गोठाटार गोलीकाण्डमा मारिएका लाल मोहम्मदको विवादित विगत
भक्तपुरको गोठाटार गोलीकाण्डमा मारिएका लाल मोहम्मदलाई भारतीय खुफिया एजेन्सीले ‘रेड जोन’मा राखेको अनुसन्धान प्रतिवेदनले देखाएको छ।
असोज ३ गते भक्तपुरको गोठाटारस्थित आफ्नो गार्मेन्ट उद्योग अगाडि लखेटी लखेटी गोली हानेर हत्या गरिएका सर्लाहीका लाल मोहम्मदलाई दक्षिणी छिमेकको खुफिया संस्थाले ‘रेड जोन’मा राखेको एउटा अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। नेपाल प्रहरीको विशेष व्यूरोले उनी रिसर्च एण्ड एनालाईसिस विंग(रअ)को ‘रेड जोन’मा रहेको भन्दै एक दशकअघि नै उच्च निगरानी आवश्यक रहेको प्रतिवेदन तयार पारेको थियो।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा बुझाएको उक्त प्रतिवेदनमा कुटनीतिक माध्यमबाट थप प्रमाण जम्मा पारेर कानुनी कारबाही गर्नुपर्ने भनिएको छ। तर मन्त्रालयबाट त्यसबारे कुनै प्रतिक्रिया नै नआएको लामो समय विशेष व्युरोमा काम गरेका प्रहरीका एक उच्च अधिकारी बताउँछन्।
लाल मोहम्मदको हत्या कसले गर्यो भन्ने खुलीसकेको छैन्। तर हत्यामा देखिएको कार्य प्रणाली (मोडस अपरेन्डी)ले भारतीय सार्प सुटर प्रयोग भएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्।
जाली भारतीय मुद्राको कारोबारमा संलग्न भएको आरोपमा जेलमा रहेका युनुस अन्सारीलाई केन्द्रीय कारागारभित्रै घुसेर गोली हानेको घटनाको अनुसन्धान गरेका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल पनि मोहम्मद हत्यामा अनुभवी भारतीय अपराधीको संलग्न रहेको अनुमान गर्छन्। “जाली नोटको कारोबारको आरोप लागेकाहरु यसअघि जसरी मारिएका छन्, मोहम्मद पनि त्यसरी नै मारिएको प्रस्ट देखिन्छ,” पूर्व डिआईजी मल्ल भन्छन्, “टाउकोमा ताकेर गोली हानिएको छ, यसअघिका घटनामा पनि यस्तै भएको थियो।”
एक हप्ता पहिल्यै आक्रमण प्रयास
लाल मोहम्मद, जाली भारतीय नोट नेपाल हुँदै भारत पठाउने गिरोहमा सक्रिय नाम हो। गत भदौ २४ गते पनि मोहम्मदमाथि आक्रमण भएको थियो। तर यस विषयमा मृतकका परिवारले प्रहरीसँग धेरै कुरा खुलाउन चाहेन। “कोही रडले हानेको भन्छन् कोही गोली चलेको थियो भन्छन्,” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइराला भन्छन्, “हामीले यकिन गर्न खोजिरहेका छौंँ।”
मोहम्मदले केही निकटस्थसँग भने आफूमाथि त्यतिखेर पनि गोली हान्न खोजेको बताएपनि त्यसको पुष्टि भईसकेको छैन। “त्यतिबेला उनको सर्टको ढाडतिरको भाग भने च्यातिएको थियो,” एसपी कोइराला भन्छन्, “तर पुष्टि भईसकेको छैन।”
जाली भारतीय नोटको कारोबारमा संलग्न रहेको आरोपमा हाल जेलमा रहेका युनुस अन्सारीकै समूहमा मोहम्मद काम गर्ने गरेको विगत रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राई बताउँछन्। “अहिले उनी त्यसमा संलग्न थिए कि थिएनन् भन्ने खुलेको छैन। अनुसन्धान भईरहेकाले धेरै कुरा अहिल्यै भन्न मिल्दैन,” राई भन्छन्।
तर आतंकवाद र नक्कली नोटको कारोबारमा एकचोटि देखिएकाहरु हत्पत्ती त्यसबाट अलग हुन गाह्रो हुने प्रवक्ता राईको अनुभव छ। नक्कली नोटको कारोबार पनि आतंकवादसँग समेत जोडिन्छ। “आतंकवाद कहिल्यै अन्त्य हुँदैन भन्ने मान्यता छ,” दुई दशक विशेष व्युरोमा बिताइसकेका डीआईजी राई भन्छन् ।
