धनगढीमा सत्याग्रह बसेका डा. केसी काठमाडौं फर्किए
दश दिनदेखि धनगढीमा सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसी बुधबार साँझ काठमाडौं फर्किएका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर धनगढीमा २०औँ सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि काठमाडौं फर्किएका हुन्। चिकित्सकसहितको टोलीको पटकपटकको आग्रहपछि बुधबार बेलुकी मात्रै उनी आफ्नै खर्चमा काठमाडौं उडेका छन्।
सरकारको खर्चमा नजाने र सरकारलाई व्ययभार नगराउने भन्दै डा. केसी आफ्नै खर्चमा साँझ ५ बजेको श्री एयरलाइन्सको जहाजबाट काठमाडौं फर्केका हुन्। काठमाडौं पुगेपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी रहेको उनका सहयोगीले बताए।
यसअघि उनको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै सरकारले काठमाडौं लग्ने नेपाली सेनाको हेलिकप्टर पठाएको थियो। तर, उनी सरकारले पठाएको हेलिकप्टरमा काठमाडौं जान मानेका थिएनन्।
डा. केसीको मांशपेशी सुक्दै गएको र पेटमा अल्सर भएर रक्तश्राव भएकाले सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्न चिकित्सकले सुझाएका थिए।
उनी धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा भदौ २७ गते सत्याग्रहमा बसेका थिए। त्यहाँबाट सेती प्रादेशीक अस्पताल लगिएको थियो।