अछाम पहिरोमा २२ जनाको मृत्यु, अधिकांश बालबालिका
अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको छ, अधिकांश बालबालिका छन्।
गएराति खसेको पहिरोमा पुरिएका २२ जनाको शव भेटिएको छ। उनीहरू सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अछामका तीनै स्थानीय तहमा गरी मुत्यु हुनेको संख्या २२ पुगेको जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिए।
प्रहरीका अनुसार, पहिरोमा पुरिएर ढकारी गाउँपालिका-६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका-५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनीषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही र २१ वर्षीया भावना शाहीको मृत्यु भएको छ।
त्यस्तै, कमलबजार नगरपालिका-६ की ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया सिरु कामीको ज्यान गएको प्रहरीले जनाएको छ।
कमलबजार नगरपालिका-८, ढुंगलाका २६ वर्षीय गम्भीर दमाईं, २३ वर्षीया भाना दमाईं, ६ वर्षीया डिग्रा दमाईं, तीन वर्षीया कलु दमाईं र चार वर्षीया कल्पना दमाईंको मृत्यु भएको डीएसपी डाँगीले बताए।
पहिरोमा परी ११ जना घाइते भएका छन्। घाइते हुनेमा ढकारी गाउँपालिका-६ का ६२ वर्षीय हर्क बुढा, २१ वर्षीया चन्द्रदेवी बुढा, १२ वर्षीय घर्म बुढा, कमलबजार नगरपालिका-६ का ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय इन्द्रसिंह कामी, १२ वर्षीया कल्पना कामी, १२ वर्षीया ममता कामी, १० वर्षीय सुशील कामी, दुई वर्षीया सफलता कामी, ३८ वर्षीय डिक्रा कामी र ६५ वर्षीय खटी दमाईं रहेका छन्।