लेनिनलाई स्वीकार्ने लोहियावादी नेता
नेपाली कांग्रेसमा लेनिनलाई समेत स्वीकारेर मार्क्सवाद र गान्धीको विचार आत्मसात् गर्न सक्ने प्रदीप गिरि व्यावहारिक रूपमा आफूलाई राममनोहर लोहियाको नजिक राख्नुहुन्थ्यो।
म एमए पढ्ने वेला राष्ट्रिय विकास सेवा (राविसे) अन्तर्गत सिराहा गएको थिएँ। त्यहाँको बस्तीपुर बुद्धिजीवीको बस्ती भनेर चिनिथ्यो। बस्तीपुरको वडाध्यक्ष हुनुहुन्थ्यो, शेखर गिरि। मलाई उहाँले नै त्यहाँ लैजानुभएको हो। त्यही क्रममा मेरो प्रदीप गिरिसँग भेट भयो। शेखरजी प्रदीपका भाइ हुनुहुन्छ।
मलाई बस्न विद्यालय भवन बाहिर सानो घरको प्रबन्ध मिलाइएको थियो। मैले एक सहयोगी पनि राख्नुपर्ने भयो। प्रदीप दाइले ‘राविसेजी, तपाईंले जोपायो त्यहीलाई राख्ने होइन, म खोजिदिन्छु सहयोगी’ भन्नुभयो। त्यसपछि चमार समुदायका एक सानो भाइलाई ल्याइदिनुभयो। ती भाइले मलाई सघाउने र मैले उनलाई पढाउने गरी सहयोगी राखें। यो साढे चार दशकअघिको कुरा हो। ती भाइ पछि ओभरसियर बने।
त्यो सानो घटना प्रदीप दाइ समाजवादलाई सैद्धान्तिक मात्र होइन, व्यावहारिक रूपमै कार्यान्वयन गर्नुहुन्थ्यो भन्ने दृष्टान्त हो। उहाँ बेलुका बेलुका बस्तीपुरमा राजनीतिक प्रशिक्षण चलाउनुहुन्थ्यो। त्यति वेला पञ्चहरू हतपत बस्तीपुर छिर्न सक्दैनथे। प्रदीप दाइको प्रशिक्षण समाजवाद केन्द्रित हुन्थ्यो। उहाँ समाजवाद सिद्धान्त भन्दा बढी व्यवहार हो भनेर सिकाउनुहुन्थ्यो। व्यवहारमा अङ्गीकार गर्न नसके समाजवाद स्थापित हुन नसक्ने र त्यो केवल पाखण्डी विचार हुने उहाँको दृष्टिकोण थियो।
बस्तीपुरमा १० महीना बस्दा प्रदीप दाइबाट समाजवादी हुनलाई विचारसँगै स्वभाव, संस्कार, व्यवहारमै परिवर्तन ल्याउन सक्नुपर्दो रहेछ भन्ने सिक्न पाएँ। त्यहींबाट म समाजवादप्रति आकर्षित भएँ। पछि काठमाडौंबाट उहाँले समाजवादी विचारधारा स्थापना गर्ने हेतुले साप्ताहिक पत्रिका अक्षर निकाल्नुभयो। त्यसमा म पनि संलग्न भएर काम गरें। यसरी शुरू भएको हाम्रो सम्बन्ध एकअर्काको घर आउजाउ गर्नेसम्म पुग्यो। उहाँसँग जीवनको अन्तिम घडीसम्मै मेरो सम्बन्ध राम्रो रह्यो।
बीपी कोइराला, भारतीय नेताहरू आचार्य नरेन्द्र देव, राममनोहर लोहिया, जयप्रकाश नारायण, जवाहरलाल नेहरू आदिको समाजवाद सम्बन्धी धारणा के थियो भन्ने ज्ञान मैले प्रदीप दाइबाटै पाएँ। म शुरूदेखि नै प्रजातान्त्रिक विचारमा विश्वास गर्थें, तर नेपाली कांग्रेससँग नजिकिएको उहाँकै कारणले हो। यद्यपि, उहाँले मलाई कांग्रेस नै बन्नुपर्छ कहिल्यै भन्नुभएन।
बुद्धिजीवीहरूले स्वतन्त्र बसेर समाजलाई मार्गदर्शन गर्नुपर्छ भन्ने दृष्टिकोण राख्नुहुन्थ्यो। पार्टीमा लाग्दा विचार क्षीण बन्दै जान्छ भन्ने उहाँको निष्कर्ष थियो। पार्टीमा एक्लै जस्तै हुनुहुन्थ्यो, उहाँको विचारप्रति कोही आकर्षित भए जस्तो लाग्दैन। कांग्रेस स्वयंले प्रदीप दाइको विचारधारा अङ्गीकार गरेको छैन।
