‘नारायणगोपाल दाइसँगको एउटा गीतले जीवन नै फेरियो’
‘गोपाल योञ्जन र नारायणगोपाल दाइ चर्चाको शिखरमा हुँदा नै मैले उहाँहरूसँग गीत गाउँने मौका पाएँ। त्यो मेरो सांगीतिक जीवनकै उत्कृष्ट समय हो।’
‘मान्छेको माया यहाँ खोलाको पानी जस्तो’, ‘कसैले बुझेन मेरो मनको बहलाई’, ‘शिरिमा शिरि नी कान्छा बतास चल्यो’ जस्ता कालजयी गीतमा स्वर दिएकी गायिका हुन्, ज्ञानु राणा। २०२५ सालमा उनी सांगीतिक यात्रामा प्रवेश गर्दैगर्दा औलामा गन्न सकिने मात्र महिला गायिका थिए। त्यसवेला गीतसंगीतमा महिला लाग्न ठूलै आँट चाहिन्थ्यो। तर, उनले त्यो चुनौतीलाई सहर्ष स्वीकार्दै आजसम्म संगीतको सागरमा डुबिरहेकी छन्।
बुवा जनकवि केशरी धर्मराज थापाले हिडेको बाटोमा पछ्याउँदै आएकी राणा आज ७२ वर्षको उमेरमा पनि गीत र भजन रेकर्ड गराउन तल्लिन छिन्। पाँच दशक लामो संगीतिक यात्रासँगै जीवनका विविध पाटोमा केन्द्रित भएर उनै गायिका राणासँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानी:
तपाईंले १४ वर्षको उमेरै गीत गाउन थाल्नुभयो। अहिले ७२ वर्षको पुग्नुभयो। अब त गलालाई आराम दिइरहनु भएको छ की?
छैन, त्यस्तो। मरेपछि मात्र गाउँन छुट्ला जस्तो लाग्छ। अहिले पनि गाइनै रहेको छु। साँझ बिहान आफ्नो रियाज गर्छु। अनि कहिले लोक, कहिले आधुनिक र कहिले भजन गाउन धाइरहेको छु। योे यात्रा अहिले नै नरोकियोस् भन्ने चाहना छ।
२०२२ सालमा सांगीतिक यात्रा शुरू गर्नुभयो। कस्तो थियो, त्यो वेलाको अवस्था?
मेरो सांगीतिक यात्राको कुरा बुवा धर्मराज थापा (जनकवि केशरी) लाई धेरै नै सम्झिन्छु। २०१० सालमा साल बाटुली चौर, पोखराबाट बुवाले भाइ र मलाई जब काठमाडौं ल्याउनु भयो, त्यो वेला काठमाडौंमा बाटो थिएन। हामीलाई पाँच दिन डोकोमा बोकाएर काठमाडौं ल्याउनु भएको थियो। रेडियो नेपालमा लोकगीत प्रवर्द्धकको जागिर भएकाले हामीलाई यता ल्याउनु भयो।
घरमा साङ्गीतिक माहोल भएकाले पनि सानैदेखि संगीतामा रुची जाग्यो। यता काठमाडौं आएपछि पनि त्यो माहोल कम भएन। डिल्लीबजारस्थित हाम्रो बुवासँग लोकगीत सिक्नै धेरै मान्छे आउँथे। उनीहरूलाई संगीत सिकाउँदा म पनि सुन्थेँ। मन परेको धुन र गीत गुनगुनाउँदै हिड्थे। एक दिन बुवाले सिकाउँदै गरेको गीत भान्सामा बसेर गाएँ। बुबाले सुन्नुभएछ, राम्रो गायौ भन्दै स्याबासी दिनुभयो।
भोलिपल्टै गीत गाउन बुबाले रेडियो नेपाल लैजानुभयो। त्यसवेला म १४ वर्षकी थिएँ। त्यस दिन नातिकाजी श्रेष्ठ, शिवशंकर मानन्धर, तारादेवी, हरिप्रसाद रिमालको अगाडि गीत गाएँ। रेडियो नेपालले तत्कालै २० रुपैयाँ दियो। त्यो नै मेरो सिर्जनाको पहिलो पारिश्रमिक थियो। त्यो पैसा मैले ६ महीनासम्म खर्च गरिनँ।
त्यसपछि बुबासँगै सङ्गीत सिक्न थालें। पहिलो पटक २०२५ सालमा ‘जाने कहाँ राजै बाटो देखाइदेऊ’ गीत रेडियो नेपालमा रेकर्ड भयो। त्यसले राम्रो छाप पर्यो। अनि त हरेक महीना गीत रेकर्ड गर्न थाले।
त्यहीँ समयमा नारायणगोपालसँग पनि गीत गाउँनुभयो। त्यो तपाईका लागि कति महत्त्वपूर्ण थियो? नारायाणगोपालसँग गीत गाएको क्षण याद छ?
