देशभरका सुपथ मूल्य पसलमा पाइनेछन् ३० सामग्री
सरकारले दशैं, तिहार र छठलाई लक्षित गरेर देशभरका ४५ स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं सहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। सुपथ मूल्य पसलको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चाडपर्वका वेला हुनसक्ने महँगी र कालोबजारी नियन्त्रण गरी केही हदसम्म भए पनि जनतालाई सहुलियत दिने उद्देश्यका साथ सुपथ पसल सञ्चालन गरिएको बताए।
काठमाडौं सहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल एकैपटक सञ्चालनमा ल्याइएको छ। काठमाडौंको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्यविनायकमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ।
आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु बिक्रीका लागि राखिएको छ। प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ। सुपथ पसलमा मासुजन्य वस्तुमा १० रुपैयाँ, खाद्यान्य सामग्री र तेलमा सात रुपैयाँ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान सहितको सहभागितामा सञ्चालन भएको सुपथ मूल्य पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घ्यु, खसी, बोका र च्याङ्ग्रा लगायतको बिक्री गरिनेछ। चामल, दाल, आटा, मैदा, चिउरा र खाने तेलमा प्रतिकिलो तथा प्रतिलिटरमा सात रुपैयाँ छुट पाइनेछ।
कर्णाली सिमी तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ। नुन किलोमा दुई रुपैयाँ, घिउ किलोमा ६० रुपैयाँ र पनिर तथा चिजमा प्रतिकिलो २० रुपैयाँ छुट पाइनेछ ।
कम्पनीले बजारमा एकाधिकार तोड्दै मूल्य नियन्त्रण गर्न खसीबोका र च्याङ्ग्रा खरीद तथा बिक्री गरिने जनाएको छ। कम्पनीका विभागीय प्रमुख भेषनाथ न्यौपानेका अनुसार दशैंलक्षित कार्यक्रमअन्तर्गत यो वर्ष दार्चुलाबाट च्याङ्ग्रा खरीद गरेर बिक्री गरिनेछ। बजार मूल्यलाई सन्तुलन कायम गर्न खसी च्याङ्ग्राको व्यवस्था गर्न लागिएको उनले बताए।
दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ। टाढाका सेवाग्राहीलाई अनलाइन बिक्रीको व्यवस्था मिलाइएको छ।