बाबुरामको पार्टीका पाँच नेता माओवादीको समानुपातिक सूचीमा
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का पाँच जना नेता पनि नेकपा (माओवादी केन्द्र)को समानुपातिक सूचीमा परेका छन्।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि माओवादीले सोमबार समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको छ। माओवादी महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल निर्वाचन आयोगको कार्यालय पुगेका थिए।
समानुपातिकको उम्मेदवारको बन्दीसूची बुझाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव पुनले ११० जनाको सूची बुझाएको बताए। “समानुपातिकका ११० जनामा १०५ जना माओवादीबाट र पाँच जना बाबुरामजीको पार्टीबाट राखेका छौं,” पुनले भने। उनले नाम भने बताउन चाहेनन्।
भट्टराईले माओवादीकै चुनाव चिह्नबाट लड्ने सहमति गरिसकेका छन्। त्यसैले समानुपातिकमा पनि नेसपाका नेतालाई राखिएको पुनले बताए।
माओवादीले प्रतिनिधि सभासँगै प्रदेश सभाका पनि २२० उम्मेदवारको सूची बुझाएको छ।