२०३४ सालतिर हो, एक दिन रेडियो नेपालबाट मोटरसाइकलमा निकाल्दै गर्नुभएको नारायणगोपाल दाइसँग भेट भयो। दाइले ‘तिमी लोकगीत राम्रो गाउँछौ, ज्ञानु। तिमीसँगै एउटा लोकगीत गाउन मन छ। तिमीले मलाई सिकाउनु पर्छ है’ भन्नु भयो।
मैले भने- दाइ, के कुरा गर्नु भएको यस्तो। मलाई लज्जित नबनाउनुस्? दाइसँग गीत गाउन पाउनु त मेरो भाग्य हो। म बुवालाई भनेर गीत माग्छु।
त्यो मैले बुवालाई सुनाए। बुवाले हाम्रो लागि ‘सिरिमा सिरी नि कान्छा बतास चल्यो’ गीत बनाइदिनुभयो। त्यो गीत खुबचर्चित भयो। यस्तो हिट भयो की दिनका दिन रेडियो नेपालबाट बज्न थाल्यो। त्यो गीतपछि मैले साङ्गीतिक क्षेत्रमा पछाडि फर्कनु परेन।
त्यहि गीत हिट भएकै कारण हुनसक्छ, एक दिन गीतकार राममान तृषितले ‘तिमीले गाएको सिरीमा सिरी एकदमै मन पर्यो, मेरो गीत पनि गाइदिनुपर्यो, ज्ञानु’ भन्नुभयो। नारायाणगोपाल दाइसँगै गाउने अवसर जुर्यो, र ‘मान्छेको माया यहाँ’ पनि उस्तै चल्यो। त्यतिवेला रेडियो नेपालमा धेरै फर्माइस हुने गीत नै बन्यो। तारादेवी लगायतले पनि ‘तिमीले सार्है मीठो गायौ ज्ञानु’ भन्नुभयो।
त्यसपछि गीत पाउन र गाउनका लागि कहिल्यै पर्खिनु परेन। धेरै प्रस्ताव आउन थाले। नारायणगोपाल दाइले ‘तिमीसँग गीत गाउँछु’ भन्नु नै मलाई फाप्यो। हुन् त त्यसका शब्द मिठो छन्, संगीत उस्तै मन छुने। हामीले पनि निकै मिहिनेत गरेर गाएका थियौं। नारायणगोपाल दाइले ‘तिमीसँगै एउटा लोकगीत गाउन मन छ’ नभनेको भए सायद त्यो गीत नै बन्दैन्थ्यो। त्यसैले नारायणगोपाल दाइलाई सम्झिँदा बुवाको पनि उतिक्कै याद आइहाल्छ।
त्यहीँ समयमा गोपाल योञ्जनसँग पनि गीत गाउँनु भएको छ। उहाँसँगका सम्झाना कस्ता छन्?
