अछाम पहिरो: मृत्यु हुनेको संख्या नौ पुग्यो, अझै सात सम्पर्कविहीन
अछामका विभिन्न भागमा पहिरो जाँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ भने अझै सात जना हराइरहेका छन्।
दुई दिनदेखि लगातारको वर्षा र पहिरोले अछाममा जनधनको ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार, गएरातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर दुई जनाको मृत्यु भएको छ। अझै सात जना हराइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले बताए।
त्यस्तै, कमलबजार नगरपालिकामा पहिरो गएर घर पुरिंदा सात जनाको मृत्यु भएको छ। कमलबजारको ठाँटीखाँदमा माथिबाट खसेको पहिरोमा परेर सात जना हराएका थिए। आज बिहान उनीहरूको शव भेटिएको रिजालले जानकारी दिए।
पहिरोमा पुरिएर आठ जना घाइते छन्। उनीहरूमध्ये चार जनाको अवस्था गम्भीर छ।
यसै गरी, पहिरोले ढकारी गाउँपालिकामा एक घर पुरिंदा तीन जना घाइते छन्। अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि उद्धारमा खटिएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अन्य ठाउँमा पनि पहिरोले घर पुरिएर क्षति भएको खबर आएको जानकारी दिए। पहिरो गएको ठाउँमा प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको उनले बताए। (रासस)