नारी शरीरमा राजनीति
महिलाको शरीरलाई केवल राजनीतिक साधन बनाइरहेको पुरुषकेन्द्रित सत्ता-शक्ति संरचनाले खबरदारी र पहरेदारीका नाममा त्यसको शोषण गरिरहेको छ।
यसपालिको तीजमा अभिनेत्री एलिजा गौतमको ‘डान्स पोज’ बारे अनेक टीकाटिप्पणी भए। टिकटकमा ‘भाइरल’ उक्त नाचलाई कतिपयले तीजको गरिमाप्रतिको आक्रमण र अश्लीलताको विम्ब ठाने त कतिले धर्म-संस्कृतिप्रतिको मजाक। यस्ता प्रतिक्रिया नृत्यको कलात्मकताभन्दा शारीरिक हाउभाउमा बढी केन्द्रित थिए। यहाँ प्रश्न उठ्छ- अझै पनि किन महिलाको स्वतन्त्रतालाई संस्कार र संस्कृतिका जन्जिरले बाँध्ने प्रयत्न जारी छ? उनको शरीरमाथि उनी स्वयंको हक किन छैन?
हामी धेरैलाई नलाग्न सक्छ, शरीर पनि एक राजनीतिक साधन बनिसकेको छ। शरीरको राजनीति जहिल्यै शक्ति संरचनासँग सम्बद्ध छ। इतिहासविद् मिसेल फुको आफ्नो निबन्ध ‘द बडी अफ द कन्डेम’ मा लेख्छन्, ‘शरीरको राजनीति यस्तो विषय हो जसले शरीर, शक्ति संरचना र त्यसले निर्माण गर्ने ज्ञानको सम्बन्धबारे प्रष्ट पार्छ।’
उनका विचारमा शक्ति र सत्ताले आफ्नो ज्ञानको प्रभुत्व जहिल्यै आफूभन्दा कमजोर ठानिने शरीरलाई लाद्न खोज्छ। महिलाका शारीरिक हाउभाउसँग जोडेर के गलत, के सही भनी व्यक्त हुने धारणा यस्तै प्रवृत्तिका उपज हुन्।
जुडिथ बट्लर लिखित पुस्तक अनडुइङ जेन्डर अनुसार, लैङ्गिकता र यौनिकता समाजले आफूखुशी बनाएको धारणा हो। जसरी हामी लैङ्गिकतालाई सामाजिक दायित्वको मानक ठानेर पालना गर्छौं, यौनिकतालाई पनि त्यही रूपमा लिन्छौं। अर्थात्, यौनिकता पनि आफैंमा ‘सोसल पर्फमेन्स’ हो।
बटलरका मतमा महिला शरीर र यौनिकताको विषयलाई हामी एक सामाजिक मुद्दा मात्र ठान्छौं। यस्तो धारणाले शक्ति संरचनाकै अङ्गका रूपमा काम गर्ने भएकाले महिला शरीरका सवालमा हामी सामाजिक संरचनाभन्दा माथि उठ्न सकेका छैनौं।
आज पनि शक्ति संरचनाको केन्द्रमा पुरुषकै बाहुल्य छ। त्यसैले महिला शरीरलाई बाँध्ने हरेक नीति, नियम र कानून उनीहरूकै दृष्टिकोणबाट सञ्चालित छन्। गौतमको नृत्य मार्फत प्रस्तुत हाउभाउले समाजलाई विकृत बनाउने धारणा त्यही पुरुषकेन्द्रित सत्ताले कमजोर ठानिएको महिला शरीरप्रति गरेको राजनीति हो।
सामाजिकीकरणको प्रक्रिया गहिरिएर नियाल्दा हाम्रा नियम-कानून जहिल्यै शरीरको राजनीतिमा पुगेर टुङ्गिएका छन्। सजाय, दण्ड र निन्दाको भागीदार सधैं शक्ति-सत्ताको पहुँचमा नरहेको शरीर बन्ने गरेको छ। नैतिकता, सभ्यता वा असभ्यताका जेजति बहस छन्, ती सबै सीमान्तीकृत र शोषित शरीरमाथि हुँदै आएका छन्।
जब महिला शरीर पुरुषको खबरदारी र पहरेदारीबाट उम्कन खोज्छ, त्यसलाई संस्कार, संस्कृति र नैतिकताप्रतिको प्रहार ठानिन्छ ।
मानव विकासको प्रारम्भिक चरणमा महिला-पुरुषबीच सामाजिक विभेद थिएन। यो सम्बन्ध केवल प्रजननमा आधारित थियो। प्रजनन क्षमताकै कारण समाजको विस्तारसँगै उनीहरूको दायित्व बच्चा जन्माउने र हुर्काउनेमा सीमित पारियो। शक्ति-सत्तामा पुरुषको हालीमुहाली भयो।