गोपाल योञ्जन दाइसँगको फेरि अर्को कहानी छ। नारायणगोपाल दाइसँगको गीत धेरै चलिरहेको वेला एक दिन योञ्जन दाइसँग रेडियो नेपालमा भेट भयो। उहाँले ‘मैले एउटा गीत बनाएको छु। भोलि रेडियो नेपाल आऊ, अनि तयारी गर्नुपर्छ’ भन्नुभयो।
सिधै रेडियो नेपालको अर्केस्ट्रा रुममा लग्नुभयो र हार्मोनियम बजाउँदै गीत सुनाउनुभयो। गीत थियो- च्याङ्वा होइ च्याङ्वा, सुन सुन होइ च्याङ्वा।
सात दिनपछि रेडियो नेपालको पुरानो स्टुडियोमा गीत रेकर्ड भयो। त्यसवेला मलाई च्याङ्वा र मैच्याङ भनेको पनि थाहा थिएन। दाइले तामाङ भाषामा आफूलाई मन परेको केटालाई च्याङ्वा र केटीलाई मैच्याङ भन्ने गरेको बुझाउनुभयो। तामाङकै झल्को आउनेगरी गाउँन धेरै अभ्यास गरेँ। जब दाइले मीठो गरी गीत उठाउनु भयो, मैले पनि एकै छिनमा टिपिहालेँ। हामी दुवैले च्याङ्वा र मैच्याङ भए जसरी नै गीत गायौं। आज पनि त्यो गीत सुन्दा आनन्द आउँछ। त्यो गीत पनि हिट भयो। त्यसपछि त मलाई हेर्न रेडियो नेपाल आउँन थाले।
मलाई हरेक गीत गाउँदा ध्यान गरेजस्तो लाग्छ। दिमागलाई सक्दो ‘कन्सन्ट्रेड’ गरेर गीतका शब्दमा आफूलाई ढालेर गाउन सक्नुपर्छ।
गोपाल योञ्जन र नारायणगोपाल दाइ चर्चाको शिखरमा हुँदा नै मैले उहाँहरूसँग गीत गाउँने मौका पाएँ। त्यो मेरो सांगीतिक जीवनकै उत्कृष्ट समय हो। नारायण दाइ र योञ्जन दाइसँग गीत रेकर्ड गराएको रातमा त निदाउँनै सकेको थिइनँ। मान्छे त खुशीमा पनि निदाउन नसक्दो रहेछ।
धर्मराज थापा जस्तो स्थापित लोकगीत रचनाकार नै बुवा भएकोले यहाँसम्म आएको भन्छन।यो सुन्दा तपाईलाई कस्तो लाग्छ ? अनि तपाई प्रति बुवाको व्यवहार कस्तो हुन्थ्यो?
धर्मराज थापाकी छोरी भनेर समाजले मलाई कुनै विशेष दृष्टिले हेर्दैनथ्यो। त्यति वेला अहिले जस्तो गीत गाउने मान्छेलाई राम्रो दृष्टिले पनि हेर्दैन्थे। अझ बुवालाई नै मान्छेहरू कान पछाडि ‘गाइने’ भन्थे। मलाई पनि कतिले ‘गाइनेकी छोरी पनि गाइने नै बन्न लागी’ पनि भने। मेरो बुवा पदमा भए पनि मैले गाउन नसक्ने गीतहरू उहाँले मलाई दिनुभएन। अरूलाई नै दिनुहुन्थ्यो।
छोरी भनेर त्यति ‘स्पेशल टाइम’ र स्थान पनि दिनुहुन्थेन। म त बाहिरबाहिर खेलिरहेँ। स्कूलको पढेँ। उहाँले अरूलाई सिकाएको हेरेरै संगीत क्षेत्रमा आएकी हुँ। छोरी भन्दैमा टपक्क टिपेर उचाईमा पुर्याउनु भएको हैन। बाटो देखाउनु भयो, म धैर्यताका साथ हिडिरहेँ। आज पनि सम्झन्छु, भोलि रेकर्डिङ छ भन्ने बेलुका हार्मोनियम बजाएर हल्का गीत सिकाइदिनुहुन्थ्यो। रेडियो नेपाल लगेर आफै मिहिनेत गर भन्नुहुन्थ्यो।
बुवा भएर मलाई प्रेरणा भने पक्कै मिलेको हो। साहित्यकारहरू कहाँ लिएर जानुहुन्थ्यो, चिनाउँनुहुन्थ्यो। त्यसरी लेखनाथ पौडेल, भवानी भिक्षु, सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम आदिकहाँ पुगेको छु। बुवाले मेरी छोरी ज्ञानु भनेर देवकोटासँग चिनाउँदा मैले उहाँलाई ‘पढ्छु, अनि गाँउछु’ भनेकी थिएँ।
बालकृष्ण सम कहाँ त मैले गीत गाएरै सुनाएकी छु। मैल गीत सुनाउँदा ‘बुवाको बाटो पछ्याउँछिन ज्ञानुले’ भन्नुहुन्थ्यो। म खुसी हुन्थेँ। थप राम्रो गाउँन र मिहिनेत गर्न भने प्रेरणा मिल्थ्यो।
किशोरावस्थामा नै चर्चित हुनुभयो। कति धेरैले माया गर्थे होलान्। अनि बिबाह कसरी भयो?
