काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा अच्युत वाग्ले नियुक्त
प्राध्यापक अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार नियुक्त भएका छन्।
काठमाडौं विश्वविद्यालय ऐनको दफा १५ (१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिशमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई चार वर्षका लागि रजिस्ट्रार नियुक्त गरेका हुन्।
उनी यसअघि काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम)मा एसोसिएट डीन थिए। त्रिभुवन विश्वविद्यालयबाट एमए र बेलायतको बर्मिंघम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस्सी गरेका वाग्लेले भारतको कानपुरस्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट अर्थशास्त्रमै विद्यावारिधि गरेका छन्।
अर्थ-राजनीतिक विषयमा लेख्दै आएका वाग्ले लामो समयदेखि पत्रपत्रिकाका नियमित स्तम्भकार पनि हुन्।
यसअघि प्राध्यापक सुबोध शर्मा रजिस्ट्रार थिए। उनको कार्यकाल भदौ मसान्तमा सकिएपछि वाग्ले नयाँ रजिस्ट्रार नियुक्त भएका हुन्।