टिकटकमा बढ्दाे पाइरेसी
चलचित्र ए मेरो हजुर ४ र कबड्डी ४ पछि झिँगेदाउलाई टिकटकले समस्या दिइरहेको छ।
गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र पुष्पाको अधिकांश दृश्य टिकटकमा लोकप्रिय भएपछि भिडिओ क्लिप बनाउने क्रम बढेको हो। भारतीय चलचित्र आरआरआर र केजीएफ च्याप्टर २ को टिकटकमा भेटिएका दृश्यहरू जोड्ने हो भने झण्डै चलचित्र नै बन्छ।
नेपाली चलचित्र ए मेरो हजुर ४, कबड्डी ४ को पनि अन्तिम दृश्य टिकटक लगायत सामाजिक सञ्जालमा भाइरल हुँदा निर्माता तथा निर्देशकमा चिन्ता बढेको थियो। पछिल्लो समय सामाजिक सञ्जालका माध्यममा आफ्नो गतिविधिबारे जानकारी दिने प्रचलन बढ्दो भएकाले नै यस किसिमको समस्या बढिरहेको छ। आफ्ना गतिविधिलाई सोसल मिडियामैत्री बनाउनुकै कारणले लोकप्रियतासँगै समस्या सिर्जना भएको चलचित्र निर्माता तथा निर्देशकको भनाइ छ।
चलचित्र ए मेरो हजुर ४ र कबड्डी ४ पछि झिँगेदाउलाई टिकटकले समस्या दिइरहेको छ।
भीसीडी, पेनड्राइभ र यूट्युबभन्दा घातक टिकटकको पाइरेसी देखिएको निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन्। “ससानो क्लिप आउँदा प्रचारप्रसार नै भएको हो। तर, खण्ड खण्ड गरेर हाल्दा सम्पूर्ण चलचित्र नै पाइरेसी भइरहेको छ,” उनी भन्छन्।
यूट्युबमा पनि पछिल्लो केही समययता पाइरेसी भएको देउजाले बताए। उनले भने, “हामीले वा प्रहरीको साइबर ब्यूरो मार्फत रिपोर्ट गरेपछि चलचित्रको दृश्य हट्ने गरेको छ। तर, यसमा केही समय भने लाग्छ। दुई र तीन दिन लाग्दा त्यो क्लिप निकै भाइरल भइसकेको हुन्छ।”
पछिल्लो समय चलचित्रको क्लिप टिकटकबाट हटाउनुपर्ने गुनासो आइरहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूराको प्रवक्ता पशुपतिकुमार रायले बताए। ‘‘यो सामाजिक सञ्जाल मार्फत भए पनि कपी राइट्स अन्तर्गत बढी पर्छ, यद्यपि हामीलाई प्राप्त गुनासाका आधारमा तुरुन्तै कारबाही गर्ने गरेका छौं,” प्रवक्ता रायले भने।
पाइरेसी गरिरहेको भए पनि टिकटकमै देखेर चलचित्र हेर्न आएका हौं भन्ने पनि प्रतिक्रिया पाइरहेको नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बताए। महर्जनका अनुसार, टिकटकलाई नै पत्राचार गरेर केही गर्न सकिन्छ कि भन्नेबारे संघले छलफल गरिरहेको छ।