प्रेमभन्दा अलग्गै रहेँ। बुवाको डर पनि थियो। तर, मलाई मन पराउने चाँहि धेरै थिए। कति त घरमा बुवासँग संगीत सिक्न आउनेहरू मलाई हेर्न मात्र भनेर पनि आएका हुँदारहेछन्।
एक जनाले त प्रेमपत्र लेखेर घरमा राखिदिएका रहेछन्। बुवाले भेट्नु भएछ। ती मान्छेलाई बुवाले हकारेछन्, त्यसपछि कहिल्यै देखा परेनन्।
म भने पढाइमै केन्द्रीत हुँदै गएँ। गीतहरू सिक्दै गएँ, गाउँदै गएँ। २०२२ सालमा एसएलसी गरेपछि भने विज्ञान विषय पढ्न बाङ्लादेश गएँ। त्यहाँ पनि एक जनाले मन पराएछन्। घरमा हात माग्न आइसकेछन्। बाङ्लादेशबाट फर्केपछि उनै इन्जिनियर प्रकाशजंग राणासँग बिवाह भयो।
त्यो वेला त महिलालाई गाउँनै सहज थिएन होला। अझ विवाहपछि गायनमा फर्किन कति गाह्रो भयो?
पहिलोको जमानामा महिलालाई गीत गाउँन असाध्यै चुनौती थियो। महिलाले गाउँन, अभिनय गर्न र नाच्न हुँदैन भन्थे। परिवार र समाजको छेकबारका कारण आफ्नो रहर खुम्च्याएर घरमै कुँजिएर बस्नुपर्थ्यो।
२०२८ सालमा विवाह भएपछि मेरो अवस्था पनि अरू महिला कलाकारकै जस्तो खुम्चियो। गीत रेकर्ड गर्न रेडियो नेपाल जानै समस्या भयो। घरका मान्छेले कहाँ, किन जान लागेको, गीत गाएर के हुन्छ भनेर कडाइ गर्थे। बाल्यकालदेखि नै सङ्गीत सिकेर गाउँदै रमाइरहेको मलाई विवाहपछि नियन्त्रणले गाह्रो भयो। तर, कहिले साथी भेट्न त कहिले माइत हिंडेको बहानामा गीत रेकर्ड गर्न रेडियो नेपाल पुग्थें। गाली सुनेर पनि सङ्गीतको लत छोड्न सकिनँ।
२०३२ सालमा नेपाल राजकीय प्रज्ञा-प्रष्ठिानमा सङ्गीत उपनिर्देशकको जागीर खान थालेपछि मेरो गायन यात्रा अलि सहज भयो। त्यसपछि प्रष्ठिानमा १० बजे हाजिर गरेर रेडियो नेपालतिरै दर्गुर्थें।
त्योवेला महिलाले गीत रचना गरेको कमै पाइन्छ। गीतमा महिलालाई इंगित गरिने शब्दले कति गाह्रो हुन्थ्यो?
