भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ।
काठमाडौंको दशरथ रङ्गशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई १-० गोलअन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। नेपालका लागि रश्मि घिसिङले आकर्षक गोल गरेकी थिइन्।
पहिलो हाफको इन्जुरी समयमा प्रीति राईले दिएको दिएको क्रसमा घिसिङले आकर्षक गोल गरेकी हुन्। त्यही गोल नै नेपाललाई फाइनलमा प्रवेश गर्न पर्याप्त भयो।
खेलको दोस्रो हाफमा पनि नेपालले भारतलाई दबाबमा राख्यो। नेपालले केही शट प्रहार गरे पनि गोलमा परिणत गर्न सकेन।
अब उपाधिका लागि नेपाल सोमबार साँझ ५ बजे बाङ्लादेशसँग भिड्नेछ।
यो हारसँगै भारत पहिलो पटक सेमिफाइनलबाटै बाहिरिएको छ। यसअघि भारतले पाँच पटक उपाधि जितिसकेको छ।
भारतले नेपाललाई यसअघि फाइनलमा चार पटक पराजित गरेको थियो। त्यस्तै, बाङ्लादेशलाई एक पटक हराएर उपाधि जितेको थियो।
नेपाल सन् २०१६ मा भारतसँगै सेमिफाइनलमा पराजित भएको थियो। यस पटक नेपालले भारतलाई सेमिफाइनलबाटै फिर्ता पठाएको छ।
अब सोमबार हुने नेपाल र बाङ्लादेशबीचको फाइनल खेलबाट नयाँ च्याम्पियन निस्किनेछ।