लप्सीफेदी सबस्टेशन निर्माणमा स्थानीयको अवरोध, तीन वर्षसम्म काम शुरू हुन सकेन
काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गर्दा तामाकोसी-काठमाडौं उच्च क्षमताको प्रसारण लाइनको निर्माण अनिश्चित भएको छ भने ४०० केभी प्रसारण लाइनका पाँच वटा टावर निर्माण हुन सकेका छैनन्।
लप्सीफेदी सबस्टेसन निर्माणका लागि करीब ७० जग्गाधनीको १७० रोपनी जग्गा अधिग्रहणका लागि २०७४ माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो। एउटा कित्ताका जग्गाधनीबाहेक अधिकांश जग्गाधनीले मुआब्जा तथा क्षतिपूर्ति रकम बुझिसकेका भए पनि स्थानीयले पछिल्लो समय प्रसारण लाइन विस्तारमा निरन्तर अवरोध गरिरहेका छन्।
मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नुपर्ने माग राख्दै केही स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सबस्टेसन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी नयाँ ठेकेदार छनोट गरेको थियो। नयाँ ठेकेदार आएपछि पनि स्थानीयले काम गर्न अवरोध गर्दै आएका छन्।
तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत मुख्य रुपमा काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदीमा ४००, २२० र १३२ केभीका सबस्टेसन निर्माण गर्न लागिएको हो। रामेछाप, दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा उत्पादित विद्युत काठमाडौं उपत्यकामा प्रवाह गर्न तामाकोशी-काठमाडौं ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ।
लप्सीफेदी सबस्टेसनबाट उपत्यकामा विद्युत छिराउन चाँगुनारायण सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण हुँदै छ। चाँगुनारायणमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ। चाँगुनाराण सबस्टेसनकै प्याकेजमा लप्सीफेदी सबस्टेसन राखिएको छ। तर, अधिग्रहण गरिएको जग्गामा समेत अवरोध हुँदा लप्सीफेदी सबस्टेसनको निर्माण अघि बढ्न सकेको छैन।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, शंखरापुर नगरपालिका मेयर रमेश नापित लगायत सम्मिलित टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको स्थलगत अवलोकन गरेको छ। टोलीले वडाध्यक्षहरू, प्रभावित, सरोकार समितिका पदाधिकारी र स्थानीय बासिन्दासँग छलफल गरी रणनीतिक महत्वको प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा अवरोध नगर्न आग्रह गरेको छ।
बस्तीबीच सबस्टेसन निर्माण गरिंदा मानवबस्ती नै नष्ट हुन्छ भन्ने बुझाइ गलत भएको बताउँदै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबस्टेशनको निर्माणबाट त्यस क्षेत्रको विद्युत आपूर्ति विश्वसनीय तथा भरपर्दो हुने र उद्योग कलकारखाना स्थापनाको नयाँ अवसर सिर्जना हुने बताए। काठमाडौं उपत्यकामा ११ वटाभन्दा बढी सबस्टेसन घनाबस्तीकै बीचमा रहेको तर त्यसबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको उनले बताए।
छलफलमा सहभागी स्थानीयले आयोजनाबाट त्यस क्षेत्रमा वातावरणीय, सामाजिक, आर्थिक र सांस्कृतिक प्रभाव पर्ने भएकोले सबस्टेशन तथा प्रसारण लाइनलाई अन्यत्र सार्न माग गरेका थिए।
काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो र विश्वसनीय बनाउन र प्रसारण सञ्जाल विस्तारका लागि एशियाली विकास ब्यांकको सहुलियतपूर्ण ऋणमा आयोजना शुरू गरिएको हो। आयोजना अन्तर्गत नै भक्तपुरको चाँगुनारायणमा १३२÷११ केभी सबस्टेशन निर्माणाधीन छ। स्थानीयको अवरोधका कारण लप्सीफेदी सबस्टेसन भने निर्माण हुन सकिरहेको छैन।
रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेशनबाट बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी-काठमाडौं प्रसारण लाइन आयोजना निर्माणाधीन छ। आयोजना अन्तर्गत लप्सीफेदीका स्थानीयको अवरोधका कारण पाँच वटा टावर निर्माण हुन सकेका छैनन्।