गायनमा केही महिला देखिए पनि गीत लेख्ने कोही थिएनन्। लेखपढ गरेका महिला अत्यन्त थोरै भएकाले लेख्ने काम पुरुषकै हो भनिन्थ्यो। लेख्ने पनि पुरुष, महिलाको आवाज निकालेर गाउने पनि पुरुष थिए। गाउँछु भनेर अघि सर्ने महिलाले हत्तपत्त गीत नै पाउँदैनथे। बुबा लेख्ने भएकाले मलाई गीत पाउन गाह्रो भएन।
पुरुषले नै लेखेका गीत भए पनि महिलालाई सम्मान नै गरिएका शब्द हुन्थे। बरू आजभोलिका गीतमा उडन्ते शब्दको बाहुल्य हुन्छ। छिनमै भाइरल, छिनमै गायब। अहिलेका गीतमा गहिराइ नै पाउँदिनँ।
त्यतिवेला धेरै साधना गथ्र्यौं। मैले ६ वर्षसम्म शास्त्रीय सङ्गीत सिकें। गीत गाउन पनि महीना दिन अभ्यास गरिन्थ्यो। आत्मा खन्याएर गीत गाइन्थ्यो। त्यसैले पनि हिजोका गीतहरू कालजयी भएका हुन सक्छन्।
२०६० सालपछि भने गायिकालाई केही सहज भयो। महिला गीतकार पनि देखा परे। अहिले बाजा बजाउनेदेखि सङ्गीत भर्ने र उत्पादन गर्नेमा महिला जुटेको देख्दा आनन्द लाग्छ।
मेरा सहकर्मीहरू मीरा राणा, तारा थापा, रचना जिसी, तीर्थकुमारी थापा, नुपुर भट्टाचार्य, सावित्री शाहहरूले पनि सङ्गीतमा लाग्न घरमा ठूलै विद्रोह गरेका थिए। सङ्गीत, नृत्य र अभिनय क्षेत्रमा लाग्नु राम्रो मानिँदैन्थ्यो। महिलालाई यी क्षेत्रमा लाग्नु आफ्नो इज्जत र प्रतिष्ठामै आक्षेप लगाउनु जस्तै ठानिन्थ्यो।
त्यस्तो कठिन समयमा गीत गाउँदा सरकारी तवरबाट कतिको मानसम्मान पाइन्थ्यो? सरकारले गर्ने मानसम्मान त्यो वेला र अहिले कति फरक भएको छ?
त्योवेला कलकारको इज्जत नै बेग्लै थियो। मैले गाएको समयमा राजा वीरेन्द्रले औधी मान राख्थे। कलाकारलाई दरबारमा छलफल गर्न बोलाउनुहुन्थ्यो। अझै संगीत क्षेत्रमा काम गर्न र क्यासेट निकाल्न प्रेरित गरिन्थ्यो। मेरो बुवा धर्मराज थापालाई एक समय गीत रेकर्ड गर्न पैसा पुगेन। वीरेन्द्र सरकारलाई भनेर भारतमा रेकर्ड गराउन बुवालाई दरबारबाट दुई लाख रुपैया आएको थियो। त्यो मलाई अझै पनि याद छ।
अनि बुवा भारतमा ‘होहोमाले होहो,’ ‘आज गाउँघरमा मादल बजेको किन?’ लगायत आठ वटा गीत रेकर्ड गरेर फर्किनु भएको थियो। बुवालाई मात्र हैन, अन्य कलाकारलाई पनि आर्थिक संकटमा र उपचारमा सरकारले खर्च बेहोर्थ्यो।
अनि सरकारले गर्ने सम्मानको अर्थ नै बेग्लै हुन्थ्यो। मैले २०३५ सालामा गोर्खा दक्षिणवाहु चौथो पाएकी थिएँ। पछि इन्द्र राज्य लक्ष्मी पुरस्कार पनि पाएँ। यो पुरस्कार पाउने तारादेवी दिदी र म मात्र हौं। सुन नै तोलाको तीन सय रुपैयाँ हुँदा हामीले त्यो वेला ५० हजार रुपैयाँ राशिको पुरस्कार पाएका थियौँ।
अहिले त कलाकारको न इज्जत गरेको देख्छु, न त पर्दा सहयोग नै गरेको सुनेको छु। कलाकार भोकै मर्दा पनि सरकारको वास्ता छैन। नेता र मन्त्रीका मान्छे भए तक्मा र सम्मान पाउँछन्। भोलि म नै बिते भने पनि १३ दिनमा हार चढाउन आउँलान्। मरेपछि भन्दा पनि बाँच्दा नै कलाकारको अवस्था बुझ्नुपर्छ। कलाकारले सम्मान पाउन पनि मृत्यु पर्खिनु पर्ने पो भएको छ। सरकारले मृत्युपछि भन्दा पनि जीवित छँदै खोजोस्, बुझोस् भन्ने लाग्छ।
त्यसको उदाहरण कलाकार लालबहादुर खाँती हुन्। उहाँको शव उठाउँन पनि पैसा नभएपछि सहयोग संकलन गरेर अन्तिम संस्कार गरियो। कलाकार सुन्दर श्रेष्ठ बिरामी हुँदा राम्रो उपचार नपाएरै बित्नु भयो। कलाकारलाई देशको गहना मुखले मात्र भनियो, काम र व्यवहारले देखाइएन। यस्तो कुराले मन दुख्दोरहेछ।
तैपनि साधना नै आफ्नो कर्म हो। यस क्षेत्रमा अविरल सकुञ्जेल गीत गाइरहन मन छ। छिट्टै मेरो भजन रेकर्डिङ हुँदै छ।
तपाई त अहिले पनि गाईरहनु भएको छ। तपाईका समकालिन साथीहरूले पनि गाउँदै छन्?
