कमेडियन राजु श्रीवास्तवको निधन
चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ।
श्रीवास्तवको आज बिहान निधन भएको उनका परिवारजनलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हृदयघात भएपछि उनी ४२ दिनदेखि अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) मा उपचार चलिरहेको थियो।
उनलाई गत १० अगस्त बिहान हृदयघात भएको थियो। त्यतिवेलै उनलाई एम्समा भर्ना गरिएको थियो। सीटी स्केन गर्दा उनको मस्तिष्कको एक भाग सुन्निएको देखिएको थियो।
बिहान ट्रेडमिलमा दौडदा छाती दुखेको थियो। उनी ट्रेडमिलमै ढलेका थिए। त्यहिँ बेहोस भएका उनको ४२ दिनसम्म उपचार चले पनि होसमा आउन सकेका थिएनन्।
सन् १९६३ मा भारतको कानपुरमा जन्मिएका श्रीवास्तव सन् १९९३ मा कला क्षेत्रमा प्रवेश गरेका थिए। स्टेन्डअप कमेडियन श्रीवास्तव सन् २००५ मा ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’बाट चर्चित बनेका थिए।
उनले ‘मैने प्यार किया’, ‘बाजिगर’, ‘आम्दानी अठन्नी खर्च रुपैयाँ’, ‘बम्बई टू गोवा’ लगायत कयौं फिल्ममा अभियन गरेका छन्।