प्रहरी स्रोतका अनुसार मोहम्मद हत्या अभियोगमा जेलमा छँदासमेत जाली भारतीय नोटको कारोबारबाट विमुख थिएनन्। उनी २०६४ मा काठमाडौंको अनामनगरमा बलराम पतुवरको हत्या गरेको अभियोगमा जेल चलान भएका थिए। युनुसकै समूहमा सक्रिय थिए, इल्ताफ हुसेन अन्सारी, मोहम्मद र बलराम पतुवार। तर पतुवारले छुट्टै समूह बनाएर कारोबार गर्न थालेपछि इल्ताफको योजनामा मोहम्मदले पतुवारलाई सार्प सुटर प्रयोग गरेर हत्या गरेका थिए।
यही अभियोगमा लाल मोहम्मद १० वर्ष जेल सजाय भुक्तान गरेर पाँच वर्षअघि मात्रै निस्किएका थिए। जेलबाट निस्किएपछि उनी गार्मेन्ट उद्योग चलाएर बसेका थिए। इल्ताफ जाली भारु कारोबारमा नेपाल, पाकिस्तान र भारतबीचको त्रिदेशीय एजेन्ट रहेको विशेष व्युरोले २०७३ मा तयार पारेको एउटा प्रतिवेदनमा छ।
पोल्यो कि ढल्यो
अनुसन्धान प्रारम्भिक चरणमै भएकाले हत्याको खास कारण नखुलेपनि जाली नोटको धन्दामा भारतले दागा धरेका नेपालीहरुको मरण सहज हुँदैन भन्ने फेरि प्रमाणित भएको छ। नक्कली भारतीय नोटको कारोबारसँग जोडिएर ज्यान गुमाउने मोहम्मद कम्तीमा पनि आठौं व्यक्ति हुन्।
नक्कली भारु कारोबारमा संलग्न भएको आरोपमा २०५५ मा सबैभन्दा पहिले नेपालीको हत्या भएको थियो। नक्कली भारु कारोबारको आरोप लागेको सांसद एवं पूर्वमन्त्री मिर्जा दिलसाद वेगलाई काठमाडौंको सिफलमा भारतीय भूमिगत गिरोह छोटे राजन समूहलाई प्रयोग गरेर हत्या गरिएको थियो। त्यसपछि झण्डै एक दशकसम्म यस्ता घटना भएनन्।
२०६६ मा भने जाली भारु कारोबारमा संलग्न नेपाली चार महिनामै ३ जना मारिए। २०६६ असोज १९ मा नेपालगञ्जको लालीगुँरास होटलमा अब्दुल मदिज मनिहारको हत्या भएको थियो। २०६० चैतमा भेटिएको नक्कली भारतीय नोटको विषयमा मनिहारविरुद्ध मुद्दा चलेको थियो। शुरुमा पुर्पक्षका लागि थुनामा पुगेको मनिहार पछि धरौटीमा छुटेका थिए। मनिहारको हत्या गर्न मनमित सिंह परिचालित भएको प्रहरी अनुसन्धाबाट खुलेको थियो। मनमित पछि युनुस अन्सारीलाई कारागारभित्रै पसेर गोली हान्ने घटनामा संलग्न थिए।
२०६६ पुसमा बुटवलको मैनाबगरमा सौकात वेगको हत्या भयो। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएर उनको हत्या भएको थियो। मोहम्मद वाकर सइनले वेगको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। वेग नक्कली भारु र आतंकवादी गतिविधिमा संलग्न रहेको भन्दै २० हजार रुपैयाँ इनामसहित मोस्ट वान्टेड सूचिमा राखेको थियो।
सोही वर्षको माघमा सञ्चार उद्यमी जमिम शाह जाली भारु कारोबारमा संलग्न रहेको आरोपमै मारिए। लाजिम्पाट–महाराजगञ्जको मूल सडकमै गाडीभित्र सवार जमिमको हत्या भएको थियो, दिउँसै। उनको हत्यामा भारतीय जेलमा रहेका आपराधिक समूह बब्लु श्रीवास्तवको हात रहेको तथ्य प्रहरीले फेला पारेको थियो। बब्लुले पनि आफ्नो पुस्तक ‘अधुरा ख्वाब’मा आफूलाई जाली भारुको कारोबारमा संलग्नहरुको हत्या गर्न भारतीय प्रहरीले गोप्य ‘मिसन’ दिएको उल्लेख गरेका छन्।
त्यसको दुई वर्षपछि २०६८ असोजमा काठमाडौंको घण्टाघरस्थित मस्जिदबाट मूल सडकमा निस्कनासाथै इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको हत्या भयो। मोहम्मद फोहद भनिने विपिन यादवले फैजानको हत्या गरेको घटनाको दुई वर्षपछि प्रहरीले खुलायो। यादवलाई बब्लु श्रीवास्तवले फैजानको ‘सफाया’ गर्न खटाएका थिए।
२०७० मा राजविरामा जाली भारु कारोबारमा संलग्न भनिएका अर्का व्यक्ति मारिए। तत्कालीन सांसद सदरुल मियाँ हकको सुतिरहेकै बेला घाँटी रेटेर हत्या गरिएको थियो। सदरुल हत्या मात्रै जाली भारुसँग जोडिएको अहिलेसम्मको फरक प्रकृतिको हत्या हो। नत्र सबै घटनामा मोटरसाइकलमा आएर सार्प सुटरले हत्या गरेका छन्। सुनसरीबाट अवैध रुपमा नेपाली नागरिकता लिएका भारतीय सुब्रतो बिनले सदरुलको हत्या गरेका थिए।
