साफ महिला च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल र बाङ्लादेश भिड्दै
साफ महिला च्याम्पियनशिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बाङ्लादेश आमनेसामने हुँदै छन्।
खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार साँझ ५ बजेदेखि शुरू हुनेछ।
साफ च्याम्पियनशिपको अघिल्ला पाँचै संस्करणका विजेता भारतको यात्रा सेमिफाइनलमा टुङ्गिएपछि प्रतियोगिताले नयाँ च्याम्पियन पाउन लागेको हो। नेपाल र बाङ्लादेशबीचको खेलमा जो विजयी भए पनि नयाँ च्याम्पियन हुनेछ।
सेमिफाइनलमा भारतलाई १-० गोलले हराउँदै नेपाल उपाधिको दाबेदार बनेको हो। बाङ्लादेशले भने भुटानलाई ८-० को फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित बनाएको हो।