हत्या मुद्दामा पूर्व मन्त्री साहलाई जन्मकैद
सञ्चार उद्यमी अरुण सिघानियाको हत्यामा पूर्व राज्यमन्त्री सञ्जयकुमार साहलाई जिल्ला अदालत, धनुषाले गरेको जन्मकैदको सजायलाई उच्च अदालत, जनकपुरले पनि सदर गरेको छ।
उच्च अदालतका न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ र डालकुमार खड्काको संयुक्त इजलासले बुधबार जिल्लाको फैसलालाई नै सदर हुने गरी आदेश गरेको जिल्ला अदालतका रजिस्टार खड्गराज अधिकारीले जानकारी दिए। यस मुद्दामा आठ दिनदेखि उच्च अदालतमा बहस हुदै आएको थियो।
जनकपुर टुडेका सञ्चालक सिंघानियाको २०६६ फागुन १७ गते होलीको दिन गोली हानेर हत्या भएको थियो। हत्या मुद्दामा २०७६ असार १७ गते जिल्ला अदालत, धनुषाले साहसहितका सुटर मनक लामालाई जन्मकैदको सजाय सुनाएको थियो।
त्यस्तै, हत्यामा संलग्न साहको नजिकका भनिएका रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनीलाई १० वर्ष, चन्द्रदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० रुपैयाँ जरिमाना गरिएको हो। रामकरण, ओमप्रकाश यादव र अंसी राइनले सफाइ पाएका थिए।
जिल्ला अदालतको फैसालमा असन्तुष्टि जनाउँदै साहले २०७६ असोज ७ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए। उनी अहिले नख्खु कारागारमा कैद भुक्तान गरिरहेका छन्।
यस मुद्दामा उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता यदुनाथ शर्मा र शाखा अधिकृत राजलाल यादवले तथा अधिवक्ता विपीनकुमार झा र हेमबहादुर कार्कीले बहस गरेका थिए। यस्तै प्रतिवादी साहको तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र महतो, श्यामकुमार मिश्र र धर्मेन्द्र शर्मा तथा अधिवक्ताहरू प्रकाशकुमार घिमिरे, ओम प्रकाश सिंह र दिपेन्द्र सिंहले बहस गरेका थिए।