‘प्रश्न नगर्दा राजनीतिक दलका नेता जवाफदेही भएनन्’
नागरिकले प्रश्न नगर्दा राजनीतिक दलका नेताहरू जवाफदेही बन्न नसकेको एक कार्यक्रमका वक्ताहरूले औल्याएका छन्।
खोज पत्रकारिता केन्द्रले बिहीबार आयोजना गरेको ‘आम चुनाव-२०७९ को अर्थ’ विषयक संवादमा सहभागीहरूले नागरिक सचेत नहुँदा निर्वाचनमा दलका नेताहरूले मतदातालाई चुनावी अंग मात्रै मानेको जिकिर गरे। राजनीतिक विश्लेषक हरि शर्माले जनता सचेत नहुँदा र राजनीतिक दल तथा संवैधानिक अंगमा रहेका व्यक्तिलाई प्रश्न नगर्दा ती संस्थाहरू जवाफदेही नभएको बताए।
शर्माले भने, “लोकतन्त्रमा जनताले आफ्नो मन पर्ने उम्मेदवारलाई छान्न पाउँछन् भने छानेका उम्मेदवारलाई पनि जवाफदेही बनाउन खबरदारी गरिरहनुपर्छ।”
नागरिकको खबरदारीको अभावले नै हाल अदालत, संसद् जस्ता भरपर्दो संस्थाहरूकै क्षयिकरण भएको उनको भनाइ थियो। “मतदाता बन्न सजिलो छ, तर नागरिक बन्न गाह्रो छ। राजनीतिक दलले पैसाले मतदाता किन्न सक्छन् भने नागरिकलाई सक्दैन,” शर्माले भने।
पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री विद्याधर मल्लिक र राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति पार्वती रावलले पनि विश्लेषक शर्माको भनाइमा सहमति जनाए। सभापति रावलले नागरिकले भोट दिएर मात्र आफ्नो दायित्व पूरा नहुने बताउँदै राजनीतिक दलले ल्याएका घोषणापत्रको कार्यान्वयन भए-नभएको खबरदारी गर्दा मात्रै दलहरू सचेत हुने जिकिर गरिन्।
उनले राष्ट्रिय सभामा सम्बन्धित मन्त्रालयका समस्या तथा जनताले भोगिरहेका समस्याका विषयमा प्रश्न उठाउँदा जवाफ नपाउने गरेको बताइन्। “हामीले प्रत्यक्ष सम्बन्धित मन्त्रालयसँग बसेर विभिन्न विषयमा प्रश्न गर्यौं, तर यसको कुनै जवाफ पाइएन। मन्त्रीहरूलाई जिम्मेवार बनाउन दण्डको प्रवधान पनि हुनुपर्छ,” रावलले भनिन्।
त्यस्तै, पूर्व मन्त्री मल्लिकले नागरिकलाई मूर्ख नठान्न दलहरूलाई आग्रह गरे। “अबका जनता बुझ्ने छन्। कयौं विषयहरू बुझाउन पहिलेको जसरी सडकमा आन्दोलत गर्न जरूरी छैन। तथ्याङ्कहरूका आधारमा देशको आर्थिक, राजनीतिक, शिक्षा, स्वास्थ्यका विषयहरूमा बहस गर्नसक्ने भइसकेका छन्,” उनले भने।
तर, राजनीतिक दलका नेताहरूले नै आफूले तयार पारेका घोषणापत्रको अध्ययन नगरेको उनको जिकिर थियो। चुनावका वेला सार्वजनिक हुने घोषणापत्र कार्यान्वयनका लागि नागरिकले पनि खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।
निर्वाचन नियमित प्रक्रिया भए पनि नागरिकले सचेत भएर मतदान गर्नुपर्ने विश्लेषक शर्माको भनाइ थियो। उनले भने, “निर्वाचन नियमित हुन्छ, तर जनताले अबको भविष्य केमा छ भनेर सोच्नुपर्छ।”