उहाँकै प्रेरणा र सहयोगमा मैले नौ वटा भोल्युममा कांग्रेसको इतिहास सम्बन्धी पुस्तक लेखें। ती किताब पढ्न चाहने कांग्रेस कार्यकर्ता पनि धेरै कम पाउँछु। प्रदीप दाइ मेरो लाइब्रेरीमा आउनुहुन्थ्यो। ‘मलाई दुई कप चिया चाहिंदिनुस् है’ भन्दै दिनभरि पढेर बस्नुहुन्थ्यो। आफूलाई घेरेर बस्नेहरूबाट बचेर एकान्तको खोजीमा मेरो घरसम्म आइपुग्नुहुन्थ्यो।
आचार्य नरेन्द्र देव प्रजातान्त्रिक समाजवादका अग्रणी व्यक्ति थिए। उनी बीपी कोइरालाका पनि गुरु थिए। देवकै प्रेरणाबाट भारतमा प्रजातान्त्रिक समाजवादको स्थापना भएको भन्न सकिन्छ। गान्धी र मार्क्सको विचारबाट प्रभावित देवलाई ज्यादै मान्ने प्रदीप दाइ आफूलाई भने राममनोहर लोहियाको नजिक राख्नुहुन्थ्यो। भलै उहाँले दुई-तीन पटकभन्दा बढी लोहियालाई भेटे जस्तो लाग्दैन।
त्यो समाजवादी समूहमा पनि लोहिया आफ्नो कुरा बलियो ढङ्गले प्रस्तुत गर्न सक्थे। उनको लवाइखवाइमै समाजवादी व्यवहार देखिन्थ्यो। त्यसैको प्रभाव प्रदीप दाइमा देखिन्थ्यो। उहाँ पनि कस्तो लुगा लगाउने भन्नेमा खासै मतलब गर्नुहुन्नथ्यो। व्यवहारमै समाजवादी देखिनुपर्छ भन्नेमा प्रदीप दाइमा लोहियाको प्रभाव थियो। यसको अर्थ बीपी, जयप्रकाश नारायण वा नरेन्द्र देवलाई मान्नुहुन्नथ्यो भन्ने चाहिं होइन।
बीपी र प्रदीप दाइबीच धेरै निकटता थियो। तर, मान्छेहरू उहाँहरूबीच खाडल थियो भन्ने देखाउन चाहन्थे। बीपीबारे प्रदीप दाइले जति सङ्कलन अरू कसैले गरेको छैन। उहाँहरूबीच वैचारिक दूरी थिएन, सिद्धान्त लागू गर्ने विषयमा सामान्य विवाद भयो होला। जस्तो, ओखलढुंगा काण्ड। राम-लक्ष्मणलाई ओखलढुंगा ‘अपरेशन’मा पठाउने विषयमा प्रदीप दाइको विरोध थियो। उहाँ बीपीलाई उत्तिकै सम्मान पनि गर्नुहुन्थ्यो।
गान्धीबाट प्रभावित हुनुहुन्थ्यो, तर गान्धीको विचारलाई संशोधनसहित पालना गर्नुहुन्थ्यो। खास गरी समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने गान्धीको विचारले उहाँलाई प्रभाव पारेको थियो। मार्क्सको विचारबाट पनि प्रभावित हुनुहुन्थ्यो। नेपालमा मार्क्सवादको सही र समयसापेक्ष व्याख्या उहाँले जसरी गर्न सक्ने व्यक्ति कुनै कम्युनिष्ट पार्टीमा समेत छैन।
मार्क्सवादबारे जान्ने सीपी मैनाली, राम कार्की, घनश्याम भुसालहरू नभएका होइनन्, तर उनीहरूभन्दा प्रदीप दाइको व्याख्या धेरै माथि थियो। कांग्रेसमा लेनिनलाई समेत स्विकारेर, मार्क्सवाद र गान्धीको विचार समेटेर अघि बढ्ने कोही थियो भने प्रदीप दाइ नै हो।
मैले उहाँसँग ६ घण्टाको अन्तर्वार्ता गरेको छु। कतिपय अन्तर्वार्ता मेरै घरमा गरियो। उहाँलाई व्यक्तिगत कुरा भन्न सजिलो होस् भनेर ओशो आश्रम पनि पुग्यौं। उहाँले आफ्नो प्रेम सम्बन्धबारे पनि बताउनुभयो, तर सबै कुरा लेख्ने अनुमति दिनुभएन। मलाई भन्नुभयो, “यो कुरा तेरो जानकारीका लागि मात्र भनेको हुँ।” त्यो अन्तर्वार्ता कुनै दिन पुस्तकका रूपमा ल्याउँछु।
