मेरो त प्रत्यक्षमै लड्ने इच्छा थियो, पार्टीले समानुपातिकमा पठायो: गंगाधर तुलाधर
नेकपा (एकीकृत समाजवादी)ले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाएको छ।
सोमबार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एकीकृत समाजवादीका उपमहासचिव गंगाधर तुलाधरले संवैधानिक व्यवस्था अनुसार, ११० सीटमै उम्मेदवार तय गरिएको बताए। प्रदेश सभाका पनि सबै सीटमा उम्मेदवारको सूची बुझाइएको बताए।
उनी पनि समानुपातिक उम्मेदवार बनेका छन्। उपमहासचिव तुलाधरले भने, “मेरो त प्रत्यक्षमै लड्ने इच्छा थियो, पार्टीले समानुपातिकमा पठायो।”
आदिवासी जनजातितर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा उनको नाम छ। पार्टीले आवश्यक परेको ठाउँमा पठाएको उनको भनाइ छ।
प्रतिनिधि सभाको चुनावमा समानुपातिकतर्फ एकीकृत समाजवादीले कम्तीमा १५ सीट जित्ने आकलन रहेको उनले बताए। “कम्तीमा १५ सीट जित्छौं भन्ने छ। चुनावी माहोलले त्योभन्दा बढी पनि हुन सक्छ,” तुलाधरले भने।
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउन दलहरूलाई दुई दिनको समय दिएको थियो। आइतबार साना दलले सूची बुझाएका छन् भने आज ठूला दल बुझाउने तयारीमा छन्।