मेरै उमेर भएकाहरूले गाएको सुनेको छैन। अझ पुरुष साथीहरूले ५० वर्षपछि कमैले मात्र गाएका छन्।
किन चाँडै गाउँन छोडे?
गायनमा आहारव्यवहारको पनि महत्त्व छ। मदिरापान गर्दा स्वर चाडै मर्छ भन्छन्। आवाजमा कम्पन हुने, थरथरराउने, लय तान्न नसक्ने हुदै जान्छ। भगवानलाई लाखलाख धन्यवाद म भने आज पनि गीत गाइरहेको छु। मञ्चमा उभिएर प्रस्तुति दिइरहेको छु।
यति लामो सांगीतिक यात्रामा थुप्रै राम्रा नराम्रा भोगाइ होलान। अविश्मरणीय कुनै क्षण याद छ?
मलाई जीवनको सत्य बोध गराउने अविश्मरणीय क्षण नारायणगोपाल दाइ गम्भीर बिरामी भएर वीर अस्पतालको आईसीयूमा रहँदाको सम्झना छ। म नारायणगोपाल दाइलाई हेरेर जाने वेलामा पेमला भाउजुले एक जना पण्डित ल्याएर छेउमा गीता पढाउँन लगाउँनु भएको थियो। पण्डितले गीता पढिरहेका थिए, नारायण दाइ बोल्न सकिरहनु भएको थिएन। यसो हेरेको त आँखाबाट आँशु बगिरहेको थियो।
कति पीडा भईरहेको थियो। प्राण जान सकस भइरहेको थियो। आज पनि म त्यो क्षण सम्झिरहन्छु। साच्चै जीवन त घाम र छाँया नै हो। त्यतिवेला मलाई वास्तवमै जीवन बोध भएको थियो। त्यसपछि मलाई झनै भगवानमा विश्वास लाग्न थाल्यो। अहिले पनि म भजनको समिपमा नै जीवन काटिरहेको छु।
बाल्यकालदेखि अहिलेसम्म संगीतकै साधनामा हुनुहुन्छ। आखिर यो संगीत भनेको के रहेछ?
संगीतमा आज, भोली र पर्सी भनेर पुग्दैन। यो त जीवनभरको साधना हो। पूरा जीवन यसैमा विताउँदा पनि सबै फल पाइन्छ भन्ने हुदैन। यो अथाह भावनाको सागर हो। जीवनभर साधना गर्नुभयो भने पनि पूरा फल नपाउन सक्नुहुन्छ, किनभने यो अनन्त छ। यसबाट केही अंशमात्र सुखनाभुत भयो भने सम्झनुस्, थोरै भए पनि फल पाउनुभयो।
म आजभोलि पनि साँझ-बिहान यसैमा डुब्छु। अझै म आफूलाई संगीतको विद्यार्थी मान्छु। मलाई यसको गहराईमा पुगेर अझै धेरै सिक्नु छ। मलाई संगीत सिकेर, गाएर र बुझेर पुगेको छैन।
सङ्गीतमा लागेर आत्मसन्तुष्टि पाएँ। त्यसैले अहिलेसम्म बचाइरहेको हो जस्तो पनि लाग्छ। यससँगै संगीतले समाजको चेतलाई पनि माथि उठाएको छ। यसले परिवर्तित समयको कथा बोकेको हुन्छ, बोलेको हुन्छ।