म बस्तीपुर जाँदा उहाँ ‘ड्रिंक्स’ गर्नुहुन्नथ्यो। लहानमा शुक्रबारे हाट लाग्थ्यो। विद्यालय बिदा भएपछि उहाँ युवाहरूका साथ हाट जानुहुन्थ्यो। त्यहाँ ‘हवलदारको होटल’ थियो, त्यहीं रुचि भएकालाई मासु खान, ड्रिंक्स लिन दिनुहुन्थ्यो। खुला स्वभावको हुनुहुन्थ्यो प्रदीप दाइ। मेरो पहिलाको घर ठमेल हो। कहिलेकाहीं उहाँ त्यहाँ आउनुुहुन्थ्यो।
पदप्रति उहाँको कहिल्यै आसक्ति रहेन। कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्री भएका वेला प्रदीप दाइकै क्षेत्रमा गएर ‘उहाँलाई जिताएर पठाउनुस्, म परराष्ट्रमन्त्री बनाउँछु’ भन्नुभयो। त्यो चुनाव उहाँले जित्नुभएन। त्यसपछि प्रदीप दाइको प्रतिक्रिया थियो, “मलाई भगवान्ले बचाउनुभयो।”
जितेको भए परराष्ट्र मन्त्री बन्न सन्त नेता भट्टराईको आग्रहलाई शायद उहाँ नकार्न सक्नुहुन्नथ्यो। सांसद पनि सशक्त रूपमा विचार राख्न पाइन्छ भनेर मात्रै बन्नुभए जस्तो लाग्छ। पदमा बस्दा विचारमा बन्देज लाग्ने उहाँको दृष्टिकोण रहेको बुझिन्छ।
समकालीन भएकाले होला, शेरबहादुर देउवाजीसँग प्रदीप दाइको लामोसम्बन्ध देखिन्छ। उहाँले शेरबहादुरको साथ कहिल्यै छोड्नुभएन, नयाँ पार्टी (प्रजातान्त्रिक कांग्रेस) बनाउँदा समेत साथ दिनुभयो। तर, शेरबहादुरले अपनाएका सबै कुरा ठीक भन्ने सोचाइ प्रदीप दाइले कहिल्यै राख्नुभएन। एउटै मञ्चबाट शेरबहादुरको आलोचना पनि गरिरहनुभयो।
भारतमा लोहिया संसद्मा रहँदा जवाहरलाल नेहरू सकेसम्म जाँदैनथे। किनभने, उनी रोस्ट्रममा उभिएर आफ्नै पार्टीको पनि आलोचना गर्थे। तिनै लोहियाका अनुयायी हुनुहुन्थ्यो, प्रदीप गिरि। सञ्चार माध्यममा उहाँको प्रभाव कति रहेछ भन्ने निधनपछि देखियो। ठूलो पदमा नपुगेको व्यक्तिको यति धेरै ‘कभरेज’ भएको बौद्धिक प्रभावकै कारणले हो। तर, उहाँको समाजवादी विचारधारालाई पूर्ण रूपले अगाडि ल्याउनमा सञ्चार माध्यम अझै पछाडि देखिए। प्रदीप दाइ लोहियाबाट धेरै प्रभावित रहेको विषय समेटिएन।
उहाँका बुबा मित्रलाल गिरि नेपाली कांग्रेसमै आबद्ध हुनुहुन्थ्यो। त्यसले गर्दा शुरूमै कांग्रेसप्रति आकर्षण भएको होला। गाउँबाट विद्यालय शिक्षा पूरा गरेपछि उहाँ भारत जानुभयो। बनारस बस्दा कांग्रेसका क्रियाकलाप नजिकबाट बुझ्नुभयो। त्यहीं रहँदा बीपीसँग नजिक पनि हुनुभयो। उहाँको प्रखर बौद्धिकताबाट बीपी प्रभावित हुनुहुन्थ्यो। उहाँ प्रखर समाजवादी हुनुमा अधिक अध्ययनले काम गरे जस्तो लाग्छ।
पछिल्लो गठबन्धनको राजनीतिबाट प्रदीप दाइ सन्तुष्ट हुनुहुन्नथ्यो। जुनसुकै पार्टीले आफ्नो विचार स्थापित गर्ने हो भन्नुहुन्थ्यो। उहाँ कसैलाई पनि प्रजातन्त्रवादी वा कम्युनिष्ट नै बन्नुपर्छ भन्नुहुन्नथ्यो। जुनसुकै विचार होस्, इमानदार भएर अपनाउनुपर्ने मान्यता राख्नुहुन्थ्यो।
उहाँ भन्नहुन्थ्यो, “कांग्रेस हो भने कांग्रेस नै बन, कम्युनिष्ट हो भने कम्युनिष्ट बन, तर समाजलाई परिवर्तन गर्ने विचार विपरीत नजाऊ।” युवा राजनीतिकर्मीले उहाँबाट सिक्नैपर्ने कुरा हो यो।
(इतिहासविद् गौतमसँग सन्त गाहा मगरले गरेको कुराकानीमा आधारित।)