ढल वा नाला जसले कब्जा गरे पनि हुन्छ?
काठमाडौं महानगरले जय नेपाल हलको आँगन खोतल्दा टुकुचा खोला भेटिएपछि यसको पक्ष र विपक्षमा बहस भइरहेको छ। खोला, नाला, ढल वा नहर प्रयोगबारे कानूनी व्यवस्था भने यस्तो छ।
भदौ ३० गते हात्तीसारस्थित जय नेपाल चलचित्र भवनको आँगन डोजरले खोतल्दा टुकुचा (इच्छुमती) खोला भेटिएपछि काठमाडौं महानगरका जनप्रतिनिधिको वाहवाही भइरहेको छ। यो प्रकरण बाहिरिएपछि सामाजिक सञ्जालमा कतिपयले भने टुकुचा खोला नभई ढल मात्रै भएको ‘तर्क’ गर्न थालेका छन्।
काठमाडौं महानगरले साउन १२ गते जारी गरेको ३५ दिने सूचना जय नेपाल हलले अटेर गरेपछि डोजरले खोतलेर टुकुचा देखाउनुअघि कसैले पनि टुकुचा खोला होइन, ढल वा नाला हो भनेको थिएन। जय नेपाल हलको आँगनमा खोला भेटिनु र त्यसलाई खोला होइन, ढल हो भन्ने भाष्य निर्माण गर्न खोज्नुले ‘बाघ कराउनु र बाख्रा हराउनु’ भन्ने उखानलाई चरितार्थ गर्छ।
एकछिन टुकुचा खोला होइन, ढल वा नाला हो भन्ने मानौं। त्यसो भए ढल वा नाला अतिक्रमण गरेर व्यक्तिगत लाभका लागि निजी संरचना बनाउन पाइन्छ? यस सम्बन्धी कानूनी प्रावधान के छ भन्ने विषयमा चर्चा गर्नुअघि ‘ढल’ र ‘नाला’ को अर्थ हेरौं।
नेपाल प्रज्ञा-प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशमा ‘नाला’ को अर्थ यस्तो छ- वर्षा भएका बखतमा मात्र भेल आउने सानोतिनो खोल्सो, सानो खोलो, खहरे। खेतबारीमा पानी पटाउनका निम्ति बनाइएको ठूलो कुलोः नहर र फोहोर पानी बग्ने ढल, नल, नाली।
सोही शब्दकोश अनुसार, ‘ढल’ को अर्थ हो- परेको वा फोहोर पानी बग्ने कुलेसो जस्तो किसिमले बनाइएको अथवा पाइप जडिएको पनालो, नाला वा एक किसिमको कुलो हो।
लेखक चूडामणि गौतमको हालै प्रकाशित बृहत्तर नेपाली शब्दकोशमा फोहोर पानी बग्ने ढल र नालालाई ‘नाली’ भनिएको छ। गौतम र प्रज्ञा-प्रतिष्ठान दुवै शब्दकोशमा ‘नाली’ वा ‘नाला’ को शाब्दिक अर्थ उस्तै छ।
ढल कसको?
मालपोत ऐन २०३४ अनुसार, ढल, इनार, बाटो, कुवा, पँधेरो, पानीघाट वा पोखरी र त्यसको डिलको सम्पूर्ण जग्गा सार्वजनिक जग्गा हो। त्यस्तै, मालपोत ऐनमा नदी, खोलानाला, ताल, नहर, कुलो, बगर आदि सरकारी जग्गामा पर्छन्।
सार्वजनिक वा सरकारी जग्गा व्यक्तिले निजी प्रयोजनमा प्रयोग गर्नु दण्डनीय अपराध हो। विभिन्न कानूनी छिद्र प्रयोग गरेर कसैले यस्तो जग्गा आफ्नो नाममा दर्ता गरेको रहेछ भने पनि त्यस्तो दर्ता स्वतः बदर हुने कानूनी व्यवस्था छ। मालपोत ऐन, २०३४ को दफा २४ (२) मा भनिएको छ, “कसैले यो दफा प्रारम्भ हुनुभन्दा अघि वा पछि सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा व्यक्तिविशेषको नाउँमा दर्ता गरी आवाद गरेकोमा त्यस्तो दर्ता स्वतः बदर हुनेछ।”
नेपाल सरकारले २०६५ मंसीर १ गते गरेको निर्णयमा टुकुचा, सामाखुशी र उपत्यकाबाट बग्ने अन्य खोलाको किनारबाट कम्तीमा चार मिटर ‘सेटब्याक’ छोडेर मात्रै नक्शा पास हुने उल्लेख छ। हनुमन्ते, बागमती, विष्णुमती, मनोहरा खोलाको हकमा भने २० मिटर छोड्नुपर्ने प्रावधान छ।