्चित कोषको व्यवस्था गरेर आप्रवासी कामदारको सुरक्षा र क्षतिपूर्तिका लागि खर्च जुटाउन दबाब दिएको छ।
“जसले आफ्ना प्रियजन गुमाएका छन्, तिनका लागि कतार र फिफाले गर्न सक्ने केही पनि छैन,” आप्रवासी कामदारको श्रम शोषण सम्बन्धमा अनुसन्धान गर्ने फेयर स्क्वायरका निक म्याकगेहन भन्छन्, “तर, आप्रवासी कामदारको मृत्युका कारण समस्यामा परेका पीडितका परिवारलाई क्षतिपूर्तिले केही सान्त्वना र राहत दिनुका साथै सम्भावित क्षति कम पनि हुन सक्छ।”
यो सामग्री अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।