सभामुख र उपसभामुखको पद खाली गराउन सर्वोच्चमा रिट
प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई र जगन्नाथ दुलाल तथा कानून संकायकी विद्यार्थी रेजीना पौड्यालले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन्। उनीहरूले प्रतिनिधि सभाका सदस्यको समावधि असोज १ गते सकिएकाले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसाल गौतमको पनि पदावधि सकिएको जिकिर गरेका छन्।
संविधानले नै प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवार दर्ता भएको अघिल्लो दिनसम्म मात्रै पदावधि हुने व्यवस्था गरेको रिटमा उल्लेख गरिएको छ। उनीहरूले भनेका छन्, “नेपालको संविधानको धारा ९१ को उपधारा (६) (क) मा प्रयुक्त पदावलि ‘तर, प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा वहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्’ अन्यथा प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ भन्ने कुरा स्पष्टसँग उल्लेख गरिएको छ।”
उनीहरूले सभामुख र उपसभामुखको पद खाली गराउनका लागि परमादेशको माग गरेका छन्। यससँगै उनीहरूले सभामुख र उपसभामुखको सेवा सुविधा पनि रोक्न अन्तरिम आदेशको माग गरेका छन्।
यसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र संसद् सचिवालयलाई विपक्षी बनाइएको छ। यस रिटको शुक्रबार पेशी तोकिएको छ।
सर्वोच्च अदालतमा दायर भएको रिट: