कपन आगलागीमा परी मृत्यु हुने तीनै जनाको सनाखत
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा बुधबार राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ।
आगलागीमा परी ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौंको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाइट हिमालयन एडभेञ्चरको कार्यालयमा रहेको पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा काठमाडौंको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन्। दायाँ हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौं, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जानकारी दिए। आगो निभाउन २०० प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो। -रासस