उनीहरूले धर्म, ज्ञान, नियम र कानूनको निर्माण र व्याख्या आफैंलाई पायक पर्ने गरी गरे। बिस्तारै महिला शरीरलाई पुरुषले भोग गर्ने साधन बनाइयो। जब तपाईंको शरीर कसैको भोग्य वस्तु बन्छ, जीवन तपाईंको मर्जीमा चल्दैन।
यसै कारण महिला शरीर कालान्तरमा त्यही पुरुषकेन्द्रित समाजको कमजोर तत्त्व बन्न पुग्यो। जब कुनै चिज कमजोर हुन्छ, त्यसलाई पहरेदारी र खबरदारीको आवश्यकता रहेको ठानिन्छ। महिला शरीरको खबरदारी र पहरेदारीको जिम्मेवारी पनि पुरुषप्रधान समाजले पुरुषलाई नै दियो। आज पनि महिला खबरदारी र पहरेदारीका नाममा शोषित छन्।
जब महिला शरीर पुरुषको खबरदारी र पहरेदारीबाट उम्कन खोज्छ, त्यसलाई संस्कार, संस्कृति र नैतिकताप्रतिको प्रहार ठानिन्छ। फलतः पुरुषकेन्द्रित संस्कारलाई अपनाउने महिलाहरू चरित्रवती भनिए, आफ्नै मर्जीमा जिउन खोन्नेहरू चाहिं चरित्रहीन।
अहिले तीजलाई आफ्नै मर्जीमा मनाउन चाहेकाहरूप्रति तेर्सिएको ‘नैतिकता’ को चोर औंलो हाम्रै सामाजिकीकरणको परिणाम हो। शक्ति-सत्ताको केन्द्रमा रहेकाहरूको स्वार्थमा चलेका संस्कार-संस्कृतिकै कारण महिलाले आधारभूत नागरिक अधिकार समेत स्वतन्त्र रूपमा उपभोग गर्न पाएका छैनन्। आज पनि बोक्सीका नाममा मलमूत्र कोच्याइने, प्रेम अस्वीकृतिको बहानामा तेजाब छ्यापिने, दाइजोका नाममा जलाइने र कुरूपताका नाममा अस्वीकृत हुने शरीर महिलाको नै हो।
शरीरमाथिको हक नागरिकको मौलिक अधिकार हो। तथापि, आजसम्म महिलाको शरीर कि चरित्रवती नाममा पुजिएको छ कि त चरित्रहीनताको बदनामीले बहिष्कृत छ। अर्थात्, आज पनि यिनै दुई बहानामा महिला शरीरप्रतिको राजनीति कायमै छ।
महिला शरीर र त्यसप्रतिको राजनीतिका सवालमा बरु लिच्छविकाल केही लचिलो पाइन्छ। दिवाकर आचार्यले अनुसन्धानात्मक आलेख ‘रिम्यारीज, एडल्र्टी एन्ड रिप्रोडक्सन इन एनसेन्ट नेपालमा’ मा ईसं ६३४ ताका राजा विष्णुगुप्तका पालामा रहेको विधवा विवाह, पुनर्विवाह र सम्बन्धविच्छेद जस्ता अवधारणाबारे चर्चा गरेका छन्। उनका अनुसार, त्यो समाजले विधवाको पुनर्विवाहलाई सहजै स्विकार्थ्यो। पति गुमाएका महिलाले राख्ने शारीरिक सम्बन्ध पनि वैध मानिन्थ्यो।
‘पुनर्विवाहको अवधारणा विशेषतः त्यस्ता महिलाका लागि थियो जसले पति गुमाएका थिए, तर प्रजननयोग्य थिए,’ आचार्य लेख्छन्, ‘त्यति वेला महिलाको सम्पूर्ण अस्तित्व सन्तानप्राप्तिले निर्धारण गर्थ्यो। तर, त्यसपछिका कानून र समाज लिच्छविकालमा झैं खुला रहेनन्।’ यसले देखाउँछ कि हामी महिलाको शरीरमाथिको अधिकारलाई लिएर खुला र परिष्कृतको सट्टा झनै सङ्कुचित भयौं।
पुरुषकेन्द्रित संस्कारलाई अपनाउने महिलाहरू चरित्रवती भनिए, आफ्नै मर्जीमा जिउन खोन्नेहरू चाहिं चरित्रहीन।
