जापानको १४ अर्ब सहयोगमा शहरी क्षेत्रको विद्युत् लाइन भूमिगत गरिने
नेपाल विद्युत् प्राधिकरणले जापान सरकारको सहुलितपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको शहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ।
जापान सरकारबाट प्राप्त हुने करीब १४ अर्ब दुई करोड रुपैयाँ (१५९.०१ करोड जापानी येन) बाट १३२ केभी क्षमताका पाँच वटा नयाँ सबस्टेसन निर्माण गरिने छ। शहरी क्षेत्रमा १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरिने प्राधिरकणले जनाएको छ।
त्यस्तै, काठमाडौं उपत्यकाको थापाथली, महाराजगञ्ज, नारायणहिटी दरबार तथा सिरुटार र पोखराको बिरौटामा १३२/११ केभीका सबस्टेसन निर्माण गरिनेछन्।
शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका प्राप्त हुने सहुलियतपूर्ण ऋणको वार्षिक व्याजदर ०.०१ प्रतिशत मात्रै छ। ३० वर्षको भुक्तानी अवधि रहेको यो ऋणका लागि १० वर्षपछि मात्रै साँवाको किस्ता र ब्याज तिर्नुपर्ने ग्रेस अवधि रहेको छ।
आयोजनाको कार्यान्वयनबाट काठमाडौं र पोखरा लगायतका शहरमा प्रसारण चुहावट घट्ने, वितरण प्रणालीको क्षमता विस्तार हुने, विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणले जनाएको छ।
आयोजना कार्यान्वयनका लागि बुधबार नेपाल सरकारका तर्फबाट अर्थ सचिव कृष्णहरि पुस्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरेका छन्। त्यसैगरी, ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरी प्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरेका छन्।
आयोजनामार्फत काठमाडौंको टेकुस्थित सबस्टेसनबाट करीब दुई किलोमिटर १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरी थापाथलीमा रहेको स्वीचिङ स्टेसनमा ल्याइनेछ। थापाथली स्वीचिङ स्टेसनलाई हटाएर त्यहाँ १३२/११ केभीको सबस्टेसन निर्माण गरिनेछ। सबस्टेसनको क्षमता ९० एमभीए रहनेछ। सबस्टेसनबाट विद्युत् वितरणका लागि ९/१० वटा फिडर निकालिनेछन्।
बालाजु सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई नौ किलोमिटरभन्दा बढी भूमिगत केबलमार्फत महाराजगञ्ज हुँदै राजदरबार ल्याइनेछ। महाराजगञ्ज र नारायणहिटी दरबारमा १३२/११ केभीका एक/एक सबस्टेसन निर्माण हुनेछन्। सबस्टेसनको क्षमता ६०/६० एमभीए रहनेछ।
यसैगरी, भक्तपुरको सिरुटारमा १३२/११ केभीको सबस्टेसन निर्माण निर्माण गरिनेछ। सबस्टेसनको क्षमता ६० एमभीए रहनेछ। तीनवटै सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् वितरणका लागि ९/१० वटा फिडर निकालिनेछन्।
पोखराको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा १३२/११ केभी सबस्टेसनको निर्माण गरिनेछ। प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई बिरौटामा सबस्टेसन बनाएर पोखराको शहरी क्षेत्रमा आपूर्ति गरिने जनाएको छ। प्रसारण लाइनबाट सबस्टेसनसम्म करीब ६ सय मिटर लाइनलाई भूमिगत गरिनेछ। सबस्टेसन निर्माणका लागि बिरौटास्थित फेवा विद्युत्गृहको जमिन प्रयोग गरिनेछ।
जापानले पूर्वी तराई क्षेत्रमा सिचाइँ प्रणालीको पुर्नस्थापना सुधारका लागि दुई अर्ब (२२५.६ करोड येन) अनुदान पनि दिएको छ। यो रकमले चन्द्र नहर सिचाइँ प्रणालीको सुधार गरिनेछ।