नेपथ्यले ल्यायो पाँच दशक पुरानो गीत
पाँच दशकअघि लेखिएको गीतलाई नेपथ्यले नयाँ प्रस्तुतिका रूपमा ल्याएको छ।
सङ्गीतको माध्यमबाट पूर्वी नेपालमा जागरण फैलाउन हिंडेका कवि मञ्जुलले त्यस क्षेत्रका भाका पनि उतारेका थिए। त्यही क्रममा उनले २०२४ सालमा कविता संग्रह प्रकाशन गरेका थिए। त्यसमा रहेको ‘साइँली मोरीलाई’ गीतलाई नेपथ्यले बजारमा ल्याएको हो।
लेकैको लालीगुराँस, काली काली केशलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास, डाली डाली फूललाई
साइँली मोरीलाई।
यो गीत कोर्दा मञ्जुल १९ वर्षका थिए। यो गीतलाई नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङले आफ्नै स्वादमा पस्केका छन्। गायक गुरुङ भन्छन्, “धेरै पहिले यसलाई कविता संग्रहमा पढेको थिएँ। त्यो पुस्तकमा पनि विशेष गरेर यो रचना चाहिं बारम्बार पढेकाले कण्ठस्थै थियो।”
कवि मञ्जुलका शब्दलाई गीतमा ढाल्ने काम गरेको उनी बताउँछन्। यसअघि पनि गायक गुरुङले यसलाई कन्सर्टमा प्रस्तुत गरेका थिए।
नेपथ्य ब्यान्डलाई प्रवर्द्धन गर्दै आएको ‘नेपालय’ का अनुसार, स्थापनाको तीन दशक पूरा गरिसकेको ब्यान्डका हालसम्म नौ वटा एल्बम बजारमा ल्याइसकेको छ। यो गीत अब दशौं एल्बममा समावेश हुनेछ।
नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठले पुराना भाकालाई ब्युँताएर नयाँ पुस्तासम्म पुर्याउने नेपथ्यको प्रयासकै निरन्तरतास्वरूप यस गीतलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको बताए।