नैतिक खबरदारी
नैतिकता के हो, सबैका आआफ्नै व्याख्या र परिभाषा होलान्। तर, कानूनतः आफ्नो तरीकाले जिउने अधिकार सबैलाई छ। आफ्नो रोजाइ तय गर्ने र उपभोग गर्ने अधिकार व्यक्ति स्वयंलाई हुन्छ। यस्तोमा नैतिकताका नाममा कसैलाई तिमीले नाचेको भएन वा यसरी नाच्नुहुन्न भनेर रोक लगाउनु खुला समाजको प्रतिकूल हो।
आफ्नो तरीकाले चाडपर्व मनाउने अधिकार महिला-पुरुष दुवैलाई छ। कानूनी रूपमा न एलिजाको नाच अवैधानिक थियो न त अश्लील। तर, त्यसलाई जसरी धर्म-संस्कृतिमा भित्रिएको विकृतिसँग जोडेर हतोत्साह पार्न खोजियो, त्यसले महिला शरीर आज पनि समाजमा विद्यमान शक्ति र सत्ताबाट प्रताडित रहेको जनाउँछ।
समाज महिला शरीरलाई इज्जत र प्रतिष्ठाको मानक ठान्छ, समस्या त्यसैमा छ। यस्तो धारणा नेपाल मात्र होइन, विश्वभरिकै पुरुषप्रधान समाजमा छ जसलाई सबैभन्दा पिरलो महिलाको शरीर र यौनिकताकै हुन्छ। सन् १९४७ मा जब भारत अंग्रेजबाट स्वतन्त्र भयो, पाकिस्तान छुट्टियो। त्यस क्रममा हिन्दू-मुस्लिम दुवै पक्षबाट अपहरणमा परेका महिलाको पुनःस्थापनाका मामिलामा पहिलो प्रश्न उनीहरूको यौनिकतालाई लिएर गरियो।
भारतीय महिला अधिकारकर्मी उर्वशी बुटालियाका अनुसार, पुनःस्थापनापछि धेरै महिलालाई ‘अस्मिता र इज्जत’ का कुरा उठाएर उनीहरूकै परिवारले स्विकार्न गाह्रो मान्यो। उनीहरू घर फर्किएकोमा रमाउनुभन्दा अपहरणकारीसँगको ‘संसर्ग’ (भलै त्यो बाध्यात्मक थियो)ले चिन्तित बन्यो, समाज।
पुनःस्थापना केन्द्रले नै अपहरणका क्रममा यौन सम्बन्धमा रहेका महिलालाई पुनःस्थापना गरिएको समयबाट तीन वटा मासिक चक्र पार गरेपछि मात्र गृहप्रवेश गराउनू भनी पर्चा छपायो। सीता र रामको मिथकलाई उक्त घटनासँग तुलना गरेर महिला शरीरको पवित्रताबारे व्याख्या गरियो (उर्वशी बुटालिया, १९९३)। आज भारतमा स्वतन्त्रता दिवसमा जसरी उत्सव मनाइन्छ, त्यही समयमा भएको महिलाप्रतिको उत्पीडनलाई विरलै सम्बोधन गरिन्छ।
अझै पनि नैतिकता र मर्यादाका नाममा कैयौं महिला घरभित्रै पिल्सिएका छन्। पतिपत्नीबीच विना सहमतिको यौनसम्बन्धलाई कानूनले अपराध ठहर्याए पनि हामी त्यसलाई उही मर्यादाकै पर्दाले ढाकिदिन्छौं। महिला शरीर कि आदर्श र इज्जतको पर्याय ठानिन्छ कि त यौनिकता र मादकताको विम्ब। हामी कहिलेसम्म महिलालाई एउटा शरीर मात्र ठानिरहन्छौं, थाहा छैन।
तीज मनाउने सवालमा होस् वा नाच्ने तरीकामा, कसैको व्यक्तिगत अधिकारमा अतिक्रमण गर्ने हक कसैलाई छैन। पुरुषकेन्द्रित शक्ति-सत्ताले इतिहासदेखि अस्मिता र इज्जतका नाममा गर्दै आएको महिला शरीरको शोषण यहीं रोकिनुपर्छ। मान-प्रतिष्ठा र पवित्रताका नाममा महिला शरीरमाथिको खबरदारीले संस्कार होइन, केवल वैचारिक सङ्कुचन जन्माउँछ।
(शिक्षण पेशामा संलग्न अधिकारी अंग्रेजी साहित्यकी विद्यार्थी हुन्। हिमालको २०७९ असोज अङ्कबाट।)