लिम्बू संस्कृति झल्काउने चोत्लुङ पार्क
तेह्रथुमको वसन्तपुरमा लिम्बू संस्कृति र लिम्बुवानको ऐतिहासिकता झल्काउने चोत्लुङ पार्क निर्माण गरिएको छ। घुमघाम र अध्ययनका लागि पर्यटकहरू पार्क पुग्ने गरेका छन्।
लालीगुराँसको राजधानीको रुपमा चिनिएको टीएमजे (तीनजुरे‚ मिल्के र जलजले) क्षेत्रको प्रवेशद्वार हो‚ तेह्रथुमको लालीगुराँस नगरपालिका। यही नगरपालिकाले लिम्बू समुदायको संस्कृति र लिम्बुवानको ऐतिहासिकता झल्काउने सामग्री संग्रह गरी वसन्तपुरमा चोत्लुङ पार्क निर्माण गरेको छ।
पार्क लालीगुराँस नगरपालिकाकाका मेयर अर्जुनबाबु माबुहाङले पहिलो कार्यकालमा निर्माण गरेको हुन्। गत वैशाखमा भएको निर्वाचनबाट उनी पुनः मेयरमा दोहोरिएका छन्। पार्क निर्माण गर्न नगरपालिकाको ३० लाख, नयाँ शहर आयोजनाको ८० लाख र स्थानीय जनताको ५० लाख गरी कुल एक करोड ६० लाख रुपैयाँ लगानी भएको मेयर माबुहाङ बताउँछन्। तर‚ अझै निर्माण पूरा नभएको उनको भनाइ छ। यस क्षेत्रलाई जैविक तथा वानस्पतिक अध्ययनको केन्द्रको रुपमा विकास गर्ने योजना रहेको मेयर माबुहाङ बताउँछन्।
५५८ हेक्टर क्षेत्रफलमा फैलिएको टीएमजे क्षेत्रले प्रदेश १ को तेह्रथुमको लालीगुराँस नगरपालिका र मेन्छायाम गाँउपालिका‚ धनकुटाको छथर जोरपाटी गाँउपालिका र महालक्ष्मी नगरपालिका, संखुवासभाको माडी नगरपालिका, सभापोखरी गाँउपालिका र धर्मदेवी नगरपालिका र ताप्लेजुङको मैवाखोला गाँउपालिकालाई समेट्छ। यसको केन्द्र भने तेह्रथुम जिल्ला नै हो।
तेह्रथुममा यसअघि लालीगुराँसका कारण पर्यटकहरू आउने गर्दथे। पछिल्लो समय भने चोत्लुङ पार्कले पनि पर्यटक तान्न थालेको छ। लिम्बू समुदायको संस्कृति‚ लिम्बुवानको इतिहासको संरक्षणसँगै आफ्नो क्षेत्रमा पर्यटक भित्र्याउने लक्ष्यका साथ पार्क निर्माण गरिएको मेयर माबुहाङ बताउँछन्। अहिले पार्कमा आन्तरिक र बाह्य पर्यटकहरू घुमघामका साथै अध्ययन भ्रमणमा आउने गरेका छन्। पर्यटक आगमनले प्रत्यक्ष रुपमा धनकुटा र तेह्रथुमलाई फाइदा पुगेको छ।
सदाबहार पर्यटक ल्याउने चुनौती
चोत्लुङ पार्क रहेको क्षेत्रमा विशेषतः नयाँ वर्ष, गुराँस फुलेको समय र हिमपात भएको वेला पर्यटकको घुइँचो लाग्दछ। त्यो समयमा भने यहाँको होटल तथा रेष्टुराँ पर्यटकलाई धान्न सक्दैन।
तर‚ पर्यटकहरू बाह्रमास नआउने हुनाले अहिले नै होटलमा ठूलो लगानी गर्न सक्ने अवस्था छैन। यस्तो अवस्था रहन नदिन वर्षैभरि पर्यटक आउने वातावरण बनाउनुपर्ने आवश्यकता छ। यसका लागि देशभित्र र बाहिर चोत्लुङ पार्कको प्रचार प्रसार गर्नुपर्ने हुन्छ।
मध्यपहाडी लोकमार्ग‚ भारत र चीन जोड्ने जोगबनी-किमाथाङ्का मार्ग पनि यही क्षेत्र हुँदै जान्छ। त्यसैले वसन्तपुर बजार, यहाँ अवस्थित चोत्लुङपार्कलाई थप महत्त्वपूर्ण गन्तव्य बनाउन सकिन्छ। जसका आसपासका क्षेत्रहरू जिरीखिम्ती, लसुने, चित्रे, सिंधुवा, जोरपाटी, पाख्रीबास, हिले, मुढे लगायत बजारमा पनि पर्यटकीय क्षेत्र बनाउनुपर्ने हुन्छ।
पर्यटक आकर्षण गर्ने विविध आयाम जस्तै‚ परम्परागत भेषभूषा, खानपिन, संस्कार, संस्कृति, रहनसहन आदि हुन्छन्। यस्तै‚ मानव निर्मित आधुनिक संरचना‚ पुस्तकालय, संग्रहालय, बोटानिकल गार्डेन, बगैंचा हुन्। यी कुरालाई ध्यान दिए पर्यटकलाई आकर्षण गर्न सकिन्छ।
चोत्लुङ पार्कसम्म पुग्न अहिले संघीय राजधानी काठमाडौंबाट सिधा बस सेवा सञ्चालन छ। गण्डकीको राजधानी पोखरा, सुदूरपश्चिमको राजधानी धनगढीबाट पनि सिधा बस सेवा सञ्चालनमा ल्याउन सके आन्तरिक पर्यटक तान्न सकिन्छ।
स्थानीय उत्पादनमा जोड
प्रदेश १ मा स्थानीय उत्पादनलाई ‘ब्रान्डिङ’ गर्ने जिल्लामा इलाम सबैभन्दा अघि छ। त्यहाँ उत्पादित चिया‚ अकबरे खुर्सानी‚ दुधजन्य वस्तुलाई इलामको कोशेली रुपमा ब्रान्डिङ गरिएको छ।
यसरी नै चोत्लुङ पार्कमा आउने पर्यटकहरूलाई यस क्षेत्रको उत्पादन कोशेलीको रुपमा लान सक्ने बनाउनुपर्छ। ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटामा उत्पादन हुने वस्तुलाई ब्रान्डिङ गरेर बिक्री गर्न सकिन्छ।
लिम्बू, राई, तामाङ, मगर, गुरुङ, शेर्पा लगायत समुदायको भेषभूषा, उनीहरूको परम्परागत खानेकुरालाई पनि चोत्लङ पार्क आउने पर्यटकले कोशेली तथा चिनोको रुपमा लान सक्छन्। तेह्रथुममा उत्पादित तेह्रथुमे ढाका र त्यसबाट बनाइएका पहिरनलाई पनि बिक्री गर्न सकिन्छ।