भोकको भाइरस र नारीवादी प्रतिनिधित्व
दिनहुँ घटेका अनेकौं घटनाहरू हेर्दा र नियाल्दा कतिपय अवस्थामा त विभेदका स्वरूपमा मात्र परिवर्तन भएका हुन् कि भन्ने झैं लाग्छ।
समाजमा असमानताको इतिहास खोज्ने हो भने आम महिलाको इतिहास पनि एउटा हो। समाजमा महिला भएकै कारण अधीनस्थ वर्गका रूपमा जिउन बाध्य छन्। कहिले छोरीका रूपमा, कहिले बुहारीका रूपमा, कहिले श्रीमतीका रूपमा समाजका अनेकौं विभेद खेपिरहेका छन्।
अधिकांश नारीवादी यो हुनुमा पुरुषसत्ता दोषी रहेको मान्छन्। प्राकृतिक रूपमा हेर्ने हो भने स्त्रीलिङ्गीको भूमिका ज्यादा देखिन्छ केही कुराहरूमा बाहेक। बच्चा जन्माउनु, सिकाउनु, शत्रुबाट बचाउनु आदि। इतिहास केलाउने हो भने मोर्गन लगायत धेरै मानवशास्त्रीका अनुसार, घुमन्ते तथा शिकारी युगमा मानिसका झुन्डमा मातृसत्ताको प्रधान्य थियो।
पशुपालन तथा कृषि युगको शुरूआतसँगै सम्पतिको अवधारणा र पुरुषसत्ताको विकास भएको मानिन्छ। यससँगै पुरुषसत्ताले महिलालाई वस्तुका रूपमा व्यवहार गरिदियो। जसको अवशेष आज पनि भेटिन्छ। पूर्वीय सभ्यतालाई हेर्ने हो भने ऋग्वैदिक कालमा महिलाको केही प्रभुत्व नभेटिएको हैन। ऋग्वेदका ऋचाहरूमा मन्त्रद्रष्टाका रूपमा ऋषिकाहरू भेटिंदै गर्दा महिलाको स्तर राम्रै थियो भन्ने अनुमान गर्न सकिन्छ।
वैदिक काल लगायतमा विभिन्न देवीहरूको कुरा नभएको हैन। त्यसपछि परिवार नामक संस्थालाई नियमन र व्यवस्थापन गर्न श्वेतकेतु र उद्धालकसँगै विकास भएको र लादिएको पतिव्रता सम्बन्धी अवधारणा र यससँग जेलिएका कैयौं हिंसाहरू र यसका कैयौं अवशेषहरू आजसम्म पनि यथावत् छन्।
महिलाले आफ्नो अधिकारको स्थापनामा इतिहासमा आवाज नउठाएका हैनन्, तर राज्यसत्ताले व्यक्तिगत र सामूहिक रूपमा दबाएको भेटिन्छ। यसलाई नियमन गर्न परिवारको सानो अंशबाट नै शुरूआत गरेको भेटिन्छ, जस्तो यसको उदहारण हो मनुस्मृति। महिलाको अवस्थालाई हेर्दा १४३६ सालको नारदस्मृतिका आधारमा जयस्थिति मल्लको पालामा जारी गरिएको मानव न्यायशास्त्रमा नियाल्न सक्छौं, जहाँ वस्तुका रूपमा चित्रण गरेको पाइन्छ।
जंगबहादुरको बेलायत यात्रा र त्यहाँ देखेका समाज र महिलाको अवस्था अनि मुलुकी ऐनमा सती प्रथा बन्देज लगाउन खोजेको अवस्थालाई महत्त्वपूर्ण कदमका रूपमा लिन सकिन्छ। यसलाई अझ कडाइ गर्न वीरशमशेरले १९४४ सालमा इस्तिहार नै जारी गरे भने चन्द्रशमशेरको पालामा १९७७ असार २५ मा पूर्ण रूपमा सतीप्रथा अन्त्यको घोषणा नै गरियो। यससँगै समाजमा आएको जागरूकता कम मान्न सकिन्न।
अधिकार र समाज सुधारका लागि भोजपुरकी योगमायाको कदम ठूलो मानिन्छ। प्रजातन्त्रसँगै आएका परिवर्तनहरू अनि २०२० सालको मुलुकी ऐन हुँदै आजको संविधान २०७२ सम्म आइपुग्दा अनेकौं परिवर्तनलाई कम मान्न सक्ने अवस्था छैन।
तैपनि, नेपाली समाजमा महिला र पुरुषको विभेद कम छैन। दिनहुँ घटेका अनेकौं घटनाहरू हेर्दा र नियाल्दा कतिपय अवस्थामा त विभेदका स्वरूपमा मात्र परिवर्तन हो कि भन्ने झैं लाग्छ। बढ्दो पूँजीवाद र विश्वव्यापीकरणले ल्याएका विभिन्नखाले विभेदका आधार र अभ्यासहरू अनि सौन्दर्यका नाममा विकास भएको महिलाको वस्तूकरण अनि यसबाट सिर्जित अनेकौं घटनाहरू।
भारतको सिक्किममा रहेर नेपाली साहित्यमा कमल चलाइरहेकी कवि तथा गजलकार जीविका अश्रुको कविता संग्रह भोकको भाइरसले यस्तै लैङ्गिक असमानतालाई प्रस्तुत गरेको छ। करीब ४५ वटा कविता रहेको यस सङ्ग्रहमा महिलाका अनेकौं अवस्था, भावना, असमानता, बाध्यता, विवशता पोखिएको छ।
सामाजिक कुरीतिहरू पोखिएका छन्, महिलाका दृष्टिकोणबाट अनेकौं भावना पोखिएका छन्। महिला र सामाजिक दृष्टिकोणलाई यस सङ्ग्रहले समेटेको छ। खास नेपाली समाजमा आम महिलाको भोगाइको अनुभव झैं लाग्छ भोकको भाइरस।
उनी समाजलाई कटाक्ष पनि गर्छिन्। जस्तो यो कवितामा:
समाज
ऊ
हरेक साँझ जस्तो
लालबजारको रेलिङतिर पुग्छ।
र, मोलतोल गर्छ, उनको जवानीको।
उनी खराब
र ऊ सज्जन
भनिरहन्छ हाम्रो समाज।