चार महीनामा सात अर्ब २० करोडको बिजुली निर्यात
चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो महीना भदौमा दुई अर्ब ४२ करोड रुपैयाँको बिजुली भारत निर्यात भएको छ।
देशभित्र खपत गरी जगेडा भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् भदौमा निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणले गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धा मार्फत विद्युत् बिक्री शुरू गरेको थियो।
शुरूमा दुई वटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठदेखि दैनिक रूपमा ६ वटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ।
प्राधिकरणले जेठ, असार, साउन र भदौसम्म ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरी सात अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकाले चार महीनामा विद्युत् बिक्रीबाट चार अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ। भदौमा मात्र विद्युत् बिक्रीबाट एक अर्ब ५१ करोड पाँच लाख भारु आम्दानी भएको छ।
हरेक महीना विद्युत् निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु) नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटा कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। “चालू आर्थिक वर्षमा विद्युत् निर्यातबाट करीब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसीरको पहिलो हप्तासम्म विद्युत् निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात शुरू हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं,” उनले भने।
आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ। प्राधिकरणले भदौमा निर्यात गरेको विद्युत्को औसत दर प्रति युनिट नौ रुपैयाँ ८० पैसा रहेको छ। चार महीनाको औसत दर प्रति युनिट नौ रुपैयाँ २३ पैसा छ।
थप १०० मेगावाट निर्यात प्रस्ताव
विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत् आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत बिक्रीको प्रस्ताव गरेको छ।
प्राधिकरणले केही दिनअघि चार जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो।
यसअघि प्राधिकरणले चार जलविद्युत् आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत् निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो। थप चार जलविद्युत् आयोजनाको प्रस्तावसँगै प्राधिकरणले आठ आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत् निर्यातका लागि प्रस्ताव पेश गरेको हो।
निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखुखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेंवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत्गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत् निर्यातको प्रस्ताव गरिएको छ।
यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ए, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिटै अनुमति प्राप्त हुनेमा विश्वास जनाए।
वर्षायाममा उत्पादित विद्युत् देशभित्र पर्याप्त खपत नहुँदा प्राधिकरण विद्युत्लाई भारततिर निर्यात गर्नुपर्ने दबाबमा छ। विद्युत् बिक्री हुन नसकेपछि देशभित्रका कतिपय प्राधिकरणका आयोजना राति बन्द गरिने तथा निजी क्षेत्रका केही आयोजनालाई पनि बन्द गर्न प्राधिकरणले दबाब दिएको कतिपय विद्युत् उत्पादकहरूले बताउने गरेका छन्। अहिले देशभित्रको विद्युत् उत्पादन क्षमता दुई हजार १०० मेगावाटभन्दा धेरै छ। तर, विद्युत् माग एक हजार ६०० मेगावाट हाराहारीमा मात्रै छ।