२०७५ असोजमा सुनसरीमा खुर्सिद आलमको हत्या भयो। खुर्सिदलाई भारतले इन्डियन मुजाहिद्दीन (आईएम)का लागि काम गर्ने पाकिस्तानी एजेन्ट भएको आरोप लगाउँदै आएको छ। आइएमका सदस्यलाई नेपाली नागरिकता दिलाउन र जाली भारतीय मुद्राको कारोबारमा खुर्सिदको संलग्न रहेको भन्दै भारतीय सञ्चार माध्यमले समाचार समेत छापेका थिए।
यसबाहेक हत्या प्रयास भएका घटना पनि छन्। २०६८ वैशाखमा नेपालस्थित पाकिस्तानी दूतावासको भिसा शाखाका कर्मचारी महबुब असिफमाथि महाराजगञ्जमा गोली प्रहार भएको थियो। पेट र हातमा गोली लागेका उनी बाँच्न सफल भए। मोटरसाइकल चढेर आएका दुई जनाले उनलाई गोली हानेको भनिए यस घटनामा संलग्न कोही पक्राउ परेनन्। त्यतिवेला पाकिस्तानले भने घटनामा भारतको हात रहेको दाबी गरेको थियो।
२०६७ फागुनमा जाली भारु मुद्दामा जेल साजय भोगिरहेका युनुस अन्सारीको हत्या प्रयास भएको थियो। भारतीय नागरिक मनमित मनमित सिंह (विजय सिंह भनिने जसजित सिंह)ले गोली हानेको खुलेको थियो। गोली नपड्किएपछि त्यो आक्रमण असफल भएको थियो।
पाकिस्तानको सहयोगमा नेपाल हुँदै जाली भारतीय रुपैयाँ भारत पुर्याइने गरेको र यसमा नेपालीहरुलाई समेत प्रयोग गरिएको भारतको आरोप छ। कतिपय घटनाले यो आरोपसमेत पुष्टि हुने गरेको छ। २०७३ कात्तिकदेखि भारतले ५ सय र १ हजारका नोट नचलाउने निर्णय गरेपछि नेपालका लागि समेत टाउको दुखाइको विषय बनिरहेको नक्कली भारुको तनाव कम भयो। हाल जाली भारु बरामद लगभग शून्य छ।
नेपालको खेलाँची!
तर लाल मोहम्मदको हत्याले जाली भारु कारोबार नेपालबाट पुनः सुचारु भएको सूचना भारतसँग रहेको हुनसक्ने देखाएको छ। पूर्वडीआईजी मल्लका अनुसार भारतीयहरुले नक्कली भारतीय मुद्रा वा आतंकवादमा संलग्न भएको आरोपितहरुलाई दुई किसिमले जानकारी दिईरहेको हुन्छ। पहिलो सञ्चार माध्यममार्फत। दोस्राे, समकक्षी निकायहरुबीचका दुई पक्षीय वैठकहरुमा एजेन्डा राखेर नै। “यी कुरालाई नेपाल सरकारले कहिले पनि गम्भीर रुपमा लिएको देखिँदैन,” मल्ल भन्छन्, “नेपालमा हत्याका घटना भएपछि न्यायिक छानविन बनेका छन्। ती समितिले समस्या छ भनेको छ र समाधानका उपाय पनि दिएको छ । तर हेर्ने फुर्सद कसलाई?”
आरोप लागेकाहरुको विषयमा नेपालले भारतीय पक्षको सहयोगमै प्रमाण जम्मा पारेर कम्तीमा पनि न्यायिक कारबाहीको प्रक्रियामा लैजानुपर्ने मल्लको भनाइ छ। “उनीहरुसँग भएको प्रमाण पठाउन लगाएर समन्वयमा यो काम गर्न सकिन्छ,” मल्ल भन्छन्, “प्रमाण भेटिएन भने तिमीहरुको आरोप मात्रै रहेछ भनेर उनीहरुलाई भन्न पनि सजिलो हुन्छ। हाम्रो नागरिकको ज्यान पनि जोगिन्छ।”
प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई पनि भारतीय पक्षले आरोप लगाएकाहरुलाई नेपालले गम्भीर रुपमा लिनुपर्ने बताउँछन्। तर यसका लागि दुई देशका प्रहरीको समन्वय त छँदै छ, सुरक्षा–कुटनीतिमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने राईको तर्क छ। “अन्तर्देशीय मामिला भएकाले माथिल्लो तहबाटै नै यसको हल खोजिनुपर्छ,” उनी भन्छन्, “प्रहरी–प्रहरीबीच त समन्वयमा काम भईरहेकै हुन्छ।”
कानुनी कारबाहीको संयन्त्र नबनाउने हो भारतले आरोप लगाएकै भरमा नेपाली नागरिक मारिने क्रम नरोकिने पूर्वडीआईजी मल्ल बताउँछन्।