काठमाडौं महानगर विरुद्धका २१ मुद्दामा कारण देखाउ आदेश
टुकुचा खोलाको अतिक्रमण हटाउने सम्बन्धी विवादमा काठमाडौं महानगरपालिका विरुद्ध परेका २१ वटा मुद्दामा उच्च अदालत, पाटनले कारण देखाउ आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले बुधबार काठमाडौं महानगरका नाममा कारण देखाउ आदेश दिएको हो। रिट निवेदकको माग अनुसार अन्तरिम आदेश किन दिन नपर्ने हो, त्यसको कारण पेश गर्न अदालतले आदेश दिएको हो।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्न भन्दै काठमाडौंको हात्तीसार क्षेत्रस्थित सरलमार्गमा खन्न शुरू गरेको छ। त्यस क्षेत्रमा रहेका लक्ष्मी ब्यांकसहित विभिन्न व्यक्ति तथा संस्थाले छुट्टाछुट्टै २१ वटा रिट दायर गरेका थिए।
असोज ४ गते दर्ता भएको सबै रिटमा आज सुनुवाइ गर्दै उच्च अदालतले कारण देखाउ आदेश दिएको छ। यससँगै रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।