घूस लिंदालिंदै पक्राउ परेका उपसचिव र घूस दिने बीबी एयरवेजका सीईओ विरुद्ध भ्रष्टाचारको मुद्दा
सेवाग्राहीसँग रकम लिंदालिंदै पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ।।
नागरिक उड्डयन महाशाखामा कार्यरत प्राविधिक उपसचिव नेपाल र घूस दिने बीबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिभक्त श्रेष्ठ विरुद्ध आयोगले घूस-रिसवत लिई/दिई भ्रष्टाचार गरेको भनी विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो।
उपसचिव नेपालले पाराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भनी बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घूस लिएको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
साउन १७ गते आयोगले उपसचिव नेपाललाई काठमाडौंको होटल अरण्यको कम्पाउन्डबाट ६ लाख घूस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो। आयोगको टोलीले नेपाल चढ्ने गाडी खानतलासी गर्दा स्रोत नखुलेको १६ लाख ५० हजार पनि बरामद गरेको थियो।
उपसचिव नेपालले १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका सीईओ श्रेष्ठसँग सापटी लिएको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले यसलाई भ्रष्टाचारजन्य काम भनेको छ।
आयोगले घूस दिने बीबी एयरवेजका सीईओ श्रेष्ठ विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले काम गरिदिए बापत उपसचिव नेपाललाई घूस दिएर मतियारका रूपमा भूमिका निर्वाह गरेकाले यसलाई भ्रष्टाचार मानिएको अख्तियारको दाबी छ।